पत्रकार, कृतिकार र पुस्तकालयलाई सम्मान

0
426

बिर्तामोड ।

जयेन्द्र प्रसाई साहित्य सेवा कोषद्वारा प्रत्येक वर्ष वितरण गरिँदै आएको पुरस्कार तथा सम्मान शनिबार एक कार्यक्रमकाबीच वितरण गरिएको छ ।

कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता र साहित्यकार तथा नेपाल सरकारका पूर्व मुख्य सचिव भोजराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुरस्कृत वर्षोत्कृष्ट कृति, विष्णु–चन्द्र–पद्मा दीर्घ साहित्य सम्मान र वर्षोत्कृष्ट सक्रिय धनमाया पत्रकारिता पुरस्कार वितरण गरिएको हो ।

कार्यक्रममा वर्षोत्कृष्ट कृतिबाट २०७७ सालमा प्रकाशित कृतिमध्येबाट संक्रमण उपन्यासका लेखक राजेन्द्र संग्रौला, विष्णु– चन्द्र–पद्मा दीर्घ साहित्य सम्मान २०७८ बाट झापाको धुलावारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालय र धनमाया बर्षोत्कृष्ट सक्रिय महिला पत्रकारिता पुरस्कारबाट कारोबार दैनिककी झापा समाचारदाता मनिषा चम्लागाँईलाई पुरस्कृत तथा सम्मान गरिएको हो ।

पुरस्कृत कृति, संस्था तथा व्यक्तिलाई प्रमुख अतिथि घिमिरे, संस्थाका अध्यक्ष तथा अतिथिहरुले प्रदान गरेका थिए । पुरस्कारको राशि समान २१/२१ हजार नगदसहित सम्मान–पत्र र दोसल्ला रहेको छ ।

कार्यक्रममा बर्षोत्कृष्ट कृतिका कृतिकार संग्रौलाको व्यक्तित्वबारे कृति छनौट समितिका संयोजक विष्णुकुमार भट्टराई, त्रिफला पुस्तकालयका बारेमा गंगा भट्टराई बोझे र चम्लागाँईको व्यक्तित्वबारे रेजिना गौतमले प्रकाश पारेका थिए । सम्मान–पत्र डिल्लीराम प्रसाई र लोकराज ढकालले वाचन गरेका थिए ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि घिमिरेले स्रष्टाको लेखनले समाजमा उज्यालो छाउनुपर्ने धारणा राखेका थिए । वर्तमानमा मान्छेको विश्वास समाचारमा रहेको बताउँदै प्रमुख अतिथि घिमिरेले सही सूचना सम्प्रेषण गरेर समाजलाई अघि बढाउन सुझाए ।

कार्यक्रममा प्रमुख अतिथि घिमिरे, प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, साहित्यकार मोहन भण्डारी, पुरस्कृतका तर्फबाट राजेन्द्र संग्रौला लगायतले मन्तव्य राखेका थिए । महासचिव छविलाल खतिवडाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र प्रसाईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here