साइबर अपराधका नयाँ तरिका: रकम डिल गर्नेदेखि चरित्र हत्यासम्म

0
462

झापा ।

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नयाँ तरिकाबाट साइबर अपराध हुने क्रम बढ्दै गएको पाइएको छ ।

सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो । पछिल्लो समय ‘इमेल फिसिङ’ मार्फत करोडौँ रुपैयाँ ठगी हुने गरेको छ । महानगरीय अपराध महाशाखामा मासिक १० देखि १५ उजुरी ‘इमेल फिसिङ’ को पर्ने गरेको प्रहरीले जनाएको छ ।

‘इमेल फिसिङ’ भनेको दुई जना व्यवसायी वा आफन्तबीच इमेलमा भएको कुराकानी अपरिचित व्यक्तिले बीचमा बसेर गोप्य निगरानी गर्ने र व्यवसायी वा आफन्तबीच इमेलमार्फत रकमको कारोवार हुन थालेपछि मेल आइडी, बैंकको खाता नम्बर र देशसमेत इमेलमार्फत परिवर्तन गरेर रकम ठगी गर्नु हो ।

यस्तै, प्रतिष्ठित व्यक्तिको फेसबुक, ट्वीटर ह्याक गरेर गोप्य सूचना लिएर रकमको बार्गेनिङ गर्ने, अर्काको नाममा फेसबुक तथा ट्वीटर खोलेर गोप्य सूचना लिने र दुःख दिने गरेको उजुरी प्रहरीकोमा आउने गरेको महाशाखाले जनाएको छ । सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा चिठ्ठा प¥यो भनेर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै प्रहरीले सचेत हुन आग्रह गर्दै आएको छ ।

यसैबीच नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंको फेसबुक ह्याक गरेर एमसीसीबिरुद्ध जथाभावी लेख्दै प्रमुख राजनीतिक दलका नेताहरुलाई श्रद्धाञ्जली दिइएको छ । कांग्रेसले एमसीसीको समर्थन गरेको र आफूले पनि बिगतदेखि नै एमसीसीको समर्थन गरिरहेका बेला अचानक फेसबुक ह्याक गरेर विरोधको स्टाट्स पोष्ट गरेको हुमागाँईले बताए । उनले पूर्वाञ्चलसंग भने– आपराधिक गतिविधिमा रहेकाहरुले मलाई बदनाम गर्न मेरो फेसबुक ह्याक गरेर अनेक लेखेछन् । उनले फेसबुकमा पछिल्लो समय यस्तो गिरोह नै सक्रिय रहेको भन्दै सबैलाई सचेत बन्न आग्रह गरे ।

केही समय अघि मात्रै अर्जुनधारा–४का निरोज बस्नेतको नाममा फेक आइडी बनाएर ‘पप जी, फ्रिफायर’ मा डाइमन्ड हालिदिन्छु भन्दै रकम माग गर्ने गरेको भन्दै उनले फेक आइडी बनाउनेलाई तत्काल पक्राउ गर्न माग गर्दै इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएका छन् । दिपेश मगर र दिवस लामाको नाममा आफ्नो फोटो प्रयोग गरेर फ्रि फायर, पपजीमा टपअप गरिदिने भन्दै विभिन्न व्यक्तिसंग रकम माग गरेको पाइएको छ ।

नक्कली आइडी बनाएर रकम माग गरेको थाहा पाए लगत्तै बस्नेतले प्रहरीमा उजुरी गरेका थिए । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गर्दै बदनाम गर्ने तथा धम्क्याउने, रकम माग गर्ने गिरोह सक्रिय बन्दै गएको प्रहरीले जनाएको छ ।

साइबर अपराधको उजुरीका विषयमा साइबर व्यूरोले मात्रै हेर्ने भएकाले उपत्यका बाहिर प्रहरी उजुरी दर्ता गर्न मान्दैन । पीडित उजुरी दर्ताकै लागि काठमाडौं जानुपर्ने झञ्झटिलो प्रक्रियाले गर्दा झन पीडामा पर्ने गरेको छ । कतिपय उजुरी दर्ता भएपनि प्रहरीले तीब्र रुपमा अनुसन्धान अघि नबढाउँदा साइबर अपराध गर्ने गिरोहलाई हौसला मिल्ने गरेको पाइएको छ ।

साइबर सम्बन्धि विषयलाई साइबर व्यूरोले हेर्ने भन्दै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विश्वमणि पोख्रेल भन्छन्– विद्युतीय कारोबार अन्तर्गत मुद्दा चल्छ । पीडितले प्रमाणसहित साइबर ब्यूरोमा उजुरी गरे लगत्तै टेक्निकल विषयको अध्ययन गरेर मुद्दा अघि बढाइन्छ ।

साइबर कानूनका बारेमा विद्यालय, कलेज तथा क्याम्पसमा शिक्षा दिनु जरुरी रहेको प्रहरीले बताए पनि साइबर अपराधको विषयमा जानकारी गराउन नसक्दा अपराधका घटनाले प्रश्रय पाइरहेको छ ।

कतिपय अवस्थामा साइबर ऐन नबन्दा मुद्दा चलाउने सम्बन्धमा केही समस्या भएको प्रहरीले जनाएको छ । अहिले साइबर अपराधलाई प्रहरीले विद्युतीय कारोवार ऐन अन्तर्गत कारवाही गर्दै आएको छ ।

विद्युतीय कारोवार ऐन अन्तर्गत साइबर अपराध गर्नेलाई पाँच वर्षसम्म जेल वा रु. एक लाख वा दुवै सजाय हुने प्रावधान छ । साइबर अपराधबाट मानिस घरबारविहीन हुने, पढाइ बिग्रने, आत्महत्या बढ्ने गरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here