सुरक्षाको चुनौति

0
542

बलियोले कमजोरलाई, ठूलाले सानालाई हेप्ने, थिचोमिचो गर्ने र शोषण गर्ने प्रवृत्ति आजको युगमा नसुहाउने कुरा हो । विगतमा त सानोलाई ठूलाले निल्ने नै गरेका थिए । जसलाई प्राकृतिक सिद्धान्त मानेर मत्स्य न्याय भन्ने गरिएको थियो । जलचर प्राणी माछाको जीवनको यो नियमितता मानिसका लागि उचित होइन र सभ्यताको विरुद्ध पनि छ । एकअर्काको अस्तित्वको सम्मान गर्ने, समानता र स्वतन्त्रताको अधिकारलाई सुरक्षित गर्ने गरी आज विश्वका धेरै देशहरुले सहमति जनाएका पनि छन् । संयुक्त राष्ट्रसंघको परिवारभित्रका देशहरुले त एकअर्काको मूल्य, मान्यता र सिद्धान्तको सम्मान गर्दै आपसी भाइचारा, सद्भाव र सहयोग गर्नेे लिखित प्रतिबद्धता नै जनाएका छन् । तर, त्यही विश्व सञ्जालमा आबद्ध कतिपय देशहरुकाबीच सीमा लगायतका विवादका कारण युद्ध पनि भइरहेको छ ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहले ‘दुई ढुंगाबीचको तरुल’ भने जस्तै नेपाल उत्तरतर्फ शक्तिशाली देश चीन र दक्षिणतर्फ विशाल देश भारतसँग खुल्ला सीमानाले जोडिएको छ । यस्तोमा कहिल्यै पराधीन नभएको गौरव बोकेको देश तिनै छिमेकीको अतिक्रमणमा परिरहेको छ । तीनतिरबाट सीमाना जोडिएको भारतले लिपुलेक, कालापानी, लिम्पियाधुरा क्षेत्रलाई आफ्नो भूगोलमा राखेका कारण हाम्रो स्वतन्त्र अस्तित्व बिटुलिएको छ भने दक्षिण र पूर्वतर्फका सीमा स्तम्भहरु वर्षेनि नेपालतर्फ सारिने कारणले हाम्रो भूगोल खुम्चिँदै गएको छ । नेपालको पूर्वोत्तर सीमा क्षेत्रमा भारत पश्चिम बंगालसँग जोडिएको इलामको रोङ गाउँपालिकादेखि दक्षिण पूर्वको मेचीनगर हुँदै भद्रपुरसम्मको सीमा क्षेत्रका स्तम्भहरु गायव भएको पाइएको छ । मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्य नेतृत्वको टोलीले सीमा स्तम्भको अनुगमन तथा निरीक्षण गर्नेक्रममा साढे बत्तीस किलोमिटर क्षेत्रका स्तम्भहरुमध्ये त्रिहत्तर वटा भेटिएनन् । यसो हुनुका पछि हाम्रो नियमनकारी निकायले सीमा सुरक्षा गर्न नसक्नु नै मुख्य कारण रहेको टिप्पणी भइरहने गरेको छ ।

हामी भूगोल, आर्थिक स्रोत, जनशक्तिले सानो हौंला, तर राष्ट्रको अस्तित्व, स्वतन्त्रता र स्वाधीनताका लागि साना छैनौं । यस अर्थमा सीमा छुट्याउने स्तम्भहरुको सुरक्षा गर्न जिम्मेवार निकायले गम्भीर हुनैपर्छ । भारतर्फ सीमा सुरक्षा बलको उपस्थिति प्रभावपूर्ण रहने र हाम्रोतर्फ भने थोरै हुनु हामीले हेपिनुपर्ने मुख्य कारण हुनसक्छ । सीमा सुरक्षामा तैनाथ सुरक्षा बलको जनशक्ति, स्रोत, साधन बढाएर स्तम्भहरुको रेखदेख गराउन सकिएन भने छिमेकीको मिचाहा प्रवृत्ति झन बढेर जान सक्छ । त्यसलाई रोक्न उपल्लो तहबाट कुटनीतिक पहल पनि गर्नुपर्छ । भएका स्तम्भहरुको वैज्ञानिक निरीक्षण, नियमित मर्मतसम्भार र सुरक्षाको प्रभावकारी व्यवस्था गर्न हाम्रो संयन्त्रलाई बलियो बनाउनुपर्छ । यदि त्यसो गरिएन भने नेपालमा सुतेको नागरिक बिहान उठ्दा अर्कै भूगोलमा पुग्न बेर लाग्ने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here