स्थानीय जडिबुटीको परिचय गराउदै फाल्गुनन्द आयुर्वेद शाखा

0
391

युद्धबहादुर बोहोरा,
पाँचथरः

आयुर्वेद शाखाको आयोजनामा फाल्गुनन्द गाउँपालिका भित्रका जडिबुटी कृषि सहकारी र सामुदायिक बन उपभोक्ता समिति सदस्यलाई जडिबुटी परिचयात्मक तालिम गराइएको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाले लोपोन्मुख जडिबुटी,खेति योग्य जडिबुटी र स्थानीय स्तरमा उपलब्ध जडिबुटीको संरक्षण,लगत संकलन,सम्बर्द्धन साथै उपयोगिता सम्बन्धि जानकारी दिने उदेश्यले प्रशिक्षण गराइएको शाखाले जनाएको छ ।

तीन वटा जडिबुटी कृषि सहकारी र चार वटा सामुदायिक बन उपभोक्ता समितिका सदस्यहरु,स्थानीय अगुवा कृषक,स्वास्थ्यकर्मी,परम्परागत चिकित्सक गरि करिब ७० जना सहभागीलाई वरिष्ठ कविराज निरीक्षक राजु पराजुली र वैध राज कुमार श्रेष्ठले प्रशिक्षणको सहजिकरण गरेका थिए ।

कार्यक्रममा स्थानीय क्षेत्रमा उत्पादन हुने चिराइतो,लोटसल्ला,अर्घेली,टिमुर,बोझो,सर्पगन्ध,हर्रोबर्रो,तेजपत्ता,कुरिलो,पाखनबेत,सतुवा,सिस्नु लगायतका ४० प्रकार भन्दा बढी बनस्पतिको महत्त्व,खेती गर्ने प्राविधिक तरिका र उपयोग सहित आयुर्वेद स्वास्थ संस्थाबाट प्रदान गरिने सेवाहरुको पनि प्रशिक्षण गराइएको कविराज पराजुलीले जानकारी दिए ।

जडिबुटी नर्सरी,उत्पादन,संकलन र प्रशोधन गरि निर्यात गर्न सरोकारवालासंग पहल गर्दै व्यवसायिक जडिबुटी उत्पादक कृषकलाई आर्थिक सहयोग,तालिम तथा प्रशिक्षण गराउने कार्यालयको योजना रहेको उनले बताए ।

जडिबुटीको खेती र उपयोग प्रति सकारात्मक सोचको बिकास भएको सहभागीहरुले बताएका थिए तर बजारीकरण र सरोकारवाला निकायको सहयोग पाए व्यावसायिक खेतीमा लाग्न सकिने उनीहरुको भनाइ छ ।

घरेलु जडिबुटी उत्पादनबाट स्वरोजगार साथै आर्थिक समृद्धिमा मद्दत पुर्‍याउन पालिकाले पहल गर्ने प्रमुख अतिथि पालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङ र विषेश अतिथि उपाध्यक्ष देवित्रा कुमारी आङ्देम्बेले प्रतिवद्ता जनाए ।

तिनचुले जडिबुटी कृषि सहकारी संस्थाको संयोजनमा सम्पन्न तालिमका विषेश अतिथि जडिबुटी महासंघ प्रदेश नम्बर १ अध्यक्ष शखध्वज नेम्वाङ,जडीबुट्टी सहकारी संघ जिल्ला अध्यक्ष पेम्बा शेर्पाले जडीबुट्टीको उत्पादन बढाउन,प्रशोधन गर्न साथै उचित बजारीकरणको व्यवस्था गर्न सरोकारवाला निकायसंग समन्वय गरि कृषकलाई साथ सहयोग दिने बताए ।

सात सय प्रजातीका जडिबुटीहरुको पहिचान भएको नेपालबाट बार्षिक ८० हजार टन भन्दा बढी जडिबुटी उत्पादन हुने र त्यसको ९० प्रतिशत जडिबुटी निर्यात हुने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here