‘आज फागुन २१’

0
407

 


भरत शिवाकोटी ।

मेरा छोराहरु हो,
आज मेरा हातपाउहरु बसिसके
पोहोरको फागुन २१ यही सुखानीको काखमा तिमीहरुलाई नियाल्दै
धमिला आँखाहरुबाट आँशुको श्रदा चढाएकि थिए
यसपाली त ओछ्यान लागेकी छु, तर बिर्सेंकी छैन
अझै ताजै छ, झलझली छ, मेरो बुढो मस्तिस्कमा
तिमीहरुले टाउकोमा बाँधेको रातो कफन
मेरो लम्पसार बनेको ममतामा
तिमीहरुको अडिग सुनौलो सपना, परिवर्तनको झुल्के घाम
निरंकुशताको हत्या, स्वतन्त्र आमा
छोराहरु हो, आज फागुन २१ …

म सम्झदैंछु तिमीहरुले धर्तिलाई दिएको स्वतन्त्रता
आज ओछ्यानमा लंगडो झै ढलेको छ
तिमीहरु जङगलको बिच सालीकमा ठडिएका छौ
विर शहिदहरु भन्दा गर्वले छाती ढक्क फुल्थ्यो
तर आज त्यो उपमा सस्तो भएको छ
बेचिएको छ, अर्थ नै डङरङग लडेको छ
तिम्रा सपनाहरुले धेरै बर्ष चियाइरहे, टोलाइरहे
धेरै परिवर्तन र भोटाहरु फाटिसके, मक्किसके
अब त लाग्छ ईतिहास नै फेरिदैंछ अथवा च्यातिदैंछ
तर म फेरिएकी छैन, म च्यातिएकी छैन
मलाई थाहा छ, तिमीहरु सुन्दैनौ तर म बोलाँउदैछु
छोराहरु हो, आज फागुन २१ …

आमा नमस्कार ! कस्तो छ हजुरलाई ?
हो, आज यसै भन्न मोटर चढेर आउँदै होलान केही हुज्जतहरु
अनी पोहोर साल झैं चर्का भाषण ठोक्दै
तिम्रा सालीकहरुमा माला, बुक्की र अबिरहरु पोत्छन होला
सालमा एकपटक नमस्कार भन्दै फुलको अपमान गरेर
तिमीहरुको नाम भजाउँदै ब्याज खानेहरु
सिदान्त र दस्तावेज खल्तिमा हालेर यसै गर्छन, यसै भन्छन
एकैछिन नाङिएका आँखाहरुलाई भ्रमित पार्दै
रङ्ग लेप्छन, भावुक बन्छन
मन र मस्तिस्कबाट फ्याँकिएका तिमीहरु
उठने बेला भएको छ, उठछौ कि उठदैनौ ?
देख्ने बेला भएको छ, देख्छौ कि देख्दैनौ ?
सुन्ने बेला भएको छ, सुन्छौ कि सुन्दैनौ ?
छोराहरु हो, आज फागुन २१ …

नमस्कार गर्ने क्रान्तिकारीहरु, छोराहरुका सहयोद्दाहरु
आज म सुन्दैछु अनी सोध्न चाहन्छु
ति शालीकहरु भाग लाग्दैछन रे हो ?
रामनाथ, कृष्ण, नेत्र र लक्ष्मीहरु एउटाको भागमा पर्दैछन रे
सयौं विरेनहरु अर्कैको भागमा
अनी रत्न कुमार र नारायण श्रेष्ठहरु छुट्टै अर्कै भागमा
के यो साँचो हो ? के यही थियो सहयात्रीको सपना ?
किन जमिनतिर मुन्टो घोप्टयाउँछौ
मेरो आँखामा हेर, शालीकमा ठडिएका सहयात्रीका आँखामा हेर
अँह यिनीहरु बोल्दैनन बरु मौनतामा हराउँदैछन
अब तिमीहरु नै बोल शालीकमा ठडिएका
छोराहरु हो आज फागुन २१ … !
छोराहरु हो आज फागुन २१ …!!

( समाप्त )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here