झापा गोल्डकप– हाम्रो शान बनोस्

0
374

‘हाम्रो गौरव हाम्रो मान– झापा गोल्डकप हाम्रो शान’ भन्ने मूल नारासहित झापाको मुख्य आकर्षण झापा गोल्डकप शुरु भएको छ । पाँचौं संस्करणका रुपमा शनिवारदेखि प्रारम्भ भएको प्रतियोगितामा नेपाल र भारतका गरी दशवटा टिमको सहभागिता रहनेछ । राजनधानी बाहिर आयोजना हुने फुटबल प्रतियोगितामध्ये सर्वाधिक प्रतिष्ठा कमाएको झापा गोल्डकपको मुख्य प्रायोजनले लिएको छ । बिर्तामोड नगरपालिकास्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने प्रतियोगिताको यो पाँचौं संस्करण हो । विगतका आयोजनाहरुबाट सिक्दै नयाँ, उत्कृष्ट र भव्य रुपले प्रतियोगिता सम्पन्न गर्न यस बर्षको संस्करणका लागि बिर्तामोडका युवा व्यवसायी तथा सामाजिक क्षेत्रमा क्रियाशील युवा बिनोद बस्नेतको अध्यक्षतामा गठित समितिले यो प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्ने चुनौतिका रुपमा लिएर अहोरात्र खटिएको छ ।

विगत दुई महिनादेखि खेल मैदानलाई परिस्कृत गर्न लागेको समितिले अस्थायी प्यारापिटदेखि गलैंचासम्मको व्यवस्था गरेर दर्शकलाई सहज बनाउन भरमग्दुर प्रयास गरेको छ । एकैदिन दश हजार दर्शकले सहज रुपमा खेल हेर्न सक्ने गरी प्यारापिट निर्माण गरिएको खेल मैदानलाई देशकै उत्कृष्ट मैदान बनाइएको छ । देशका चर्चित र प्रतिष्ठित फुटबल क्लबहरुको सहभागिता रहने झापा गोल्डकपलाई झापावासीकै प्रतिष्ठासँगै जोडिएको छ । झापाली खेलप्रेमी, खेलाडी, संघ–संस्था, दल, सामाजिक क्षेत्र लगायत सम्पूर्ण झापालीको गौरवका रुपमा लिने गरिएको प्रतियोगिता सभ्य, भव्य र उत्कृष्ट बनाउन निर्माण गरिएका विभिन्न उपसमितिहरुले पनि यसलाई आफ्नो समेत प्रतिष्ठा बनाएका छन् । झापाका उद्योगी, व्यवसायी, सञ्चारकर्मी तथा सञ्चारगृहहरुको समेत प्रत्यक्ष सहयोग र सहभागिता रहने खेलमध्येको सर्वाधिक लोकप्रिय फुटबलको यो महाकुम्भले झापालीको मनलाई पनि जोडेको छ ।

त्यसो त खेल स्वस्थ शरीरको आधार हो । यसले मानिसको मनलाई समेत एकाग्र बनाउँछ जो स्वस्थ मनका लागि अत्यावश्यक कुरा हो । व्यक्तिको सर्वाङ्गिीण विकासका लागि गरिने क्रियाकलापमध्येको प्रमुख फुटबल प्रतियोगिताहरुमध्ये झापामा सञ्चालन हुने झापा गोल्डकपको विशिष्ठ महत्व छ । पुरस्कारका रुपमा विजेताले बाह्र लाख ५५ हजार र उपविजेताले छ लाख पाँच हजारसहित ट्रफी, मेडल प्राप्त गर्ने यो प्रतियोगिताले अन्य सहभागी तथा फुटबल खेलाडीहरुलाई नवीन सिप, कौशल पनि हस्तान्तरण गर्नेछ । झापाकै पुरानो बिर्ताबजारस्थित रंगशालाको समेत सम्मान र पहिचान स्थापित गर्ने झापा गोल्डकपको पाँचौं संस्करणको भव्य सम्पन्नताको लागि शुभकामनासहित आयोजक तथा सहयोगी सबैको सामुहिक सद्भावको अपेक्षा गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here