मेची अभियानको सम्मानयोग्य पहल

0
500

मानवको आधारभूत आवश्यकतामध्ये दोस्रो महत्वको आधार हो– स्वास्थ्य सेवा । त्यसै पनि स्वास्थ्यलाई मानिसको सर्वोत्तम धन भनिन्छ । अर्थात् स्वस्थ रहे श्रम गर्न सकिन्छ । श्रम गरे आम्दानी हुन्छ र त्यसले अनिवार्य आवश्यकताहरु पूरा गर्न सहयोग गर्छ । मानव सभ्यताको विकासको क्रमसँगै बढ्दै गएको आवश्यकता र त्यसलाई पूरा गर्ने आधारहरु खोजी गर्दै जाँदा आधारभूत आवश्यकताहरु थपिए । यस अनुसार शिक्षापछिको दोस्रो आवश्यकता स्वास्थ्य सेवा बनियो, जो अझै सर्वसुलभ छैन र सबैको पहुँचमा पनि छैन । यद्यपि तुलनात्मकरुपमा स्वास्थ्य सेवा प्रदायक संस्थाहरु थपिएका छन्, अत्याधुनिक उपकरणहरुसहितको सेवा जिल्ला–जिल्लासम्म पुगेको छ । तर, यो सेवाको पहुँचमा पुग्ने संख्या अति न्यून छ । अर्थात् उपचार पद्धति यति महँगो छ कि आममानिस सेवाको पहुँचमा पुग्नै सक्दैन । जसका कारण धेरैले उपचार नपाएरै मृत्युवरण गर्नु परिरहेको छ ।

झापा अर्जुनधारा–५ का सोबुलाल चौधरी उपचार गर्न नसकेको आफ्नो छोरालाई साङ्लोले बाँधेर राख्न बाध्य भएका थिए । स्थानीय सञ्चारकर्मीहरुले त्यस्तो सूचना पाएलगत्तै त्यसको कारण, परिस्थिति र अवस्थाका बारेमा समाचार सम्प्रेषण गरे । भारतको नागाल्याण्ड पुगेका सोबुलालले त्यहीं विवाह गरे, दुई सन्तान पनि जन्मिए । सोबुलालका पत्नी रीताले नेपाल नआउने निर्णय गरेपछि दुई सन्तान च्यापेर सोबुलाल स्वदेश फर्किए । यहाँ आएर मजदुरी गरेर नाबालक सन्तानको पालनपोषण गर्दै आएका सोबुका कान्छा छोरा आकाशमा भएको अस्वभाविक परिवर्तनले उनलाई थप पीडित बनायो । जथाभावी हिँड्ने, जे पायो त्यही खाने स्वभावका कारण काममा जानुपर्ने बाबु सोबुलालले छोरालाई साङ्लोले बाँध्न बाध्य भए । छोराको उपचार गर्ने आर्थिक क्षमता नभएका बाबुको यही बाध्यताका बीच सञ्चारमाध्यममा समाचार आएलगत्तै परोपकारी संस्था मेची अभियानले बालकको उद्धार गरी उपचारमा लगेको छ ।

अभियानका संयोजक विजय डालमिया नेतृत्वको टोलीले घरमै पुगेर बालकको उद्धार गरी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएको छ । प्रतिष्ठानका डाक्टर सञ्जीव शर्मासहितको चिकित्सक टिमले बालक आकाशको उपचारको प्रबन्ध मिलाएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको आग्रहमा चिकित्सक टोली बालकको सम्पूर्ण उपचार गर्न तयार भएको थियो । नेपाल रेडक्रस सोसाइटी झापा अध्यक्ष लोकराज ढकालले बालकलाई धरान पु¥याउन एम्बुलेन्स उपलब्ध गराएको बताएका छन् । समाजमा यस्तै अवस्थामा उपचार नपाएर रोग पालेर बसेका थुप्रै हुनसक्छन् । तिनीहरुलाई उपचारको पहुँचमा पु¥याउन स्वयम्सेवी तथा परोपकारी हातको खाँचो छ । अमूल्य मानव जीवनलाई सार्थक बनाउँदै दुःख, पीडामा रहेकाहरुलाई सहयोगको हात बढाउने मनकारीहरु सधैँ सम्मानयोग्य हुन्छन् । बालक आकाशलाई शीघ्र स्वास्थ्य लाभ होस्, मेची अभियानको सेवा अझै व्यापक बनियोस् । सहयोगापेक्षीको बाँच्न पाउने अधिकार पनि सुरक्षित होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here