आज झापा–११ फुटबल र संकटा भिड्दै, उत्कृष्ट व्यवस्थापन, दर्शकको उत्साहजनक सहभागिता

0
379

बिर्तामोड ।

त्रिभुवन आर्मी क्लव डोमालाल राजवंशी रंगशालामा जारी पाँचौ झापा गोल्डकपको उपाधि नजिक पुगेको छ ।
झापा गोल्डकपका तीन वटा संस्करणको उपाधि उचालिसकेको आर्मी आफ्नो दवदवा कायम राख्दै उपाधि नजिक पुगेको हो । सातदोबाटो युथ क्लबलाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । आर्मीका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरेका थिए । सातदोबाटोले एक गोल मात्र फर्काउन सक्यो ।

खेलको २७औँ मिनेटमा सन्तोष तामाङले प्रहार गरेको फ्रि किकमा सुमनले गोल गरे । पहिलो हाफको थप समयमा सातदोबाटोले गोल फर्कायो । उसका लागि सुशील राईको क्रसमा दीपकराजसिंह ठकुरीले गोल गरे । दोस्रो हाफमा आर्मीले ३ गोल थप्यो । ६०औँ मिनेटमा आर्मीका सन्तोष तामाङले गोल गर्दै खेललाई २–१ मा पु¥याए । ८०औँ मिनेटमा नवयुग श्रेष्ठको हेडरमा टेकबहादुर बुढाथोकीले गोल गर्दै सातदोबाटोसँग फराकिलो अन्तर बनाए । ८४ औँ मिनेटमा टेकबहादुरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । उनले कमलबहादुर थापाको पासमा गोल गरेका हुन् ।

स्टार खेलाडी गुमाएको सातदोबाटोले निर्धारित ९० मिनेटमा आर्मीबिरुद्ध खासै मुभ बनाउन सकेन । ५३ मिनेटमा स्ट्राइकर सुशील राईको पासमा सातदोबाटोका स्कोरर दीपकराजसिंह ठकुरीको कडा प्रहार विपक्षी गोलरक्षक विकेश कुथूले पञ्च गरेर बचाए ।

शुक्रबारको खेलको प्लेयर अफ द म्याच सन्तोष तामाङ भए । उनले नगद ९ हजार ९ सय ९९ रुपैयाँ पुरस्कार पाए । शनिबारको अन्तिम सेमीफाइनल खेल झापा–११ फुटबल क्लब र संकटा क्लबबीच हुनेछ । आर्मीले अब शनिबारको बिजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । आर्मी लगातार चौथोपटक फाइनल प्रवेश गरेको हो ।

दिनहुँ फरक/फरक प्रमुख अतिथि

डोमालाल राजवंशी रंगशालामा जारी झापा गोल्डकपको पाँचौ संस्करण चलिरहँदा फरक–फरक व्यक्तिलाई दिनह्ँ प्रमुख अतिथि बनाइने गरिएको छ ।

फागुन २१ गते पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख अतिथिको रुपमा खेलको उद्घाटन गरेका थिए । उनले खेललाई राजनीतिसंग नजोड्न आग्रह गर्दै खेलको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

खेलको समापन गर्ने फागुन ३० गते पूर्व उपप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला डोमालाल राजवंशी रंगशाला आउने कार्यक्रम छ । यसअघिका वर्षपनि खेलको समापनका लागि नेता सिटौला नै प्रमुख अतिथि भएर डोमालाल राजवंशी रंगशाला आउने गरेका थिए । उद्घाटन र समापनमा मात्र नभई गोल्डकप आयोजक समितिले हरेक दिन फरक–फरक व्यक्तिलाई प्रमुख अतिथिको रुपमा रंगशालामा स्वागत गर्दै आएको छ ।

खेलको दोस्रो दिन नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क चेम्वर अफ कमर्शको उपाध्यक्ष चण्डीराज ढकाल प्रमुख अतिथि बनेका थिए । त्यस्तै खेलको तेस्रो दिन सशस्त्र प्रहरी १ नम्वर प्रदेशका प्रमुख (डीआइजी) कमल गिरी, चौथो दिन कांग्रेस नेतृ डा. डिला संग्रौला, पाँचौ दिन निमित्त प्रमुख जिल्ला अधिकारी चोलेन्द्र न्यौपाने, छैठौं दिन नेपाली कांग्रेस प्र्रदेश १ का सभापति उद्धव थापा र सातौं दिन नेकपा एमालेका नेता एवम् पूर्व महान्यायाधीवक्ता अग्नि प्रसाद खरेल प्रमुख अतिथि बनेका थिए ।

प्रमुख अतिथिका रुपमा पुगेका सामाजिक तथा राजनीतिक व्यक्तिहरुले डोमालाल राजवंशी रंगशालाको विकास र संरक्षणका लागि लागीपर्ने प्रतिवद्धता जनाएका थिए भने सुरक्षा निकायका प्रमुखहरुले गोल्डकप आयोजक समितिलाई सुरक्षाको प्रर्वद्धन गर्ने विश्वास दिलाए ।

घरेलु टोलीप्रति दर्शकको क्रेज

पाँचौ संस्करणको झापा गोल्डकपको सेमीफाइनल संस्करण पूरा भएको छ । सेमीफाइनलसम्मको प्रतियोगिता जारी रहँदा घरेलु टोली झापा ११प्रति दर्शकको क्रेज देखिएको छ ।

आयोजक झापा ११ले क्वाटरफाइनलमा सिक्किमसँग प्रतिष्पर्धा गरेका दिन दर्शकको उत्साहजनक सहभागिता देखिएको थियो । आफ्ना खेलाडीलाई हौसला प्रदान गर्न झापाली दर्शक उत्सुक देखिएका थिए । सिक्किमलाई ५–१ गोल अन्तरले पराजित गर्दै झापा ११ले सेमीफाइलको यात्रा तय गरेसंगै दर्शकहरुले झापाली खेलाडीलाई खेलमा केही सुधार गर्न सुझाव समेत दिएका छन् । बिर्तामोड–२चारपानेका विवेक निरौला भन्छन् – झापा ११को खेल उत्कृष्ट छ, तर अझै पर्याप्त फिनिसिङ नहुँदा धेरै अवसर गुमाउनु परेको अवस्था छ ।

पासिङ राम्रो भए पनि झापा ११को फिनिसिङ राम्रो नहुँदा सोचे अनुरुप खेल खेल्न नसकेको उनको बुझाइ छ । अर्जुनधारा–५का हेम तिम्सिना पनि झापा ११को खेल उत्कृष्ट भएको बताउँदै हरेक वर्ष झापा ११को खेल हेर्न आफू जहाँ भए पनि मैदानमा आउने गरेको बताउँछन् । उनी भन्छन्– झापाली ग्राउण्डमा हाम्रौ खेलाडीले खेलेको खेल हेर्न पाउँदा त्यसको छुट्टै आनन्द आउँछ ।

बासको प्यारापिटमा बसेर खेलको मज्जा लिन्छन् झापाली

सर्बाधिक चर्चामा रहेको झापा गोल्डकपको पाँचौ संस्करण गत फागुन २१ गतेबाट जारी छ । खेलप्रेमी दर्शकहरु खेल हेर्नका लागि दिनहुँ सयौंको संख्यामा बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आउने गरेका छन् ।

फागुनको अन्त्यसँगै गर्मी मौसम शुरु भएको छ । तातो घामको कुनै पर्वाह नगरी दर्शकहरु आफ्नो टिमको समर्थनमा रंगशाला पुग्ने गरेका छन् । कोरोना कहरका कारण दुई वर्षसम्म स्थगित भएको झापा गोल्डकप शुरु भएसँगै झापालीको उत्साह पनि थपिएको छ । गोल्डकप हेर्न बालबालिकादेखि वृद्धवृद्धासम्म रंगशाला पुग्ने गरेका छन् । झापासहित राष्ट्रिय तथा अन्तराष्ट्रिय १० वटा टिमले सहभागिता जनाएको यो प्रतियोगितामा खेल हेर्न दर्शकहरु दिनहुँ लाइन बसेर टिकट काट्दै रंगशाला परिसरभित्र प्रवेश गर्छन् ।

नेपालकै उत्कृष्ट खेलमैदानका रुपमा डोमालाल राजवंशी रंगशालालाई खलाडीले लिने गरे पनि व्यवस्थित प्यारापिटको अभावमा झापाली दर्शकले बाँसको प्यारापिटमा बसेरै भए पनि खेलको मज्जा लिने गरेका छन् ।

व्यवस्थित पार्किङ

विभिन्न महोत्सव तथा खेलकुद प्रतियोगितामा पार्किङको व्यवस्था नभएको भन्दै असन्तुष्टि जनाउनेहरुको कमी हुँदैन । तर, झापा गोल्डकप हेर्न आउने दर्शकका लागि आयोजक समितिले व्यवस्थित पार्किङको व्यवस्थापन गरेको छ ।

पार्किङ शुल्क महङ्गो लिएको भन्दै गुनासो गर्नेहरुको पनि कमी थिएन तर, झापा गोल्डकपमा आयोजक समितिले दुई पाङ्ग्रे सवारी पार्किङ बापत प्रतिगोटा २० रुपैयाँ मात्र लिने गरेको छ । हरेक दिन पार्किङ शुल्क वापत उठाएको रकममध्येबाट प्रतियोगिताको फाइनल खेलका दिन गोलाप्रथाद्वारा एक जनालाई दश हजार रुपैयाँ प्रदान गर्ने बताइएको छ ।

धन्यवादको पात्र बन्यो झापा गोल्डकप

झापा गोल्डकप आयोजक समितिका अध्यक्ष बिनोद बस्नेतले पाँचौ झापा गोल्डकप प्रतियोगिता अन्तर्गत फागुन २४ गते नारी दिवसका दिन महिलाहरुलाई निःशुल्क खेल हेर्ने व्यवस्था मिलाए । उनको यो निर्णयको चौतर्फी प्रशंसा भयो ।

नारी दिवसका दिन महिलालाई प्राथमिकता दिँदै झापा गोल्डकप हेर्न अवसर जुराएको भन्दै महिलारुहले झापा गोल्डकप आयोजक समितिको प्रशंसा गरे नै त्यसमाथि पनि अध्यक्ष बस्नेतलाई धेरै महिलाले धन्यवाद दिएका छन् । नारी दिवसका दिन आयोजक समितिले खेल मैदानमा नै महिलालाई खादा लगाउँदै सम्मान समेत गरेको थियो ।

स्थानीय सरकार जिम्मेवार बन्न माग

प्रत्येक आर्थिक वर्षको कूल १० प्रतिशत बजेट खेल क्षेत्रमा छुट्याउनुपर्ने हुन्छ । स्थानीय तहको निर्वाचन भएको चार वर्ष पूरा भएको छ । तर, बिर्तामोड नगरपालिका–३मा रहेको डोमालाल राजवंशी रंगशालाको अवस्था भने जस्ताको तस्तै छ । पाँचौ संस्करणको झापा गोल्डकप सञ्चालन भइरहँदा समेत अझै चन्दाकै भरमा प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यता आयोजक समितिलाई रहेको छ ।

रंगशालाको संरक्षण र विकासको मुख्य दायित्व स्थानीय सरकारको हुन्छ तर, स्थानीय सरकारले यसको संरक्षणमा चासो नदिएको खेलप्रेमी दर्शकको गुनासो छ । व्यवस्थित प्यारापिट नहुँदा बाँसको प्यारापिटमा बसेर खेल हेर्नु परेको दर्शकको भनाइ छ । स्थानीय सरकारले व्यवस्थित प्यारापिट निर्माण गर्ने हो भने मात्रै वर्षेनि अस्थायी प्यारापिटका लागि गरिने खर्च जोगिने स्थानीयको भनाइ छ ।

खेलाडीलाई सम्मान

झापा गोल्डकपको पाँचौ संस्करणमा यसपटक पनि खेल क्षेत्रमा योगदान पु¥याउने खेलाडीहरुलाई सम्मान गरिएको छ । गोल्डकपको अवधिमा हालसम्म पूर्व राष्ट्रिय खेलाडी अर्जुनधाराका मित्रसेन भट्टराई, मेचीनगरकी पूर्व राष्ट्रिय खेलाडी संगीता राउत र अखिल नेपाल महिला फुटवल संघकी अध्यक्ष दमक निवासी बिन्द्रा देवानलाई गोल्डकप आयोजक समितिले सम्मान गरेको छ ।

मस्कट निर्माणकर्ता राजवंशी सम्मानित

झापा गोल्डकपको मुख्य आकर्षणको रुपमा रहेको मस्कटका निर्माणकर्ता पवन राजवंशीलाई झापा गोल्डकप आयोजक समितिले सम्मान गरेको छ ।

पूर्वाञ्चल दैनिकका कार्टुनिष्ट समेत रहेको प्राज्ञ राजवंशीले कलात्मक ढंगबाट निर्माण गरेको मस्कटको चर्चा धेरै छ । उनले हात्तीले फुटवल प्रहार गर्दै गरेको मस्कट निर्माण गरेका छन् । त्यस्तै खेल क्षेत्रमा विशिष्ठ योगदान पु¥याएको भन्दै मदन गोपाल सुब्बा र अग्नि खरेललाई समेत सम्मान गरिएको थियो ।

अध्यक्ष बस्नेत भन्छन्– खेलप्रेमीको अधिक माया

झापा गोल्डकपका अध्यक्ष बस्नेतले पाँचौ संस्करणको झापा गोल्डकपमा खेलप्रेमी दर्शकको अधिक माया पाएको बताएका छन् ।

कोरोना कहरका कारण दुई वर्षसम्म स्थगन भएको झापा गोल्डकप यस पटक सञ्चालन गर्ने अवसर पाउँदा खुशी लागेको बताउँदै अध्यक्ष बस्नेतले भने– खेलप्रेमी दर्शक, झापा गोल्डकपका सदस्य, व्यवसायी, सबै राजनीतिक दल, नागरिक समाजका अगुवा, सञ्चारकर्मीसहित आम झापावासीको सद्भाव र शुभेच्छाका कारण झापा गोल्डकप उत्साहजनक रुपमा सञ्चालन भइरहेको छ ।

अध्यक्ष बस्नेतले हालसम्म सञ्चालन भइरहेको प्रतियोगिता उत्कृष्ट भएको भन्दै कतैबाट कुनै पनि गुनासो नआएको बताएका छन् । उनले भनेका छन्– यहाँ सहभागी हुने सबै खेलाडी खुशी छन् नै त्यत्तिकै मात्रामा गोल हेर्न आउने दर्शक पनि खुशी छन् । उनले आज शनिवार हुने आयोजक झापा ११ र संकटा क्लव बीचको खेल हेर्न सबैलाई रंगशालामा आउन आमन्त्रण समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here