पाँचथरमा स्थानीयतह स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड संचालन

0
518

युद्धबहादुर बोहोरा,
पाँचथरः

पाँचथरमा स्थानीयतह स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड-२०७८ संचालन भएको छ । यस आर्थिक वर्षको पहिलो रनिङ शिल्ड फालेलुङ गाँउपालिकामा गत फागुन २३ देखि संचालन भइ २५ गते सम्पन्न भएको जिल्ला खेलकुद विकास समिति पाँचथरका सचिव मातृका दाहाले जानकारी दिए ।

फाल्गुनन्द गाउँपालिकामा चैत ३ देखि ५ गतेसम्म वडा नम्बर २ इम्बुङस्थित सत्यहाङ्मा माध्यमिक विद्यालयमा संचालन हुने गरि सम्पूर्ण तयारी भइसकेको आयोजक संस्थाका प्रधानध्यापक(सदस्य सचिव) रामभक्त नेम्बाङले बताए ।

मंगलबार पालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङको अध्यक्षतामा रनिङ शिल्ड प्रतियोगिता संचालन सम्बन्धमा विविध विषयमा छलफल गरि निर्णय पारित भएसंगै खेल संचालनको तयारी भएको उनले जानकारी दिए । छलफलमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोक, २ नम्बर वडाका अध्यक्ष बहादुरसिं नेम्बाङ,खेलकुद समिति तथा सरोकारवालाको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।

सत्यहाङ्मा माध्यमिक विद्यालयमा संचालन हुने रनिङ शिल्ड पाँचथरका संघीय संसद तथा पूर्वमन्त्री बसन्त कुमार नेम्बाङद्वारा उद्घाटन हुने भएको छ । रनिङ शिल्डमा पालिका भित्रका ११ वटा सामुदायिक र दुई वटा संस्थागत विद्यालय गरि जम्मा १३ वटा माध्यमिक विद्यालयले सहभागिता जनाउने पालिका शिक्षा शाखा प्रमुख बाबुराम राईले जानकारी दिए । उनका अनुसार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिकामा उल्लेख गरिएका सम्पूर्ण खेल खेलाइने बताए । यसअघि जिल्लाका कुनै पालिकामा नखेलाइको उसु खेल समेत फाल्गुन्दमा पहिलो पटक खेलाउन लागिएको बताए ।

खेल मर्यादित रुपमा संचालन गरिने साथै शान्ति सुरक्षालाई चुस्तदुरुस्त राख्न वडा नम्बर ३ मा रहेको प्रहरी चौकी पौवाभञ्ज्याङलाई अनुगमनको लागि खटाइएको छ । खेल संचालन गर्न राष्ट्रिय स्तरका लाइसेन्स प्राप्त पाँच जना रेफ्रीको व्यवस्था मिलाइएको आयोजक संस्थाले जनाएको छ ।

यस भन्दा पहिले यस पालिकामा प्रथम राष्ट्रपति रनिङ शिल्ड ५ नम्बर वडाको घुर्बिसे पञ्चमी माध्यमिक विद्यालय फाक्तेपमा आयोजना भएको समयमा आयोजक संस्था विजेता बनेको थियो । दोस्रो वर्ष वडा नम्बर १ नवमीडाँडास्थित सिद्ध देवी माध्यमिक विद्यालयले आयोजना गरको वर्ष पनि आयोजक संस्थाले नै जीत हात पारेको थियो भने तेस्रो वर्ष वडा नम्बर ५ कोल्बुङस्थित जनकल्याण माध्यमिक विद्यालयले आयोजना गरेको वर्ष समेत वडा नम्बर १ नवमीडाँडास्थित सिद्ध देवी माध्यमिक विद्यालय विजयी बनेको थियो ।

जिल्लाको याङ्वरक गाउँपालिकामा चैत ६ गतेदेखि रनिङ शिल्ड संचालन हुने छ भने तुम्वेवा गाउँपालिकाको तयारी हुँदै गरेको तर मिति तय नभएको साथै अन्य पालिकाले पनि आफ्नो तयारीमा जुटेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

यसअघि खेल तयारी गर्ने क्रममा फालेलुङ गाँउपालिकाका एक विद्यार्थीले ज्याब्लिङ थ्रो गर्दा टाउकोमा लागेर अर्का बालक गम्भीर घाइते भएको र उनको उपचार गर्न हेलिकप्टरको भाडा पालिकाले नै व्यहोर्ने गरि पहल गर्दा समेत हेलिकप्टर नपाइएका कारण बेल‌ैमा उपचार गराउन नसक्दा १० वर्षीय बालकको मृत्यु भएको थियो । उक्त दुखद घटनापछि आगामी दिनका खेलहरुमा सचेत रहन खेलकुद विकास समितिले सरोकारवालाहरुलाई ध्यान केन्द्रित गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here