विद्यालय, खानेपानी र सडकका संरचना बनाउँदै बेरोजगार

0
525

बलेवा,

बागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभानकी सुशीला कामी दिनभर गाउँपालिकाले खटाएको ठाउँमा काम गर्नुहुन्छ । न्यून आय भएको परिवार धान्न धौधौ भएकी सुशीलाले काम पाएपछि अहिले परिवार पाल्न सजिलो भएको छ । उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँमै काम पाउनुभएको छ ।

दिनभरि काम गरेपछि साँझ उहाँले नेपाल सरकारले तोकेको पारिश्रमिक पाउनुहुन्छ । महिनामा एकैपटक आउने भए पनि सुशीलाले दिनदिनै गर्ने कमाइका आधारमा खर्च गर्न र उधारो चलाउन सहज भएको छ । कहिले विद्यालयको खेल मैदान निर्माण त कहिले गोरेटो बाटो निर्माणका काममा खटिने सुशीला र उहाँका साथी पहिराले क्षति पु¥याएका सरकारी संरचनामा फलामे तारजाली लगाउने, खानेपानीको पाइपका लागि लाइन खन्ने काम पनि गर्नुहुन्छ ।

एकतर्फ सामाजिक काम गर्न पाएकामा उहाँहरु दङ्ग हुनुहुन्छ भने अर्कोतर्फ गाउँमा ज्याला मजदुरी गर्दाभन्दा धेरै पारिश्रमिक पाउनुहुन्छ । तमानखोला गाउँपालिकाले विद्यालयमा खेलमैदान, पर्खाल लगाउने, गोरेटोबाटो बनाउने, खानेपानीका संरचना बनाउने र चौतारी, पोखरीको संरक्षणलगायत काममा प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागीलाई लगाउने गरेको छ ।

तमानखोला–२ कटेरी गाउँमा रहेको जनज्योति आधारभूत विद्यालयको खेलमैदान बनिरहेको छ । खेलमैदान निर्माणका लागि विद्यालयले जग्गा मात्रै देखाइदिएको हो । बाँकी काम प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागीले गरिरहेका छन् । यो त एउटा उदाहरण मात्रै हो । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट यस्तै कैयौँ काम गरेको छ ।

“हामीले मजदुर आवश्यक हुने ठाउँमा रोजगार कार्यक्रममा सहभागीलाई लगाउने गरेका छौँ”, गाउँपालिकाका रोजगार संयोजक चेतलाल चालिसेले भन्नुभयो, “रोजगारीमा सहभागी निकै खुसीका साथ काम गरिरहेका छन् ।”

सो गाउँपालिकामा ६६८ बेरोजगारको सूचीमा सूचीकृत छन् । त्यसमध्ये ४०० जनाले यस वर्ष पनि काम गरिरहेका छन् । असी बेरोजगारलाई १०० दिनका दरले काम लगाउने गरी नेपाल सरकारले दिएको शःसर्त अनुदानमा गाउँपालिकाले ४०० जनालाई काम लगाइरहेको चालिसेले बताउनुभयो ।

“बेरोजगारको सूचीमा रहेकामध्ये अधिकांशको अवस्था उस्तै छ, सरकारले बनाएको मापदण्डमा ४०० जना नै पर्छन्”, उहाँले भन्नुभयो, “सबैलाई सहभागी बनाउँदा ६०÷७० दिनका दरले काम पाउँछन्, छ महिना खान नपुग्ने सबैलाई काम पाउँदा घर चलाउन सहज हुन्छ ।”

कार्यक्रममा सहभागीले दिनको रु ५७७ का दरले पारिश्रमिक पाउँछन् । यो पारिश्रमिक तमानका गाउँमा ज्याला मजदूरी गर्दा पाउने पारिश्रमिकभन्दा धेरै हो । जिल्लामा कायम भएको दर रु ८०५ छ तर प्रधानमन्त्री रोजगार कार्यक्रमले तय गरेको दररेटअनुसार पारिश्रमिक दिने गरिएको उहाँले बताउनुभयो ।

“गाउँमा महिला र पुरुषमा पारिश्रमिक फरकफरक छ तर कार्यक्रममा सबैको समान पारिश्रमिक हुन्छ”, चालिसेले भन्नुभयो, “समान कामका लागि समान ज्याला कायम गराउन कार्यक्रम प्रभावकारी बन्दैछ ।” गाउँपालिकामा तीनै तहको सरकारको नजर नपुग्ने क्षेत्रमा रोजगार कार्यक्रमले सहयोग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here