श्री शुक्रराज आधारभूत विद्यालय : एक बालमैत्री सुविधासम्पन्न सुन्दर विद्यालय

१२ चैत्र २०७८, शनिबार मा प्रकाशित


बिर्तामोडबाट भद्रपुर जाँदा होस् या भद्रपुरबाट बिर्तामोड आउँदा, देवनिया खोलादेखि केही पश्चिममा राजमार्ग किनारैमा रहेको एक सरकारी विद्यालयले यात्रुहरुको ध्यान अनायासै तान्दछ । किनकि विद्यालय भौतिकरुपमा निकै दर्शनीय र सुन्दर छ । यस विद्यालय अभिभावक, शिक्षक–शिक्षिका र विद्यार्थीहरुको प्यारो विद्यालय बन्न पुगेको छ । विद्यालय बिर्तामोड नगरपालिका वडा नं. ८ देवनिया, झापामा अवस्थित छ । सरकारी (सामुदायिक) विद्यालय लथालिङ्ग, गएगुजे्रको हुन्छ भन्ने विचारले जनमानसमा घर गरेको पाइन्छ । तर, सबै विद्यालय त्यस्ता हुँदैनन् ।

सरकारी विद्यालय पनि नमूना मात्र होइन सबै दृष्टिकोणले सुविधासम्पन्न, पढाईमा अब्बल र अरु विद्यालयका लागि समेत सिकाइ केन्द्रको रुपमा विकास भएका हुन्छन् । यस्तै सुविधासम्पन्न विद्यालय हो श्री शुक्रराज आधाभूत विद्यालय देवनिया । तर, विद्यालय त्यसै यो अवस्थामा आइपुगेको होइन । विद्यालयलाई यो उन्नत अवस्थामा विकास गर्न प्रथमतः प्रधानाध्यापक र विद्यालयका शिक्षक–शिक्षिकाहरुको मेहनत र दूरदृष्टी महत्वपूर्ण छ । अनि वि.व्य.स., शिक्षक अभिभावक संघ, अभिभावक, समाजसेवी, दाताहरु, स्थानीय निकाय र विद्यार्थी, पूर्व विद्यार्थीहरुको पनि उत्तिकै योगदान रहेको छ । यस विद्यालयमा के त्यस्ता राम्रा विशेषता रहेका छन् त ? निम्न कुराहरुबाट छर्लङ्ग हुन्छन् ।

विद्यालयको भौतिक पक्ष : सबै कक्षालाई श्रव्य दृष्यका माध्यमबाट अध्यापन गर्न प्रोजेक्टरसहितको प्रविधिमैत्री स्मार्ट कक्षा निर्माण गर्ने लक्ष्य लिइए अनुसार हाल चार वटा कक्षाहरुमा प्रोजेक्टर जडान गरी प्रविधिमैत्री, स्मार्ट कक्षा बनाइएको छ । रंगरोगन गरिएका शिक्षणमैत्री आकर्षक कक्षाकोठा र चिटिक्क परेका भवन रहेका छन् । व्यवस्थित पुस्तकालय छ । पुस्तक राख्ने स्तरीय ¥याक, धुलोबाट बचाउन ¥याकमा शिशा र शिशैको पार्टेसन गरिएको साथै सुन्दर सिलिङ्ग र फ्लोरमा कार्पेट ओछ्याइएको चिटिक्क पुस्तकालय कक्ष छ । रजिष्टर र कम्प्युटरमा समेत पुस्तकका अभिलेख राखिएको पुस्तकालयको एक भाग पुस्तकको भाग र अर्को भागमा रिडिङ्ग रुम छ । साथै अडियो भिजुअल माध्यमबाट ई–पुस्तकहरु अध्ययन गर्न रिडिङ्ग रुममा कम्प्युटर र प्रोजेक्टर समेतको व्यवस्था गरिएको छ । पुस्तकालयमा लेखिएको छ– ‘पुस्तक, पत्रपत्रिका दान गरौँ, पुस्तकालयको सम्मान गरौँ ।’

विद्यालयको माथिल्लो तल्लामा कम्प्युटर, स्मार्ट बोर्ड, फ्लोअरमा कार्पेट र अडियो भिजुअलका लागि प्रोजेक्टर जडान गरि प्रयोगात्मक कक्षाका लागि व्यवस्थित कम्प्युटर ल्याव रहेको छ । प्राङ्गणमा छानासहितको स्तरीय स्टेज केही दाताहरुले व्यक्तिगत सहयोग गरेर निर्माण गरिदिएका छन् । नगरपालिकाले फिल्टरसहितको स्वच्छ र शुद्ध खानेपानीको व्यवस्था गरिदिएको छ र चन्द्रगढी खानेपानी उपभोक्ता समितिबाट नियमित रुपमा पानी उपलब्ध हुनेगरी धारा लगायत खानेपानीको प्रणाली जडान गरिएको छ । छात्र र छात्राका लागि छुट्टा–छुट्टै मात्र होइन अलग–अलग स्थानमा नियमित पानी आउने गरी शौचालय बनाइएको छ ।

यति मात्र कहाँ हो र सहजता र सुरक्षाका लागि शिशु कक्षा (बालविकास)का र कक्षा एकका साना–साना नानीहरुका लागि कक्षाकोठामै अट्याच्ड शौचालयको व्यवस्था गरिएको छ भने आकर्षक कक्षाकोठाको व्यवस्थापन गरिएको छ । विद्यालयमा इन्टरनेट कनेक्टीभिटी छ । खेलकुद सामग्री, सफा हरियो घाँसे खेल मैदान र बाल उद्यान रहेका छन् । विद्यालय व्यवस्थापन समितिका लागि पनि बेग्लै कक्षको व्यवस्था छ । धेरै दाताहरुले धेरै कुरा दान गरेका छन् । विद्यालय हातामा सीसी क्यामेरा लगायत विद्युतीय उपकरण जडान गर्ने उद्देश्य अनुरुप थप दाताहरुबाट सामग्री दानका लागि अपेक्षा गरिएको छ ।

विद्यार्थी उपस्थिति बोर्ड : कक्षामा विद्यार्थीहरुलाई समावेशी किसिमले बसाइने गरिएको छ र कक्षापिच्छे ढोकैमा ह्वाइट बोर्डमा दैनिक विद्यार्थी उपस्थिति संख्या जनाइने गरिएको छ । हाल विद्यार्थी संख्या छात्र एक सय ३४ र छात्रा एक सय ३० गरी जम्मा दुई सय ६४ जना रहेका छन् । त्यसैगरी कार्यालयमा तालिका बोर्डमा विद्यार्थीहरु र शिक्षक शिक्षिकाहरुको दैनिक उपस्थिति जनाइने गरिएको छ ।

खाजा : शिशु कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई दैनिक खाजा खुवाइन्छ । बार अनुसार स्कूलमै स्वच्छ खाजा बनाइन्छ । हलुवा, चाम्रे, चना–मुरै, आलु–चिउरा, दूध–चिउरा, पाउरोटी, आलुफ्राई, मुरली मकै, बिस्कुट साप्ताहिक तालिका अनुसार खुवाउने गरिएको छ ।

विद्यालयको अन्य विशेषताः विद्यार्थीहरुमा सिर्जनात्मक तथा रचनात्मक सिप विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरिएका छन् । जसमा बालक्लब, जुनियर रेडक्रस सर्कल, मासिक बाल बचत कार्यक्रम, सदन जस्ता टीमहरुमा विद्यार्थीहरु सहभागी हुन्छन् । गोष्ठी, सेमिनार, हाजिरी जवाफ, वक्तृत्वकला, खेलकुद, सांस्कृतिक कार्यक्रम, शैक्षिक भ्रमण कार्यक्रमका माध्यमबाट विद्यार्थीहरुमा विभिन्न ज्ञान, सिप विकास गर्ने गरिएको छ । विद्यार्थीहरुमा सिकाई अभिवृद्धिका लागि नियमित मूल्यांकन, अभिभावक शिक्षा, ट्राफिक शिक्षा जस्ता जनचेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन गर्ने गरिएको छ । अभिभावक भेला, आमा भेला र दाताहरुको स्वागत तथा सम्मान कार्यक्रम सञ्चालन भइरहेको र आगामी दिनमा पनि सहयोगी दाताहरुलाई शालीन रुपमा स्वागत सम्मान गरिने लक्ष्य रहेको छ ।

विद्यालयको सेवा क्षेत्र : यस विद्यालयको हालको सेवा क्षेत्र बिर्तामोड नपा वडा नं. ७, ८ र भद्रपुर नगरपालिकाको वडा नं. १० को ग्रामीण विकास प्रशिक्षण केन्द्र हुँदै चैतुबारीको उत्तर पश्चिमको चन्द्रगढ क्षेत्रको सीमानासम्म रहेको मान्न सकिन्छ । करिब चार सय ५२ घरपरिवारलाई यस विद्यालयले सेवा क्षेत्रभित्र आंकलन गरेको छ । कक्षा ८ पछि यस विद्यालयका विद्यार्थीहरु दुर्गा मावि गरामनी र विरेन्द्र मावि चन्द्रगढी पढ्न जाने गर्दछन् ।

शिक्षक शिक्षिकाहरु : कृष्ण सुवेदी ‘निराकार’ प्रधानअध्यापक, लेखराज काफ्ले (स.प्र.अ.), शिक्षक–शिक्षिका सोमादेवी दुलाल, उमाकान्त दाहाल, पुष्पा निरौला, विमला बुढाथोकी, बविता सुवेदी, रमेश ढुङ्गेल, चन्द्रकला लामिछाने, प्रतिष्ठा थापा, कमला लम्साल, ज्योति मिश्र र का.स. अकालु राजवंशी । अध्यक्ष डम्बर तिमसिनाको नेतृत्वमा विद्यालय व्यवस्थापन समिति, त्यस्तै अध्यक्ष किरण तिमसिनाको नेतृत्वको शिक्षक अभिभावक संघ पनि रहेको छ । शिक्षक–शिक्षिकाको टीम, वि.व्य.स.को टीम र शिक्षक अभिभावक संघ मिलेर विद्यालयलाई अब्बल बनाउन र विद्यार्थीहरुलाई स्तरीय शिक्षा प्रदान गर्न मेहनत गरिरहेका पाइन्छ ।

शैक्षिक सौगात : विद्यालयले २०५५ सालमा शैक्षिक सौगात (स्मारिका) प्रकाशन गरेको छ । सौगातमा विद्यालयको इतिहास लगायतका नालीबेली, विद्यालय सम्बद्ध र विभिन्न विद्वान, स्रष्टाहरुका लेख, विचार, अन्तर्वार्ता, स्मृति तथा सम्मान खण्डमा देवीप्रसाद उप्रेती, राईटर वीरबहादुर श्रेष्ठ, मोहनलाल अग्रवालप्रति सम्मान व्यक्त गरिएका र केही साहित्य पनि प्रकाशन भएका छन् ।

हरेक आयामका लागि टीमवर्क : शैक्षिक उन्नयनका लागि यस विद्यालयमा शिक्षिक–शिक्षिका र विद्यार्थीका

विभिन्न टीम रहेका छन् : कक्षा व्यवस्थापन निरीक्षण तथा मूल्यांकन, पुस्तकालय पत्रपत्रिका, कम्प्युटर तथा प्रबिधि, सिर्जनात्मक तथा रचनात्मक, शिक्षक तथा विद्यार्थी यूनिफर्म निरीक्षण, कार्यालय तथा कक्षाकोठा सजावट, परीक्षा, जुनियर रेडक्रस तथा अतिरिक्त क्रियाकलाप, आर्थिक तथा प्रशासनिक कार्य, सरसफाई तथा अनुशासन निरीक्षण, दिवाखाजा व्यवस्थापन तथा पाक शिक्षा, वृक्षरोपण तथा पूmलबारी र जनसम्पर्क तथा सरस्वती पूजा आदिका लागि छुट्टाछुट्टै टीम रहेका छन् । टीमवर्कले विद्यालयका आयामहरु सदा दुरुस्त रहेका छन् ।

अक्षय कोष : डिल्लीराम प्रसाईले २०७५ मा रु. एक लाख राशीको, आफ्ना मातापिताको स्मृतिमा ‘स्व. टिकाप्रसाद–देवकादेवी प्रसाई स्मृति अछयकोष’ स्थापना गरेका छन् । यसबाट निमावि तहका दुई जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिन्छ । त्यस्तै २०७८ मा चुडाकुमारी चालिसेले रु. एक लाख एक हजार ५५ राशीको, आफ्ना पतिको स्मृतिमा ‘स्व. सिंहराज चालिसे स्मृति अक्षयकोष’ स्थापना गरेकी छन् । यसबाट एकजना गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिन्छ ।
नमूना विद्यालय ः शैशिक गुणस्तर वृद्धि तथा भौतिक सुधारका साथै बालमैत्री वातावरणमा पठनपाठन भएको कारण बिर्तामोड नगरपालिकाले वर्ष २०७५ मा आधारभूत तहको यस विद्यालयलाई नमूना विद्यालय घोषणा गरी पुरस्कृत गरेको छ ।

विद्यालयको इतिहास : तात्कालीन गरामनी गाउँ विकास समिति वडा नं. ३ र ४ मा कुनै विद्यालय स्थापना भएको थिएन । तर, तत् समाजमा शिक्षाप्रतिको चेनता, चाहना गाढा हुँदै आइसकेको थियो । समाजको चेतना र चाहना स्वरुप भीमप्रसाद उप्रेतीको अध्यक्षतामा २०२१ साल चैत २७ गते रोज ५ को मुहुर्तमा साविक गरामनी गा.वि.स. वडा नं. ४ अन्तर्गत आशिकराम बाडीमा श्री सार्वजनिक पाठशाला नामबाट विद्यालय स्थापना भयो । त्यसबेला विद्यालय सञ्चालकमा अध्यक्ष उप्रेतीसहित सचिव चेतनाथ सुवेदी, सदस्य सचिव दयाराम उप्रेती, कोषाध्यक्ष शुकरचरन राजबंशी, सदस्यहरु गंगाप्रसाद घिमिरे, सूर्यप्रसाद पाण्डे, रतिलाल राजवंशी, साञ्जुलाल राजवंशी र प्रेमलाल राजवंशी रहेका थिए । सल्लाहकारमा रामबाबु प्रसाई र आशिकराम राजवंशी रहेको अभिलेखमा पाइन्छ ।

देशका लागि प्राण अर्पण गर्ने शहीद शुक्रराज शास्त्रीको स्मरणका रुपमा २०२९ फागुन ७ गते श्री शुक्रराज प्राथमिक विद्यालय नामकरण भएको हो । विद्यालयका लागि आशिकराम राजवंशी र रामबाबु प्रसाईले केही जग्गादान गरेका र जयप्रतापजंग थापाले १० कट्ठा जग्गा दान गरेका छन् । तर, थापाले दान गरेको १० कट्ठा जमिन चाहिँ गरामनी देवी गुठीको नाममा रहेको व्यहोरा यस विद्यालयको शैक्षिक सौगात (स्मारिका)मा ज्ञानबहादुर कार्कीको लेखमा उल्लेख भएको देखिन्छ । हाल गरामनी देवी गुठीको नाममा रहेको जग्गामा विद्यालय सञ्चालन भइरहेको छ ।

बाँसको खाँबाखुट्टी र सन्ठीको बेराबाराको छाप्रोबाट शुरु भएको विद्यालयका संस्थापक प्रधानअध्यापक दयाराम उप्रेती र सहायक शिक्षकको रुपमा भास्कर पौडेल रहेका थिए । आशिकरामबाडी, हरचनाको यात्रा तय गर्दै हालको स्थानमा सुन्दर भवन र व्यवस्थित कक्षाकोठाहरुमा स्तरीय पठनपाठनका साथ विद्यालय सञ्चालन भइरहेको छ । शुरुमा कक्षा ५ सम्म, २०५२/०५३ मा कक्षा ७ सम्म हुँदै हाल कक्षा ८ सम्म दक्ष, अनुभवी एवम् तालिम प्राप्त शिक्षक–शिक्षिकाहरुबाट बालमैत्री, प्रबिधिमैत्री तथा अनुशासित वातावरणमा पठनपाठन भइरहेको छ ।

यस विद्यालय अरु विद्यालयका लागि एक सिकाइ केन्द्र मान्न सकिन्छ । किनकि, गरे के हँुदैन र ? भनाइ यस विद्यालयले साकार पारेको छ । त्यसैले अन्य सार्वजनिक मात्र होइन संस्थागत विद्यालय समेत यस विद्यालयमा अवलोकन भ्रमण गरेर धेरै कुरा सिक्न सक्छन् र आफ्ना विद्यालयलाई अब्बल बनाउन सक्छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here