मानवसेवामा कर्तव्य फाउण्डेशन

0
331

झापामा स्थापित कर्तव्य फाउण्डेशनले ‘हाम्रो पनि सुन्दर घर होस्’ अभियान अन्तर्गत एउटा अशक्त दम्पत्तिलाई घर निर्माण गरिदिएको छ । अभियानले अशक्त, वृद्धवृद्धा, एकल, असहाय, अल्पसंख्यक र सीमान्तकृत समुदायका घरविहीन परिवारको छनौट गरी दाताहरुको सहयोगमा घर निर्माण गरिदिने उद्देश्य लिएको छ । सामाजिक क्षेत्रमा क्रियाशील महेन्द्रकुमार गिरीको संयोजकत्वमा गठित फाउण्डेशनको समन्वयमा बिर्तामोडका मोहन पोखरेल र टीका पोखरेलको सहयोगमा सुस्त श्रवण भएका धर्मराज र दृष्टि क्षमता गुमाएकी राजकुमारी गिरी दम्पत्तिलाई घर हस्तान्तरण गरिएको छ । फाउण्डेशनको समन्वयमा दाता दाता परिवारले आफ्नै निरीक्षण र निगरानीमा पाँच लाख रुपैयाँको लागतमा घर निर्माण गरिदिएका थिए ।

आफ्नो कमाइको केही अंश परोपकारी तथा समाज उपयोगी कार्यमा खर्च गर्न हाम्रो संस्कारले नै सिकाएको छ । सक्नेले नसक्नेलाई, हुनेले नहुनेलाई, सक्षमले अक्षमलाई थोरैमात्र सहयोग गर्न सकिए त्यो नै मानव जीवनको सर्वोत्तम कार्य हुनेछ । हाम्रो समाजमा यस्ता धेरै अक्षम, अशक्त, असहाय व्यक्तिहरु छन्, जसलाई सेवामुखी हात र साथको खाँचो छ । त्यस्तै यस्ता मनकारीहरु पनि छन् जो सत्पात्र नपाएर उपकारी कार्यमा जोडिन पाएका छैनन् । फाउण्डेशन तिनै पात्रहरुको खोजी गरेर समन्वयकारी भूमिका निर्वाह गर्दै प्रत्येक मानिसमा सामाजिक उत्तरदायित्वको भावना जागृत गर्ने भूमिकामा रहन्छ । यसकै आधारमा अर्जुनधारा–५ फूलबारी निवासी अशक्त दम्पत्तिले सुरक्षित घर पाएका हुन् ।

मानिस मरणशील प्राणी हो । मरण प्रत्येक प्राणीको निश्चित छ । मानिस चेतनाका हिसाबले सर्वश्रेष्ठ हो । यही कारणले पनि पोखरेल दम्पत्तिकै जस्तो घरवारविहीन तथा अशक्त परिवारका लागि सुरक्षा प्रदान गर्ने मन र धनकारी व्यक्तिको खाँचो छ । समाजमा अझै त्यस्ता मानिसहरु छन् जो राज्यको नजरमा परेका छैनन् र पहुँचमा पनि छैनन् । त्यसमाथि गरिबी र अशिक्षाका कारण उनीहरु यथावस्थामा बाँच्न विवश छन् । तिनै व्यक्ति, समुदायको पहिचान गरी उनीहरुको घरबारविहीन अवस्था र कष्टपूर्ण जीवनलाई सहज तुल्याउने फाउण्डेशनको अभियान सार्थक र प्रशंसनीय छ । आशा र अपेक्षा गरौं समाज रुपान्तरणका लागि समेत यो अभियान दानशील र परोपकारी भावना भएकाहरुलाई जोड्ने र सबैलाई सुरक्षित छानामुनि राख्न सफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here