सुरुङ्गा । 
नेपाल सरकारले २०७९ सालको बैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेपछि झापाको कनकाई नगरपालिकामा विभिन्न पदमा उम्मेदवार बन्ने इच्छुकको संख्या बढ्दै गएको छ ।
दलका नेताहरू भित्री रूपमा आफ्नो पक्षमा माहोल बनाउने तयारीमा जुटेका छन् । मतदाता, कार्यकर्ता र सर्वसाधारण माझमा आगामी निर्वाचनका लागि विभिन्न दलका उम्मेदवारका बारेमा छलफल भइरहेको छ । कनकाई नगरमा आगामी चुनावमा नेकपा एमाले र नेपाली कांग्रेसवीच मुख्य प्रतिष्पर्धा हुने पक्का छ । सबै पक्षको सन्तुलन मिलाई सबैभन्दा बढी लोकप्रिय र निर्वाचनमा विजय हासिल गर्ने सम्भावना बोकेको व्यक्तिको नामको खोजीमा दुवै पार्टी लागिरहेका छन् ।
नेकामा नगर प्रमुखमा को को आकांक्षी ?
कनकाई नगरमा प्रमुख दलका रूपमा रहेका नेकपा (एमाले) र नेपाली कांग्रेसका नगरस्तरीय नेताहरू नगर प्रमुख र उपप्रमुख पदका उम्मेदवारका बारेमा खुलेर कुरा गर्न शुरु गरेका छन् । नेपाली कांग्रेसबाट नगर प्रमुखको उम्मेदवारमा अहिले ४ जनाको नामको चर्चा चुलिएको छ । गत २०७४ सालको चुनावमा नेपाली कांग्रेसका उम्मेदवार भई २ हजार २ सय १९ मतान्तरले उपविजेता बनेका एकराज उप्रेती पुनः मेयरको उम्मेदवारको दावी गरिरहेका छन् । पराजयको घाउ मेट्न उप्रेती उम्मेदवार बन्नुपर्ने धेरै कांग्रेसी कार्यकर्ताको आवाज पनि छ ।
विगत ३ वर्षमा कनकाई नगरवासीसँग नजिकको सम्बन्ध बनाएका निर्माण व्यवसायी समेत रहेका महाधिवेशन प्रतिनिधि शेरबहादुर थापा मेयरको उम्मेदवारको रूपमा आफूलाई प्रस्तुत गरिरहेका छन् । उनी घनिभूत रूपमा समर्थक, शुभेच्छुक र कार्यकर्ता तथा मतदाताका घरघरमा पुगिरहेका छन् । हाल वार्ड नं. ३ का वार्ड अध्यक्ष समेत रहेका लोकप्रिय र सहयोगी व्यक्तित्वका छबि बनाएका रूद्रप्रसाद चिमरिया अन्तिम पटकका लागि जनप्रतिनिधि बन्न लालायित देखिएका छन् ।
चिमरियालाई उम्मेदवार बनाउने हो भने नेपाली कांग्रेसको जीत सुनिश्चित हुने धेरैको अनुमान छ । उनी विगतमा पनि पटक पटक जनप्रतिनिधि भइसकेका छन् । टिकट पाउने सम्भावना आँकलन गरेर चिमरिया निरन्तर मतदाताको सम्पर्कमा पुग्ने र आफ्नो स्थितिको मूल्याङ्कन गर्ने काम गरिरहेका छन् । चुनाव प्रचारप्रसार र मतदातालाई प्रभावित गर्न कनकाई नगरमै चिमरिया खप्पिस मानिन्छन् ।
नेपाली कांग्रेसका तर्फबाट कनकाई–३ सुरुङ्गा निवासी टेकनारायण संग्रौला समेत कनकाई नगरपालिकाको मेयरको आकांक्षी रहेको बताउँछन् । पार्टीको पूर्व जिल्ला सदस्य समेत रहेका संग्रौला क्याम्पस स्तरको विद्यार्थी राजनीतिदेखि नै सक्रिय राजनीतिमा रहेका छन् । पञ्चायत विरोधी आन्दोलनका क्रममा १४ वर्षको उमेरमै २०३९ सालमा जेल जीवन बिताएका संग्रौला त्यसपछिको राजनीतिक यात्रामा नेपाली कांग्रेसको हरेक गतिविधिमा सक्रिय हुँदै आएका छन् ।
पछिल्लो समय स्थानीय सरकारका रूपमा रहेको कनकाई नगरपालिकाको नेतृत्वले जनताको पक्षमा उल्लेखनीय काम गर्न नसकेको संग्रौलाको आरोप छ । मेयर मात्र नभएर नेकपा एमालेले जनअपेक्षा अनुरूप काम गर्नका लागि आफ्नो दलबाट निर्वाचित मेयरलाई सहयोग गर्न र बाटो देखाउन नसकेकाले यस पटक नेपाली कांग्रेसले नेतृत्व गर्नुपर्ने र आफू नगरप्रमुखमा आकांक्षी रहेको संग्रौला बताउँछन् । संग्रौला भन्छन्, ‘समृद्धिको प्रचुर सम्भावना बोकेको कनकाई नगर क्षेत्रमा एमालेको नेतृत्व असफल भयो ।’
नेता संग्रौलाले कनकाई नगरवासीले अब एक पटक कांग्रेसको नेतृत्व चाहेको बताए । संग्रौलाले राजनीतिका साथ स्थानीय स्तरका विभिन्न शैक्षिक तथा सामाजिक क्षेत्रमा सफल नेतृत्व दिइसकेका छन् । उनले कनकाई मावि सुरुङ्गाका विद्यालय व्यवस्थापन समिति, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा, ज्ञानज्योति युवा क्लब लगायतका संघसंस्थामा काम गरिसकेका छन् । संग्रौला नगरवासीको चाहना अनुरूप आफूले उम्मेद्वार बन्ने इच्छा राखेको र पार्टीबाट आफ्नो उम्मेद्वारीको निर्णय भएको खण्डमा पार्टीले दिएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने संग्रौलाले बताए ।
तपाईलाई पार्टीले टिकट दिन्छ भनी सोधेको प्रश्नमा उनी भन्छन्, ‘प्रजातान्त्रिक पद्धतिमा कुनै पनि कुरा निर्विकल्प हुँदैन । म संस्तो प्रचारवाजीलाई राजनीतिको आधार बनाउन उचित मान्दिन । तसर्थ सबै पक्षको विचार गरेर जनताको अपार समर्थन, विश्वास र भरोसाका साथ माथिल्लो नेतृत्वको आशीर्वाद पनि आफूलाई प्राप्त हुनेमा विश्वस्त छु ।’
कांग्रेसबाट उपप्रमुखमा ककस्को दावी ?
उपप्रमुखमा नेपाली कांग्रेसमा आशा शर्मा शिवाकोटी, कविता बस्नेत र धनमाया चिमरियाको नाम बढी चर्चामा छ । लामो समय शिक्षण पेसामा रहेकी शिवाकोटी कांग्रेसी वृत्तमा बौद्धिक, शालीन र मृदुभाषी नेतृको रूपमा परिचित छन् । बस्नेत र चिमरिया महाधिवेशन प्रतिनिधि हुन् ।
दुवै नेतृ सबैजसो मरिमराउ, पुजापुराण र सामाजिक कार्यहरूमा पुगेकै हुन्छन् र सर्वसाधारणसँग घुलमिल हुने गर्छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा निकटतम प्रतिष्पर्धी रहेकी बस्नेतले ६ हजार ५ सय ७९ मत ल्याई उपविजेता बनेकी थिइन् भने विजेता एमालेकी मञ्जु प्रसाईले ८ हजार ५ सय ७६ मत ल्याएकी थिइन् ।

























