विन्ध्यावासिनीमा नवाह यज्ञ सप्तसती चण्डी पाठ महायज्ञ हुने

0
607

अर्जुनधारा ।

राम नवमी तथा नयाँ वर्षको अवसरमा झापाको अर्जुनधारा–४ भाङबारीस्थित विन्ध्यावासिनी सिंहदेवी मन्दिरमा यही चैत १९ गतेदेखि नवाह यज्ञ सप्तसती चण्डी पाठ महायज्ञ हुने भएको छ ।

पाँचौं धार्मिक अनुष्ठानकोरुपमा हुन लागेको उक्त महायज्ञको विषयमा बुधबार आयोजित पत्रकार भेटघाटमा बताइएको हो ।

सोही महायज्ञको अवसरमा प्रमुख वाचक आचार्य आशुतोष खनाल र उपवाचक किरण चापागाईंबाट रामचरित्रा मानसको संगीतमय राम कथा वाचन हुने विन्ध्यावासिनी सिंहदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज जोशीले जानकारी दिए ।

महायज्ञ सम्पन्न गर्न अध्यक्ष जोशीको संयोजकत्वमा मूल आयोजक समारोह समिति र आर्थिक, प्रचारप्रसार, खाद्यान्न, पूजा सामग्री, अतिथि सत्कार, सुरक्षा, स्वमंसेवकलगायतका उपसमितिहरु गठन गरिएको समितिका सचिव प्रेमबहादुर कार्कीले जानकारी दिए । ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको महायज्ञको अनुमानित खर्च सात लाख रुपैयाँ हुने बताइएको छ ।

समितिले आगामी दिनमा राधाकृष्ण मन्दिर निर्माण, योगमायादेवीको मूर्ति स्थापना, यज्ञशाला निर्माण, अक्षयकोषको निरन्तरता, भूमिदानको निरन्तरता, मन्दिर क्षेत्र नजिक रहेको सिमसारको व्यवस्थापनलगायतका कार्यहरु सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

समितिका अध्यक्ष जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमाले वडा कमिटीका इञ्चार्ज एकदेव खनाल, नेपाली काँग्रेस वडा सभापति खेम काफ्लेलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव कार्कीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here