भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

0
667

नेपालगञ्ज, 

सुदूरपश्चिम र मध्यश्चिम क्षेत्रका १९ जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी आयोजना गरिएको ‘भूपू सैनिक सम्मेलन’ सम्पन्न भएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ यही चैत ९ गते दिपायलबाट सुरु भएको थियो । प्रत्येक प्रधानसेनापतिले आफ्नो तीन वर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ एकैसाथ गर्दै आएका छन् ।

प्रधानसेनापति शर्माले हिताधिकारीको जीवनस्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार एवं सेवा र सहुलियतका विभिन्न कार्यक्रम अघि बढिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कल्याणकारीका थप कार्यक्रम बढ्दै जानेछन्, तपाईहरु पनि जिम्मेवार, जागरुक र उद्यमशील हुनुपर्छ, परिश्रम गरे फल पाइन्छ, स्वदेशी माटोको गन्ध नै मीठो छ, आर्जित अनुभव र क्षमता यही माटोमा पोख्न उपयुक्त हुन्छ, समाजमा तपाईहरु सफल र समृद्ध बनेर स्थापित भएको हामी हेर्न चाहन्छौँ ।”

नेपालगञ्जस्थित चार नम्बर बाहिनी अड्डास्थित इमामनगर व्यारेकमा आज भएको सम्मेलनमा बाँके र बर्दियाका भूपू सैनिक, एकल महिला र आश्रित परिवार सहभागी थिए । यसअघि धनगढीस्थित भवानी दल गणमा चैत १० र सुर्खेतस्थित पश्चिम कमाण्डमा चैत २० गते सम्पन्न भयो । सम्मेलनका क्रममा भूपू सैनिक, एकल महिला तथा आश्रित परिवारलाई स्वास्थ्य उपचार सेवा एवं लघुवित्त कार्यक्रमका ऋणीलाई सहुलियत दरमा उपलब्ध गराइने रकमको चेक हस्तान्तरण गरिएको थियो ।

बलाधिकृत रथी बालकृष्ण कार्कीले भूपू सैनिकको जीवनस्तर उकास्ने कल्याणकारी कार्यमार्फत भइरहेका विभिन्न प्रयास र गतिविधिबारे जानकारी दिनुभयो । ज्येष्ठ भूपू सैनिक र एकलको सम्मान तथा अशक्तलाई सम्मेलनमा ह्विल चियर प्रदान गरिएको थियो । भूतपूर्व सैनिक र तिनका आश्रित परिवारको कल्याणका खातिर स्थापित सैनिक कल्याणकारी कोष बहुआयामिक र अधिकतम उपयोग आयमूलक कार्यमार्फत हिताधिकारीको जीवनस्तर उकास्ने प्रयासमा छ ।

सेनासँगको सहकार्यमा नेपाल इन्भेष्टमेन्ट बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत लघुवित्त कार्यक्रममार्फत सहुलियत व्याजदरमा भूपू सैनिकलाई कर्जा उपलब्ध गराउँदै आएको छ । सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले सेनाप्रतिको समर्पण र भरोसा भन्ने मूल नाराका साथ आयोजना गरिएको सम्मेलन भूपू सैनिकको सर्वपक्षीय सम्मुन्नति र प्रगतिमा केन्द्रित रहेको बताउनुभयो ।

नेपालगञ्ज सम्मेलनमा स्थानीय मुश्लिम समुदायका वेषभूषा भल्कने झाँकीसमेत प्रस्तुत गरिएको थियो । सम्मेलनमा करिब दुई हजार ५०० भन्दा बढी भूपू, एकल महिला र आश्रित परिवार सहभागी थिए । भूपू सैनिक र आश्रित परिवारका पीरमर्का सुन्ने, रायसुझाव लिने र विशेषज्ञसहितको स्वास्थ्य सेवा घरदैलोबाटै दिने उद्देश्यले पश्चिम कमाण्ड मातहतका १९ जिल्लामा बसोबास गर्ने आठ हजार हिताधिकारीलाई लक्षित गरी यस पटकको सम्मेलन आयोजना गरिएको थियो । सेनाले स्वास्थ्य, शिक्षा, सीपमूलक र स्वरोजगारका कार्यक्रम पु¥याएर भूपू सैनिकको सामाजिक प्रतिष्ठा र आत्मसम्मान बढाउन कोशिस गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here