जसले बिर्तामोडमा विकासको केही शुरुवात गरे

0
519

झापा, यतिबेला स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौटसँगै को योग्य भनेर आकांक्षीहरु परीक्षाको घडीमा छन् । विगतमा अवसर पाउने जनप्रतिनिधिहरुले आफ्नो कार्यकालमा के–कस्ता महत्वपूर्ण काम गरे भन्ने मूल्यांकन र बहस पनि हुन थालेका छन् । यसैक्रममा तत्कालीन अनारमनी गाविसका अध्यक्ष हर्कलाल गिरीले आफ्नो कार्यकालमा गरेका गतिविधिलाई समेटेर तयार परिएको यो सामग्री ।

‘बिर्तामोडलाई समृद्ध बनाउने भिजन छ’

२०२७ सालमा अनारमनी गाविस वडा नं. ४ को वडाध्यक्ष हुँदै जनप्रतिनिधिको भूमिका निर्वाह गर्दै आएका बिर्तामोड निवासी हर्कलाल गिरीले समृद्ध बिर्तामोड निर्माणका लागि यसअघि थुप्रै काम गरेको पाइएको छ । २००४ सालमा जन्मिएका गिरीले बिद्यार्थी जीवनबाटै जनसेवामा समर्पित हुँदै पञ्चायतकालमै वडाध्यक्षको भूमिका निर्वाह गर्दै थुप्रै विकास निर्माणका काम गर्न भ्याए । उनको अगुवाइमा भएका कतिपय कामले पूर्णता पाए भने कतिपय काम अझै अधुरै छन् ।
अनारमनी गाउँ पञ्चायतको प्रधानपञ्च हुँदा र अनारमनी गाविसको अध्यक्ष रहँदा गिरीले समृद्ध बिर्तामोड निर्माणको रोडम्याप बनाएका थिए । जुन अहिले पनि उनको हातमा ड्राफ जस्ताको तस्तै छ ।
छाटो समयमा धेरै काम गर्न सकिने उदाहरण प्रस्तुत गरेका गिरीको अगुवाइमा सडक निर्माणदेखि बिर्तामोडलाई पूर्वकै प्रमुख व्यापारिक केन्द्रको ‘हव’ बनाउन थालिएको पहल सबैका लागि उदाहरणीय र नमूनायोग्य छ । २०४० सालमा अनारमनी गाउँ पञ्चायतको प्रधानपञ्च बनेका उनी जनमत संग्रहपछि २०४९ सालमा अनारमनी गाविसको अध्यक्ष भए । त्यसताका पनि उनले बिर्तामोडको विकासका लागि थुप्रै काम गरेका छन् । २०४० सालमा प्रधानपञ्च हुँदा सैनिकमोड–गोलधाप जोड्ने सडक निर्माणको काम अघि बढाएका उनले विराटपोखरको जीर्णोद्धार गर्दै विराटपोखरलाई धार्मिक तथा पर्यटकीयस्थलको रुपमा विकास गरेर लाने अवधारणा अघि सारे ।


बिर्तामोडमा कृषि उपज बजार बसाल्न अहम् भूमिका खेलेका उनले बिर्ता बजारमा समेत बजार विस्तारका लागि टहरा निर्माणको काम अघि बढाएका थिए । जुन गाविसका लागि त्यसबेला दिगो र भरपर्दाे आयश्रोतको माध्यम बन्यो । बिर्तामोडका सामाजिक व्यक्तित्व रामबावु प्रसाई (खनुपरुदे) संग निःशुल्क एक विगाह तीन कठ्ठा जमिन लिएर बिर्तामोडको कृषिथोक बजारको जग बसाल्न उनले खेलेको भूमिका आज पनि उत्तिकै महत्वपूर्ण छ । जतिबेला उनले त्यस ठाउँमा ६० वटा टहरा निर्माण गर्दै अनारमनीको आयस्रोतको बाटो बनाएका थिए भने बिर्ता बजारमा ४२ वटा टहरा निर्माणको काम सम्पन्न गर्दै गिरीले अनारमनी गाविसको दिगो आयश्रोतको बाटो बनाउन सफल भएका थिए ।

उनको अगुवाईमा बिर्तामोड–गरामनी जोड्ने बैकल्पिक मार्ग तयार गरियो । जसलाई आज पनि हर्कलाल मार्ग भनेर चिनिन्छ । बिर्तामोडमा उनकै अगुवाइमा रिङ रोडको अवधारणा अघि बढ्यो । अनारमनी गाविस अध्यक्ष रहँदै २०५२ सालमा हर्कलाल मार्ग निर्माण गर्दा उनको जीवनमा केही व्यवधान आए पनि त्यसलाई जनसमर्थनबाट सहजै निकास दिएर उनी बिर्तामोडको विकासका लागि निरन्तर अघि बढे । उनकै परिकल्पनामा अघि बढाइएका बिर्तामोडका धेरै बाटा ‘रिङ रोड’ का रुपमा विकसित भएर गए ।

बिर्तामोडको ७, ८ र ९ नं. वडालाई कृषि पकेटको अवधारणा अघि बढाएका उनले अहिले पनि सोही अवधारणा अनुसार काम गर्ने हो भने समृद्ध बिर्तामोडमा निर्माणमा कुनै बाधा नरहने बताउँछन् । बिर्तामोडको विकासका लागि अनारमनीको प्रधानपञ्च रहँदै सडकको रोडम्याप बनाएका उनले जनमत संग्रहपछि भएको निर्वाचनबाट अनारमनी गाउँ विकास समितिको अध्यक्ष हुँदा समेत आफूले अघि सारेका पुराना योजनालाई मूर्त रुप दिन निरन्तर काम गरे । बिर्तामोडको बिकासका लागि सँधै सकारात्मक सोचिरहने गिरी अहिले पनि नगरप्रमुखको रुपमा गएर समृद्ध बिर्तामोड निर्माणका लागि फराकिलो सपना देखिरहेका छन् ।

एकपटक बिर्तामोड नगरको जिम्मेवारी सम्हाल्दै आफूले अघि सारेका अधुरा विकासका योजना पूरा गर्ने सोच बोकेका हर्कलाल अहिले गुमनाम झैं बने पनि बिर्तामोडको विकासका थुप्रै योजना बुनिरहेका छन् ।
गिरीजाप्रसाद कोइरालाका विश्वास पात्र मानिने उनी अहिले पनि पार्टीले टिकट दिएको खण्डमा बिर्तामोडको नेतृत्व सम्हाल्न तयार रहेको बताउँछन् । अहिलेदेखि नै बिर्तामोडलाई समृद्ध महानगरको कल्पना गर्दै अघि बढ्नु पर्ने सोच बोकेका गिरी बिर्तामोडमा छुट्टै कृषि पकेट, औद्योगिक क्षेत्र, शिक्षा र स्वास्थ्यको छुट्टै क्लष्टर बनाएर नागरिकका आधारभूत आवश्यकता पूरा गर्न स्थानीय सरकार अग्रसर हुनुपर्ने धारणा राख्छन् ।

बिद्यार्थी जीवनबाट राजनीतिसँगै सामाजिक काममा होमिएका उनी लामो समयसम्म नागरिककै सेवामा सर्मपित भएर काम गरे । जनसेवामा समर्पित हुँदाहुँदै पनि उनले झापा घरेलु उद्योग संघको अध्यक्ष, पूर्वाञ्चल ढुवानी संघ चालक भलाइ कोषका अध्यक्ष, कृषि बजारको संस्थापक, बिर्तामोड नगर विकासको अध्यक्षको भूमिका निर्वाह गर्न भ्याए । शिक्षा क्षेत्रको विकासका लागि समेत मरिमेट्ने  गिरी अनारमनी पब्लिक क्याम्पस स्थापनामा समेत उत्तिकै सक्रिय भएर काम गर्न सफल भए । पछिल्लो समय उनी बिराट–भरत–विश्रान्ति निर्माणमा लागीपरेका छन् ।

उनले विराटपोखरमा ११ करोड रुपैयाँको लागतमा विराट–भरत–विश्रान्तिको काम अघि बढाएका छन् । बिर्तामोड निवासी गिरीराजकुमारी प्रसाईंले निःशुल्क उपलब्ध गराएको दुई बिगाह १६ धुर जमिनमा अहिले विराट भरत विश्रान्तिका लागि भवन निर्माण भइरहेका छन् । जहाँ बृद्धबृद्धालाई आवाससहितको बिश्राम गर्ने थलो निर्माण गरिने छ । बिर्तामोडमा खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि समेत उनले उल्लेख्य भूमिका निर्वाह गरेका छन् । गिरीकै अगुवाइमा प्रसाईं परिवारसँग समन्वय गर्दै आफ्ना सहयोगीका साथमा खानेपानीको जग बसालियो । त्यसताका आफूलाई सहयोग गर्ने मध्ये गोपालकुमार बस्नेत, राजकुमार पोखरेललाई उनी बारम्वार सम्झिरहन्छन् ।

सबै नागरिकलाई निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्थ र सबै नागरिकलाई आत्मनिर्भर बनाउन श्रम र सिपसंग जोड्ने परिकल्पना गरिरहने गिरी समृद्ध बिर्तामोड निर्माणमा योजना अनुसार अघि बढे कुनै समस्या नरहने बताउँछन् । बिर्तामोडलाई समृद्ध बनाउने भिजन आफूसँग रहेको बताउने गिरी अवसर पाए बिर्तामोडको नेतृत्व समेत सम्हाल्न तयार रहेको बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here