चैतशुक्ल राम नवमी

0
567

अयोध्या नरेश दशरथका तीन वटी रानीहरु कौशल्या, कैकेयी र सुमित्रा भए पनि धेरैकालसम्म सन्तान सुख प्राप्त नहुँदा गुरु ब्रम्हर्षि वाशिष्ठसँग सल्लाह मागेर उनकै सल्लाह अनुसार पुत्रकामेष्टी यज्ञ सम्पन्न गराएका थिए । यज्ञबाट प्राप्त खीर रानीहरुलाई खुवाएपछि सबै गर्भवती भए भन्ने भनाइ छ । त्यसै अनुसार चैत्रशुक्ल नवमी अर्थात् आजकै दिन भगवान श्रीराम यस धराधाममा जेठी रानी कौशल्याको कोखबाट पदार्पण हुनुभएको महान र महत्वपूर्ण दिन मानिन्छ । भगवान श्रीरामलाई धार्मिक तथा पौराणीक मतानुसार ब्रम्हाजीले गरेको सृष्टिका पालनकर्ता भगवान श्रीविष्णुका सातौं अवतारका रुपमा पनि मानिन्छन् ।

यो पावन दिनको महत्वलाई हृदयङ्गम गर्दै, सम्मान गर्दै नेपाल अधिराज्यभरिका राममन्दिर, कृष्णमन्दिर र अन्य देवस्थलहरुमा श्रद्धालु भक्तजनहरुको ठूलो भीड लाग्ने गर्दछ । बिहानै ब्रम्हमुहुर्तमै नुहाई–धुवाई सकेर पूजाआजा गर्ने श्रद्धालु भक्तजनहरु ठाउँ–ठाउँमा भजनकीर्तन गर्दै, खुशीयाली मनाउँदै गर्ने कारणले घुइँचो भइरहेको हुन्छ । धार्मिक संघ–सस्ंथाहरुद्वारा रामलीलाको प्रदर्शन, झाँकी प्रदर्शन, आध्यात्मिक प्रवचन आदि कार्यक्रमहरु प्रस्तुत भइरहेका हुन्छन् । जनकपुर अञ्चल धनुषा जिल्लाको जनकपुर धाममा रहेको दर्शनीय र प्रसिद्ध राम मन्दिर र जानकी मन्दिरमा यो पावन दिन राम नवमीका दिन सबैभन्दा ठूलो मेला लाग्ने पनि गर्दछ ।

मर्यादा पुरुषोत्तम भगवान रामको जन्मदिन आज राम नवमी, असत्य र अन्धकार माथि सत्य अनि मर्यादाको उज्यालोको बिजयको प्रतिकका रुपमा हेरिन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुले आजको दिन श्रद्धा, भक्ति अनि आराधनाका माहौलबीच नेपाल, भारत, बङ्गलादेश, म्यान्मार, थाइल्याण्ड, श्रीलङ्का, फिजीटापू, साउथ अफ्रिका अनि इण्डोनेसिया लगायतमा पनि माता सीता र मर्यादा पुरुषोत्तम भगवान रामको चरण–कमलमा साष्टाङ्ग दण्डवत अर्पण गर्दै हर्षाेल्लासका रुपमा खुशीयाली मनाउँने गर्दछन् । आराधनामूलक, रोमाञ्चक र वीरगाथाका घटनाक्रमहरु मिश्रित भजनहरु अनि अनकौं विचित्र र बलवान पात्रहरुको उपस्थितिको व्याख्यानले रामायणको समग्र प्रस्तुतिलाई एउटा महानग्रन्थ निर्माणमा सहयोग पु¥याएको छ ।

भगवान श्रीराम अनि सीतामाताको बारेमा तुलसीदासले ‘राम चरित्र मानस’लाई अवधि भाषामा मिठो छन्द र शब्दावली दिएर समेटेका छन् । यसै राम चरित्र मानसका अवधि श्लोकहरुका आधारमा नेपालको तराई लगायत भारतका विभिन्न ठाउँहरुमा रामलिला अनि त्यहाँ रहेका श्लोकहरुको मिठास पूर्ण लय अनि माधुर्यतामा रामसीताका कथामा आधारित नाटकहरु मञ्चन भइरहेका देखिन्छन् । हिन्दूधर्ममा आस्थावान जो कोही पनि रामनवमीका दिन सबेरै नुहाइ–धुवाइ सकेर शुद्ध भई राम मन्दिरहरुमा पूजा–आराधना गर्दछन् । रामनवमीका दिन राजधानीको बत्तिसपुतली, ललितपुर, भक्तपुर र झापाका राम मन्दिरहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ । रामनवमीमा जनकपुरस्थित रामजानकी मन्दिरमा छिमेकी मुलुक भारतबाट समेत हजारौं श्रद्धालु भक्तजन सहभागी भई पवित्र गङ्गासागरमा स्नानगरी रामजानकी मन्दिरमा पूजा–आजा गर्दछन् । आज देशभरका नदी, ताल एवम् कुण्डहरुमा सबेरै स्नान गरी चोखोनीतो गरी व्रत बसेर रामगीता, रामायण वाचन गरिन्छ भजनकिर्तन गर्दै रातभर जाग्राम बस्ने चलन पनि छ ।

मर्यादा पुरुषोत्तम भगवान रामलाई वैदिक सनातन हिन्दू धर्मसस्ंकृतिमा सबैभन्दा बढी पुजिने भगवानका रुपमा लिइन्छ । यसलाई विभिन्न तरिकाबाट पुष्टि गर्न सकिन्छ, जसमध्ये एउटा महत्वपूर्ण कारणमा बिहान सबेरै अयोध्याका युवराज श्रीरामको राज्यभिषेक गरिने र राजगद्दी अर्पणको तयारीमा व्यवस्थापन अघि बढिरहेकै थियो । अचानक भाइ भरतकी माता कैकेयीले छलछाम गरी, परिवन्धमा पारेर रामलाई १४ बर्ष वनवास पठाउने निर्णय सुनाउन राजा दशरथलाई बाध्य बनाउन सफल भएकी थिइन् । विचित्रको संयोग आइपरेको अवस्था थियो, तापनि सहजरुपमा मुस्कुराउँदै पिताको आज्ञा भन्दै वनवास जान तैयार भएका थिए, भगवान श्रीराम । यस्तै धेरै कारणहरुले उनलाई ‘मर्यादा पुरुषोत्तम राम’को नामबाट प्रख्यात बनाएको छ ।

भाइ भरतकी माता कैकेयीले राजा दशरथलाई छलछामबाट परिबन्धमा पारेर रामलाई १४ बर्ष वनवास पठाउने निर्णय गराएकी भए पनि उनै माता कैकेयी तर्पmका छोरा भाइ भरतले वनमै पुगेर रामले लगाइरहेको खराउल्याई सिंहासनमा राखेर राज्यशासन गरेको भन्ने सुन्दा अचम्भ लाग्छ, भातृ प्रेमको अनुकरणीय नमूना तथा उदाहरण । रामका भाइहरु भरत, लक्ष्मण र शत्रुधन तीनै जना भाइहरु भगवान श्रीरामका कट्टर अनुयायी र परमभक्त भएकाले अत्यन्त श्रद्धा र भक्तिभावका दृष्टिबाट हेर्ने गरेको दृष्टान्तहरु पाइन्छन् ।

बैकुण्ठाधीपति भगवान श्रीविष्णुका सातौं अवतारका रुप श्रीरामले रावण रुपी दानवीय प्रवृत्ति र असत्यको प्रतिरुप रावणको दूराचार र अन्यायमा विजय प्राप्त गरेका थिए । भगवान श्रीराम अनि रावणको सन्दर्भलाई खोतल्दा दक्षिणी भारततर्पm श्रीलङ्का, माल्दिभ्सतिर रावणलाई पनि श्रद्धापूर्वक पूजा गर्ने चलन रहेको अद्यावधि सुनिन्छ । रावण अत्यन्त ज्ञानी भएको बिषय उनका क्रियाकलाप र भनाइहरुबाट पुष्टि हुने गर्दछ । अत्यन्त ज्ञानी भए पनि पछिल्ला दिन परस्त्रीमा कुदृष्टिपूर्ण नजर लगाउने अधर्मी र कुकर्मी कारणबाट नै उनको अन्त्य निश्चित बन्न गयो । यसैकारण अत्याचारी रावणको वध गरी जनतालाई सुख–शान्ति प्रत्याभूत गराएका कारण भगवान श्रीरामलाई युगपुत्रका रुपमा पनि पुज्ने गरिएको देखिन्छ ।

अयोध्याका राजा दशरथका जेठा छोराका रुपमा जन्मलिएका रामको मिथिला नरेश तथा राजा जनककी छोरी सीतासँग विवाह भएको थियो । हिन्दू सनातन धर्मका अनुयायी तथा भक्तहरु राम, कृष्ण, हनुमान लगायतलाई केवल हिन्दूका सम्पत्तीका रुपमा मात्र व्याख्या नगरी भागवत गीतारुपी सागरदेखि पुराणहरुको अध्ययन र श्रवणले हिन्दूधर्मलाई धर्मभन्दा पनि जीवन जीउनेशैली र कलाको रुपबाट व्याख्या गर्न थालिएको छ । धर्म, सत्मार्ग, अनि मानवताको कल्याणलाई प्रकृति प्रेमसँग सनातन धर्मले नै व्याख्या गरेको पाइन्छ । यसैकारण पनि यस लोकमा भगवान श्रीरामको आगमनलाई आज हजारौं बर्ष पछिसम्म पनि उत्तिकै उत्साह, श्रद्धा र खुशीयालीका रुपमा मनाउने गरिएको पाइन्छ ।

वाल्मिकी रामायणमा ज्योतिर्विद्यालाई महत्व दिँदै उल्लेख गरे अनुसार सफलताको सूचकका रुपमा भगवान श्रीरामको जन्मकालमा पाँच वटा ग्रहहरु उच्च स्थानमा रहेका थिए, भनिएको छ । यस्तै अनेकौं प्रकरणहरुले जनतामा छिटोछरितो न्याय प्रत्याभूत गराउने अनि परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने सबै मर्यादाको ख्याल गरी उदाहरणीय र अनुरणीय नीतिहरु सार्वजनिक गराएका कारण भगवान श्रीरामको राज्य (राम राज्य)ले अहिलेसम्म उहाँलाई मर्यादा पुरुषोत्तम रामबाट प्रसिद्ध गराएको छ । राम, उनको सत्यता अनि मर्यादित स्वभाव संसारमा सबैका लागि एउटा अनुकरणीय उदाहरण हो, सत्यको जीत, अनि सबैमा सत्य बोल्ने सामथ्र्य बृद्धि भइरहोस् । यिनै सत्यवक्ता, मर्यादा पुरुषोत्तम अनि ज्ञानी रघुकूलका शिरोमणि राम नामको कृपाले हामी सबैमा सत्मार्गरुपी ज्ञानको ढोका सदासर्वदा खुलिरहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here