झापा ।

नारी कल्याण समाज अर्जुनधाराले झापाको कचनकवल गाउँपालिकाका ९ वटा सामुदायिक विद्यालय र झापा गाउँपालिकाका ४ वटा सामुदायिक विद्यालयमा एक करोड ९० लाख बराबरको संरचनाहरु निर्माण गरी हस्तान्तरण गरेको छ ।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नारी कल्याण समाजको संयोजनमा उक्त संरचनाहरुको निर्माण सम्पन्न गरिएको अध्यक्ष प्रेमाकुमारी भट्टराईले बताएकी छन् । उनका अनुसार कचनकवल गाउँपालिका वडा नं. ५ पाठामारीको जानकी आधारभूत विद्यालयमा दुई कोठे पक्की भवन, महिनावारी तथा अपाङ्गमैत्री शौचालय, बालमैत्री खानेपानी धारा निर्माण गरी हस्तान्तरण गरिएको हो ।
यसैगरी, महेन्द्ररत्न मावि कचनकवल वडा नं. ४ केचना, लक्ष्मीप्रसाद देवकोटा मावि कचनकवल वडा नं. २ सुकुनाढिकी, बुद्ध मावि कचनकवल वडा नं. १ मा घेराबारी, जानकी मावि कचनकवल वडा नं. ७ बालुबाडी, जनता मावि कचनकवल वडा नं. ७ बालुबाडी, सरस्वती आधारभूत विद्यालय कचनकवल वडा नं. ३ दल्की, मोती मावि कचनकवल वडा नं. ३ डाँगीबारी र शिव मावि कचनकवल वडा नं. ७ फर्साडाँगीमा महिनावारी तथा अपाङ्गमैत्री शौचालय, बालमैत्री खानेपानी धारा निर्माण तथा मर्मत गरी हस्तान्तरण गरिएको हो ।

सोमबार जानकी आधारभूत विद्यालयमा आयोजित कार्यक्रमका बीच कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलमको प्रमुख आतिथ्यमा भवनको रिवन काटेर उद्घाटन गरिएको थियो । अन्य विद्यालयहरुलाई डमी चावी र प्रमाणपत्र नारी कल्याण समाज झापाको टिमले हस्तान्तरण गरेको थियो । कचनकवलका विद्यालयहरुको संरचना निर्माणमा एक करोड ३५ लाख रुपैयाँ खर्च भएको अध्यक्ष भट्टराईले जानकारी दिइन् ।
समाजका संस्थापक अध्यक्ष कमला उप्रेतीको अध्यक्षतामा सम्पन्न भवन हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख छबिलाल बस्नेत, शिक्षक सुभद्रा अधिकारी, सैपूmदिन आलम, गाउँपालिका प्रमुख आलम लगायतले आ–आफ्ना भनाई राखेका थिए । लाभान्बित विद्यालयहरुले समाजप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा रहेको बताउँदै दातालाई मायाको चिनो प्रदान गरेका थिए ।
यसैगरी झापा गाउँपालिकामा पनि नारी कल्याण समाज झापाले विशेष कार्यक्रमको आयोजना गरी ४ वटा विद्यालयमा निर्माण तथा मर्मत गरिएका संरचनाहरु हस्तान्तरण गरेको छ ।
झापा गाउँपालिकाको १० लाख रुपैयाँ तथा गुड नेवर्स इन्टरनेशनल नेपालको ५५ लाख रुपैयाँ आर्थिक सहयोगमा नारी कल्याण समाज झापाको संयोजनमा उक्त योजना सम्पन्न हो । कार्यक्रमका प्रमुख अतिथि झापा गाउँपालिकाका अध्यक्ष जयनारायाण साहले लाभान्वित विद्यालयहरुलाई डमी साँचो हस्तान्तरण गरेका हुन् ।

लाभान्वित हुने विद्यालयहरुमा वडा नं. २ मा रहेको कुवाडीदेवी माविमा दुई कोठे पक्की भवन, महिनावारी तथा अपाङ्गमैत्री शौचालय, बालमैत्री खानेपानी धारा निर्माण गरी हस्तान्तरण गरिएको छ । यस्तै महेन्द्र मावि वडा नं. ५ पन्थापाडामा महिनावारी तथा अपाङ्गमैत्री शौचालय, बालमैत्री खानेपानी धारा निर्माण, सिमलबाडी आधारभूत विद्यालय वडा नं. ३ सिमलबाडीमा बालमैत्री खानेपानी धारा निर्माण, सरस्वती आधारभूत विद्यालय वडा नं. १ लशुनगञ्जमा बालमैत्री खानेपानी धारा निर्माण गरी हस्तान्तरण भएको हो ।
मंगलबार कुवाडीदेवी माविमा आयोजित कार्यक्रमका बीच झापा गापाका अध्यक्ष जयनारायण यादवले भवनको उद्घाटन गरिदिएका हुन् भने अन्य विद्यालयहरुलाई डमी चावी र प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।
समाजका संस्थापक अध्यक्ष कमला उप्रेतीको अध्यक्षतामा सम्पन्न भवन हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवन ढकाल, शिक्षक मुकेशकुमार कर्ण, वीरेन्द्र गुप्ता, गाउँपालिका प्रमुख जयनारायाण साह लगायतले मन्तब्य राखेका थिए ।
लाभान्वित विद्यालयहरुले गुड नेभर्स इन्टरनेसनल नेपाल र समाजप्रति धन्यवाद ज्ञापन गर्दै समाजका कर्मचारीहरु बाबुराम पौडेल र बिकीकुमार झालाई सम्मान गरेका छन् ।






























