नोवेल शान्ति पुरस्कारमा को अगाडि ?

0
361

purwanchal

ओस्लो,  असोज २४ । विश्वको सबैभन्दा प्रतिष्ठित र ठूलो राशीको मानिने पुरस्कार नोवेल शान्ति पुरस्कार यस वर्षका लागि कसलाई दिइदैछ भन्ने विषयमा अझैसम्म पनि स्पष्ट भइसकेको छैन ।

पुरस्कारका लागि सबैभन्दा अगाडि देखिएका उम्मेदवारका बारेमा पनि स्पष्ट सङ्केत देखा परिनसकेको ओस्लोबाट प्राप्त समाचारमा जनाइएको छ ।

प्राप्त समाचारमा उक्त पुरस्कारको उम्मेदवारका रुपमा ट्युनिसियाका प्रजातान्त्रिक नेता, त्यहाँको एक मजदुर युनियन, पाकिस्तानी युवती मलाला युशुफजायी र पोप फ्रान्सिसको नाम अगाडि आएको छ ।

तर पनि उहाँहरुमध्ये पनि कसको सम्भावना बलियो छ भन्ने बारेमा भने केही पनि बताइएको छैन । उक्त पुरस्कारको घोषणा शुक्रबार ०९०० जिएमटीमा ओश्लोबाट घोषणा हुनेछ ।

नर्वेजियन नोवेल कमिटीले यसअघिका वर्षहरुजस्तै ०९०० जिएमटीमा नर्वेजिन नोवेल कमिटीका अध्यक्ष थोर्बजन जागलानले घोषणा गर्नुहुने कार्यक्रम रहेको उक्त कमिटीले जनाएको छ ।

यसपटक पनि उक्त पुरस्कारका लागि यसअघको भन्दा बढी २७८ जनाको नाम प्राप्त भएको र उनीहरुमध्येबाट नै छानिने बताइएको छ ।

अन्यको तुलनामा शान्तिका लागि दिइने यस पुरस्कारको छनौट प्रक्रिया निकै कठिन नै हुने गर्दछ । यसका लागि अन्तिम समयसम्म पनि व्यापक मात्रामा छलफल हुने गर्दछ ।

नर्वेको एक सार्वजनिक प्रशारण संस्था एनआरकेले प्रायः यस पुरस्कार प्राप्त गर्नेको नाम पहिला नै मिलाउने गरेको विगतको अनुभव रहेकोले यसवर्षपनि उसले सो नाम मिलाउन सक्ने अनुमान गरिएको छ ।

उसले सयपटक भने ट्युनिसियाली नेताको नाम अघि सारेको छ । त्यहाँको एक शक्तिशाली मजदुर युनियन युजिटीटीका नेताको सम्भावना बढी रहेको उक्त प्रशारण संस्थाले जनाएको छ ।

त्यस्तै त्यहाँका राष्ट्रपति मोन्सेफ मार्जुकीको पनि सम्भावना रहेको उक्त प्रशारण संस्थाको वेभसाइटमा लेखिएको छ । उक्त वेभसाइटमा भनिएको छ– यसपटक ट्युनिसियाले पाकिस्तानी बालिकालाई पछि पार्नसक्छ ।

त्यसैगरी अर्काे समाचारमा उसले रसियाली नेताको पनि सम्भावना बढी नै रहेको देखाएको छ । युक्रेनमा रसियाको नीतिको आलोचक रहेका रसियाली विपक्षी नेतालाई पनि यो पुरस्कार जानसक्ने सम्भावनाका बारेमा पनि उसले लेखेको छ ।

मलाला पाकिस्तानमा बाल शिक्षाको वकालत गर्ने बालअधिकारकर्मी हुन् । उनलाई सन् २०१२ मा पाकिस्तानी तालिवानले गोली हानेका थिए । पछि उनको बेलायतमा उपचार गरिएको थियो र हाल उनको अवस्था राम्रो रहेको छ ।

उनी गतवर्षपनि यो पुरस्कार पाउने सूचीको सर्वाधिक लोकप्रिय सूचीमा थिइन् । तर गतवर्ष उनलाई कम उमेर भएका कारण सो पुरस्कार दिइएको थिएन ।

पुनः यस पटकका लागि पनि उनको नाम आएको छ । तर यसैपटक पनि उनको उमेर नोवेल शान्तिजस्तो विश्वकै सबैभन्दा प्रतिष्ठित र सर्वाधिक राशीको पुरस्कार पाउने उमेर नभईसकेको भनी आलोचना भने गरिएकै छ ।

त्यसैले यसपटकको यो पुरस्कारको बारेमा पनि विवादहरु कायमै छन् । यस पटक पनि यो पुरस्कार विवादरहित भने नहुनसक्छ ।

गतहप्तादेखि नै नोवेल कमिटीले विभिन्न विधाका नोवेल पुरस्कारहरुको घोषणा गर्दै आएको छ । बिहीबारमात्र साहित्याका लागि यो पुरस्कारको घोषणा गरिएको छ ।

सो पुरस्कार फ्रान्सेली साहित्यकारलाई दिइएको छ । प्याट्रिक मोडियानोलाई यसवर्षको नोवेल साहित्य पुरस्कार दिइएको छ ।

यो समेतगरी फ्रान्स साहित्यमा सबैभन्दा धेरै पटक नोवेल पुरस्कार पाउने विश्वको पहिलो देश भएको छ । प्याट्रिकसमेतगरी फ्रान्सले १५ वटा नोवेल साहित्य पुरस्कार पाएको छ । रासस/एएफपी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here