युवा पुस्ता : निर्वाचनभन्दा रोजगारीको चिन्ता

८ बैशाख २०७९, बिहीबार मा प्रकाशित

देशमा गणतन्त्र आएपछि हरेक स्थानीय तहमा दोस्रो स्थानीय सरकार गठनका लागि सरकारले स्थानीय चुनावको मिति घोषणा गरिसकेको छ । आगामी बैशाख ३० हुने स्थानीय चुनाव सम्पन्न गर्न नेपाल सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरु तीव्र तयारीमा जुटेका छन् । यतिबेला देशका हरेक गाउँ अनि शहर निर्वाचनमय बनेको छ । राजनीतिक दलहरुलाई सिट अनि दलका नेताहरुलाई पार्टीको टिकटको लागि आन्तरिक सकस बढिरहेको छ । कार्यकर्ताहरुमा पनि आफ्नो नेतालाई जिताउने र पार्टीलाई शक्तिशाली बनाउने उत्साह देख्न सकिन्छ । प्रदेश र संघीय दुबै सरकारको निम्ति स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुनाले स्थानीय चुनावलाई सबै दलहरुले उच्च महत्वको साथ लिएका छन् । कतिपय राजनीतिक दलहरु गठबन्धन गरेर त कतिपय दलहरु एक्लै चुनाव लड्ने घोषणा समेत गरेका छन् ।

स्थानीय चुनावलाई मध्यनजर गर्दै राजनीतिक दलका नेताहरू आफ्नो पकड मजबुत तुल्याउन केही महिना अगाडिदेखि नै गाउँ–गाउँमा कसरत बढाएको पाइन्छ । तर, भुइँमान्छेलाई उनीहरुको घरदैलोमा नेताहरुको यो उपस्थिति र नेताहरुले दिने सुनौलो आश्वासनले उनीहरुको वास्तविक जीवनमा केही परिवर्तन ल्याएको छ वा छैन, यो एउटा महत्वपूर्ण प्रश्न हो ।

स्थानीय चुनाव मुखैमा रहेको बेला दुई साताअघि मात्रै हल्दिबारी गाउँपालिका वार्ड न. २ बस्ने ३४ वर्षीय अजय राजवंशी दुबई पुगेका छन् । उनी विगत सात वर्षदेखि दुबईमा काम गर्दै बसेका छन् । उनलाई स्थानीय चुनावबारे थाह नभएको पनि होइन, न त आफ्नो अमूल्य मत नदिने मन नै हो । तर, पनि नचाँहदा नचाँहदै फेरि उनी मरुभूमिमा आफ्नो श्रम बेच्न पुगेका छन् । आमा बिरामी भएको खबरले अचानक घर आएका अजय चुनावमा पनि भाग लिने उनको सोचाइ थियो । तर, उनी काम गर्ने कम्पनीले छुट्टी नथप्ने भएपछि उनी फेरि विदेश फर्कन बाध्य भए । उनी भन्छन्– ‘मैले अघिल्लो निर्वाचनमा पनि सहभागी हुने मौका पाएको थिइनँ, त्यसैले यसपाली जसरी पनि भोट दिने मन थियो तर त्यो पूरा भएन । हामी जति नै बाहिर बसे पनि एकदिन यही माटो र समाजमा फर्केर आउनै पर्छ । त्यसैले म जस्तो बाहिर बस्नेहरुको लागि पनि स्थानीय चुनाव महत्वपूर्ण छ ।’

भोट हाल्ने मन भएका तर विदेशी कम्पनीको छुट्टी नपाएका अजय भन्छन्– ‘वैदेशिक रोजगारीका लागि गएका नेपालीहरुले विदेशबाट नै भोट हाल्न पाएको भए म जस्ता कैयन नेपालीहरुले आफ्नो मताधिकार सदुपयोग गर्न पाउने थिए ।’ घरमा बुढी आमा, श्रीमती र आठ वर्षीया छोरीको जिम्मेवारी सम्हालेका अजयलाई विदेश जानुपर्ने बाध्यता त एकातिर छँदैछ भने अर्कोतिर सरकारसँग गुनासो गर्दै उनी भन्छन्– ‘हामीलाई कि त देशमा रोजगारी दिनुप¥यो होइन भने विदेशबाटै हामीले मतदानमा सहभागी हुने वातावरण मिलाइ दिनुप¥यो ।’ वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्स नेपालको आयको एउटा प्रमुख हिस्सा हो । तर, तिनै रेमिट्यान्स पठाउने नेपालीहरुले चुनावमा आफ्नो मताधिकार प्रयोग गर्नबाट वञ्चित हुनु बिडम्बना हो ।

हामी सबैले निर्वाचनको दिन पर्खिरहेका छौं, तर देशमा त्यो जमातको पनि छ जसलाई स्थानीय चुनाव ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भने झैं बनेको छ । निर्वाचन आउन अब २२ दिन मात्र बाँकी रहँदा, बिर्तामोड नगरपालिका वार्ड न. १० सैनिक बजार बस्ने २४ बर्षीय आशिष मुखिया पनि दिन गन्दै बसेका छन् । तर उनले भने चुनाव आउने दिन नभई आफ्नो भिसा आउने दिन गन्दै बसिरहेका छन् ।


१२ कक्षा उत्तीर्ण गरेका आशिष मुखिया चुनाव आफ्नो चासोको बिषय नभएको बताउँछन् । उनी अहिलेसम्म आफ्नो पढाईसँगै आफ्नो बुबाको होटलमा सघाउने गर्थे । श्रीमती अनि चार महिनाको आफ्नो दुई जुम्ल्याहा सन्तानको जिम्मेवारी आफ्नो काँधमा परेपछि रोजगारीको पिरले उनलाई मेनपावरसम्म पु¥यायो । कुबेत जान लागेका आशिष, अहिले भिसा झर्ने दिन कुरिरहेका छन् । राजनीति प्रति वितृष्णा व्यक्त गर्दै उनी भन्छन्– ‘चुनावले मेरो समस्या समाधान हुँदैन, न त पार्टीको पछाडि लागेर नै कुनै प्रगति हुन्छ । यदि राजनीतिले समस्या समाधान हुन्थ्यो भने सायद मैले मेरो जुम्ल्याहा नानीहरु छोडेर बाहिर जानुपर्ने थिएन ।’

नेपालमा योग्यता अनुसारको जागिर नपाइने भएकाले नेपाली युवाहरु रोजगारीको निम्ति विदेश नै जानुपरेको उनको बुझाइ छ । देशका नेताहरु प्रति व्यंग्य गर्दै आशिष भन्छन्– ‘जुनै जोगी आएनी कानै चिरेका, त्यसैले मतदान मेरो प्राथमिकतामा पर्दैन बरु श्रम गर्न तयार छु, रोजगारी मेरो पहिलो प्राथमिकता हो ।’ आशिष मुखियासँगै कुबेत जान भिसा पर्खेर बसेका अर्को युवा हुन् बिर्तामोड नगरपालिका वार्ड न. ३ बिर्ताबजार बस्ने २३ बर्षका अरुण माझी । बिहान कलेज जाने र दिउँसो टेम्पो कुदाएरै अरुणले १२ कक्षा उत्तीर्ण गरे ।

उनी भन्छन्– ‘बुबाको कमाईले खान लाउन समेत गाह्रो भएपछि मैले टेम्पो कुदाउन थाले ।’ भविष्यमा नायक बन्ने सपना बोकेका अरुणले धेरै डान्स प्रतियोगिताहरु जित्नुको साथै केही म्युजिक भिडियोहरुमा समेत काम गरिसकेका छन् । राजनीति प्रति खासै चासो नराख्ने उनी भन्छन्– ‘चुनाव आउँदैछ सुन्छु तर हाम्रो लागि जसले जिते पनि उस्तै हो ।’ आफ्नो जग्गा समेत नभएको अरुणको परिवार यतिबेला विद्यालयको जग्गामा बसोबास गर्दै आएका छन् । घरजग्गा जोड्ने अनि आफ्नै लगानीमा भिडियो तथा चलचित्र निर्माण गरी अभिनय गर्ने सपना बोकेर उनी वैदेशिक रोजगारीमा जान लागेका हुन् । आशिष मुखिया र अरुण माझी दुबै आफ्नो बाध्यताको अगाडि स्थानीय चुनाव महत्वपूर्ण नभएको निष्कर्षमा छन् ।

देशमा कतै चुनावको माहोलले तताएको छ त कतै वेरोजगारी र विदेश जानुपर्ने बाध्यताले सताएको छ । यस्तै पीडा भोगिरहेका छन् बिर्तामोड नगरपालिका वार्ड न. ३ निवासी २७ वर्षीय सन्देश माझी । स्थानीय चुनाव आउनै लाग्दा राजनीतिक दलका नेताहरु भोट माग्न गाउँ–गाउँमा पुग्दा उनी भने हातमा पासपोर्ट बोकेर राम्रो कामको खोजीमा मेनपावर धाइरहेका छन् । उनी भन्छन्– ‘पैसाको अभावमा दुई बर्षअघि बुवा सवारी दुर्घटनामा पर्नुभयो र त्यतिबेला खुट्टामा लगाएको स्टिल अझै निकाल्न सकिएको छैन । स्थानीय चुनाव आउँदैछ थाह छ । तर के गर्ने, शुरुमा नेताहरुले राम्रा राम्रा कुरा गर्छन् पछि चुनाव जितेपछि उनिहरु आफ्नो लयमा लाग्छन् अनि हाम्रो बिचल्ली ।’ आफ्नो परिवारको बाध्यता र पाँच महिने छोराको उज्ज्वल भविष्यको लागि उनी मेनपावरको ढोका ढकढक्याउन पुगेका छन् ।

यी युवाहरु त प्रतिनिधि पात्र मात्र हुन् । नेपालमा साक्षरता प्रतिशत बढेसँगै शैक्षिक वेरोजगारको संख्या पनि उल्लेख्य रुपमा बढेको छ । वैदेशिक रोजगारका लागि लाखौं क्षमतावान र सिर्जनशील युवाहरु आफ्नो श्रम पसिना विदेशमा बगाइरहेका छन् । स्थानीय चुनाव आउनै लाग्दा पनि वेरोजगारीको चपेटामा परि वैदेशिक रोजगारीमा जान लाग्नेको संख्या धेरै ठूलो छ । देशको राजनीतिक अवस्थाप्रति युवा वर्गको वितृष्णा हुनु र उनीहरुको स्थानीय चुनावमा सहभागिता नहुनु स्वयम् युवा वर्ग र मुलुक दुबैको लागि दुर्भाग्यपूर्ण छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here