निर्वाचन सुरक्षाका लागि खटियो नेपाली सेना

0
682

महेन्द्रनगर,

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सुरक्षाका लागि सरकारले सेना खटाउन स्वीकृती दिएसँगै कञ्चनपुरमा सेना सदरमुकाम महेन्द्रनगरबाहिर खटिन सुरु भएको छ ।

निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउनुका साथै निर्वाचनका बेला हुनसक्ने आपराधिक गतिविधि रोक्न सेना परिचालन सुरु भएको हो । कञ्चनपुरमा बुधबारदेखि यहाँको दोधारा चादँनी नगरपालिका र दक्षिण क्षेत्रमा पर्ने पुनर्वास नगरपालिकामा सैनिक अधिकृतको नेतृत्वमा सेना परिचालन भएको छ ।

यहाँस्थित श्रीदल गुल्मका गुल्मपति सेनानी भीष्म केसीले निर्वाचन सुरक्षाका लागि तोकिएको निर्देशनअनुसार सेना परिचालन सबै पालिकासम्म गरिने जानकारी दिनुभयो ।

यता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको संयोजकत्वमा रहेको जिल्ला सुरक्षा समितिले पनि जिल्लाभरको निर्वाचन शान्ति सुरक्षाका लागि आवश्यक सक्रियता बढाइसकेको छ । यहाँका सबै सुरक्षा निकायले मतदान केन्द्रको निरीक्षण गरिसकेका छन् ।

स्थानीय प्रशासनले ६६ वटा मतदानस्थललाई अति संवेदनशील, २६ लाई संवेदनशील र ४० वटा मतदान केन्द्रलाई सामान्यमा राखेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

“यहाँका सबै पालिकालाई भ्याउने गरी निर्वाचनलाई लक्षित गरी सेनाको गस्ती र उपस्थिति रहन्छ”, गुल्मपति सेनानी केसीले राससलाई भन्नुभयो, “त्यसका लागि स्थानीय प्रशासनसित आवश्यक समन्वयअनुसार सेना निर्वाचन सुरक्षामा खटिन्छ ।”

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रमुख प्रहरी निरीक्षक श्यामसिंह चौधरीले मतदाता, मतदान केन्द्र, मतपेटिकालगायत निर्वाचनको सबै क्षेत्र र तहको सुरक्षाका लागि नेपाल प्रहरी तयारी हालतमा रहेको बताउनुभयो । “सम्भवतः शुक्रबारदेखि जिल्लाभर म्यादी प्रहरीसमेत परिचालन हुन्छ”, उहाँले भन्नुभयो, “निर्वाचन सुरक्षाका लागि अन्य सुरक्षा निकायसित पनि समन्य गरेर शान्ति सुरक्षामा विशेष ध्यान दिन्छौँ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here