कडेंलद्वारा गाउँपालिका अध्यक्षको उम्मेदवारी फिर्ता

९ बैशाख २०७९, शुक्रबार मा प्रकाशित

सुरुङ्गा ।

झापा गाउँपालिकामा नेपाली कांग्रेसबाट आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा शिफारिसमा परेका शिवकुमार कडेंलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

नेका झापा गाउँ समितिले आफूलाई योग्य सम्झी अध्यक्ष पदमा शिफारिस गरेकोमा गाउँ समिति लगायत समस्त कांग्रेसी नेता तथा कार्यकर्ताप्रति कृतज्ञता व्यक्त गर्दै कडेंलले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । लोकतन्त्रमा विश्वास गर्नेले पद लिन मात्र होइन, त्याग गर्न र दिन पनि सक्नुपर्ने उनको विचार छ ।

कडेंलले जेसीज र रोटरी अभियानले आफूलाई अरुको सम्मान प्राप्त गर्न अरुलाई सम्मान गर्न पनि सक्नुपर्ने महान विचार दिएकाले सोही अनुरूप आफूले पार्टीको हितमा, जनताको हितमा र समग्र कार्यकर्ताको एकतामा बल पुगोस् भनी उम्मेदवारी फिर्ता लिएको बताए । आफूभन्दा अनुभवी र अगुवालाई समर्थन गर्दै पार्टीको जीत सुनिश्चित गर्न उम्मेदवारी फिर्ता गरेको कडेंलको तर्क छ ।

जिल्ला, प्रदेश र केन्द्रीय नेतृत्वलाई पार्टीभित्रको शक्तिसन्तुलन र आकांक्षीको मनोभावनालाई मिलाउन अप्ठेरो परिरहेको पेचिलो अवस्थामा कडेंलले उम्मेदवारी फिर्ता लिएर पार्टी नेतृत्वलाई सहजता प्रदान गरेका छन् । शिफारिसमा परेका सबै आकांक्षीहरू निर्णयको व्यग्र प्रतीक्षामा बसिरहेका अवस्थामा कडेंलले झापामा र सम्भवतः मुलुकमै पहिलो पटक नेपाली कांग्रेसभित्र यति ठूलो त्याग देखाएका छन् ।

नेपाली कांग्रेस झापा गाउँ समितिले अध्यक्ष पदका लागि बहालवाला अध्यक्ष एवम् नेका झापा क्षेत्र नं. ४ सभापति जयनारायण शाह, झापा गाउँ सभापति सागिरथ गणेश र युवा नेता शिवकुमार कडेंलको नाम शिफारिस गरिएको थियो ।

विद्यार्थी जीवनमा २०४८ साल देखि नेपाल विद्यार्थी संघ शिवगज माविको सभापति हुँदै क्षेत्र जिल्ला ने वि संघ सचिव भएर नेकाको पार्टी राजनीतिमा प्रवेश गरेका कडेल स्पष्ट वक्ता मानिन्छन् । नेपाली कांग्रेसको ११ औ माहाधिवेशनदेखि निरन्तर क्षेत्रीय प्रतिनिधि हुँदै उनले झापा क्षेत्र नं. ४ को सचिव भई राजनीतिक जीवन अघि बढाइरहेका छन् ।

हाल नेकाको जिल्ला प्रतिनिधि रहेका कडेंलले २०४९ सालमा विद्यार्थी हकहितका लागि शैक्षिक आन्दोलन गर्दा केही दिन बन्दी जीवन बिताएका थिए । जेसीज र रोटरी क्लबको अभियानमा पनि जोडिएका कडेंल विभिन्न सहकारी तथा वित्तीय संस्थामा आबद्ध रहेका छन् ।

निम्न मध्यम वर्गीय परिवारको खेतीकिसानी पृष्ठभूमिबाट राजनीतिमा उदाएका कडेंल राजनीतिका साथै सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रियताका साथ क्रियाशील रहेका छन् । निरन्तर राजनीतिक तथा सामाजिक क्षेत्रमा इमान्दारीका साथ लागीरहने उनले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here