ग्रेटा थनबर्ग बालबालिकाका प्रेरणा

१७ बैशाख २०७९, शनिबार मा प्रकाशित

भुवन तामाङ
ग्रेटा थनबर्ग विद्यार्थी अर्थात् उमेरले सानै नै छिन् । तर, उनी चर्चित पर्यावरण (जलवायु परिवर्तन न्यूनीकरण) अभियन्ताको रुपमा चिनिन्छिन् । अन्तर्राष्ट्रिय स्तरमा उनको ख्याती चुलिइरहेको छ । विद्यार्थी जीवनमै या सानै उमेरमा उनमा अभूतपूर्व पर्यावरण चेतना आउनु पर्यावरण या जलवायु अभियन्ताहरुका लागि चाखलाग्दो घटना भएको छ । प्रभावकारी रुपमा पर्यावरण सम्बन्धी अभियानमा लागेकाले ग्रेटाले अन्तर्राष्ट्रिय पहिचान प्राप्त गर्न सफल भएकी छिन् ।

उनी निकै साहसिक, प्रष्ट, परिपक्व तथा प्रखर छिन् । उनको बोल्ने र तर्क गर्ने शैली निकै प्रभावकारी छन् । उनलाई विभिन्न मञ्चमा बोल्न निम्ता आउने गर्दछन् । ग्रेटाले देशको विधान सभा जस्तो उच्च स्तरको मञ्चमा समेत बोल्न निम्तो पाउने गर्दछिन् । उनी जस्तोसुकै उच्च मञ्चमा पनि सजिलै र सरल किसिमले नधकाई आफ्ना विचार राख्ने गर्दछिन् । उनी पृथ्वीको जलबायु संकट हटाई स्वच्छ पर्यावरण कायम राख्नका लागि ढिला नगरि तुरुन्तै कदम चालिहाल्न वकालत गर्ने गर्दछिन् ।
ग्रेटा आफ्ना विचारहरु राख्न डराउँदिनन् । उनले सार्वजनिक, राजनीतिक र विधानसभा लगायतका फोराममा जलवायु सङ्कट हटाउन तत्काल कारवाहीको आग्रह गर्दै आएकी छिन् । उनी जलवायु परिवर्तनले पार्ने नकारात्मक प्रभाव र वातावरण तथा पर्यावरण संरक्षण बारेमा आवाज बुलन्द गर्दछिन् । गे्रटाले आफ्नो अभियानबारे विश्वको ध्यान खिच्न स्कूल हड्ताल पनि गरिन् । स्कूल हड्ताल गरिनुलाई उनले– ‘जलवायु परिवर्तनविरुद्ध समर्पित स्कूल हड्ताल’ भनेकी छिन् । जसलाई उनले ‘भविष्यका लागि शुक्रबार’ नाम पनि दिएकी छिन् ।

ग्रेटा चर्चित हुनाका कारणमा उनी नै यस्ती सानी बालिका हुन् कि, उनले जलवायु परिवर्तन रोक्नका लागि तत्काल कदम चाल्न विश्व नेताहरुलाई टड्करो रुपमा चुनौति दिएकी छिन् । जलवायु संकट या पर्यावरणलाई सम्बोधन गर्न पर्याप्त कदम चाल्न असफल भएकामा ग्रेटा विश्व नेताहरुबारे खरो आलोचना गर्ने गर्दछिन् । उनी आफ्नो अभियानबारे अंग्रेजी भाषामा धाराप्रवाह बोल्न सक्छिन् । यस कारणले पनि उनी विश्व चर्चित अभियन्ता कहलिन पुगेकी हुन् ।
गे्रटा विश्वका नेताहरुलाई यो गुनासो गर्ने गर्दछिन् कि– ‘विश्वका नेतृत्वहरुले करोडौंको सपना चोरेका छन् ।’ उनले यो पनि भनेकी छिन् कि– ‘विश्वका नेतृत्वहरुले हाम्रा बालपन बर्बाद पारिदिएका छन् । नेतृत्वहरुले भइरहेको स्वच्छ प्राकृतिक वातावरण या पर्यावरण बिगारेर बालबालिकाका सुन्दर बालपन प्रदुषित पारिदिएका छन् ।’ उच्च स्तरको मञ्चमा ग्रेटाले यस्तो भनेपछि सञ्चारमाध्यमहरुले उनको भनाइलाई बृहतरुपमा कभरेज दिएका छन् ।

ग्रेटाले शुरुमा आफ्नो देश स्वेडेनको संसद बाहिर स्कूले दिनहरु बिताउन थालिन् । ‘जलवायुका लागि विद्यालय हड्ताल’ लेखिएका संकेत प्रदर्शन गर्दै सांसदहरुलाई जलवायु परिवर्तन रोक्नका लागि तत्काल कदम चाली हाल्न आग्रह गर्न थालिन् । स्वीडेन सरकारले ‘पेरिस सम्झौता’ अनुसार कार्बन उत्सर्जन कम गरोस् भन्ने माग पनि राखिन् । उनको अभियानमा अन्य विद्यार्थीहरु पनि उत्साहपूर्वक सामेल हुन थाले । उनीहरु मिलेर ‘फ्राइडे फर फ्यूचर’ नामक ‘स्कूल क्लाइमेट हड्ताल’ आन्दोलन आयोजना गर्न थाले ।

२०१८ मा नवौं कक्षामा पढ्दै गरेकी ग्रेटाले एक स्वीडेनी पत्रिकाको आयोजनामा सम्पन्न निबन्ध प्रतियोगिता जितिन् । निबन्धमा खासगरी– ‘म कसरी सुरक्षित महशुस गर्न सक्छु ? जब मलाई थाह छ कि हामी मानव इतिहासको सबैभन्दा ठूलो संकटमा छौं । म सुरक्षित महसुस गर्न चाहन्छु’ जस्ता वाक्यहरु लेखेकी थिइन् । सो निबन्ध पढेपछि ग्रेटालाई ‘फोसिल फ्री डाल्सल्याण्ड’का प्रतिनिधि ‘बो थोरेन’ले सम्पर्क गरे र ग्रेटाले जलवायु परिवर्तनका बारेमा केही गर्न इच्छुक समूहका बैठकहरुमा भाग लिने अवसर पाइन् । थोरेनले ग्रेटालाई जयवायु परिवर्तनका विषयमा विद्यार्थीहरुले स्कूल अड्ताल गर्न सक्छन्, जसले सरोकारवालाहरुको ध्यान खिच्न सक्छ भन्ने सल्लाह दिए । ग्रेटाले साथीहरु र अन्य युवाहरुलाई अभियानमा संलग्न हुन आह्वान गरिन् । तर, कसैले पनि त्यति चासो दिएनन् । त्यसैले आपैmले स्कूल हड्ताल आह्वान गरिन् । पर्यावरणका लागि स्कूल हड्ताल त्यसरी शुरु भएको थियो ।

ग्रेटाले २०१८ मा संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तन सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्न निम्ता पाइन् । सम्बोधन पछि, स्कूलहरुका लाखौं विद्यार्थीहरुको संयोजनमा धेरै शहरहरुमा विरोधसभा शुरु भए । ग्रेटाले २०१९ मा पनि संयुक्त राष्ट्रसंघमा जलवायु कार्य शिखर सम्मेलनमा सम्बोधन गरिन् । ग्रेटा थनबर्ग, वातावरणको लागि एक भावुक कार्यकर्ताका रुपमा चिनिन सफल भइन् र विश्व नेतृत्वहरुलाई जलवायु परिवर्तनसँग लड्नका लागि ठोस योजना र कार्यक्रमहरु तयार पार्न लगाउन सफल भइन् । उनले आठ वर्षकै उमेर यसबारे सुनेकी थिइन् र उबेलै विश्व नेतृत्वहरुलाई जलवायु परिवर्तनको खतराबारे किन कदम नचालेको भनेर प्रश्न गरेकी थिइन् ।

ग्रेटा थनबर्ग को हुन् त ? यी पाँच तथ्यबाट सजिलो गरी जान्न सकिन्छ । (१) ग्रेटा थनबर्ग जलवायु परिवर्तन न्यूनीकरणका लागि आवाज उठाउने स्वीडेनी सानी बालिका अभियन्ता हुन्, (२) भविष्यका लागि शुक्रबार नामक जलवायुको लागि साप्ताहिक विद्यालय हड्ताल आन्दोलनको थालनी कर्ता, (३) संयुक्त राष्ट्र जलवायु कार्य शिखर सम्मेलनमा भाग लिने स्कूले सानी बालिका जसले प्रकृतिप्रति अपमानजनक व्यवहारको विरुद्ध उभिन जनतालाई आह्वान गरिन्, (४) जलवायु परिवर्तनविरुद्धको ग्रेटाको आवाजलाई ‘ग्रेटा इफेक्ट’ भनेर प्रशंसा गरिन्छ र (५) ग्रेटालाई संयुक्त राष्ट्रसंघमा सबैभन्दा कान्छी वक्ताको रुपमा स्वागत गरिएको थियो ।

ग्रेटा थनबर्गलाई उनको प्रेरणादायक भनाईहरुबाट पनि चिनिन्छ ः ग्रेटाका केही भनाइ, ‘(१) कुनै फरक या अलग कार्य गर्न अर्थात् राम्रो काम गर्न कोही सानो हुनुहुन्न, (२) मलाई कसैको आशा चाहिन्न, न त म आशावादी बन्न चाहन्छु, म चाहन्छु कि तपाई डराउनु होस् र घर जलिरहेको जस्तो व्यवहार गर्नुहोस् र (३) यदि तपाईले समय खेर फाल्ने कामलाई निरन्तरता दिनुहुँदैछ भने याद राख्नुहोस् कि हाम्रा सरकारका, नेताहरुका कार्यशैली र अस्वीकारहरुले मूल्यवान दशकहरु बर्बाद गरिदिए ।’

ग्रेटा उनको समयको सबैभन्दा प्रभावशाली व्यक्तिमध्ये एक हुन सफल भइन् । गे्रटाको प्रभावले नै विश्वका राजनीतिज्ञहरुले जलवायु परिवर्तनको सामना गर्नका लागि गम्भीर आवश्यकता स्वीकार गर्न थालेका छन् । बेलायतमा वातावरणको लागि सार्वजनिक चासो बढ्यो र जलवायु परिवर्तनबारेका पुस्तकहरुको बिक्री दोब्बर भयो । २०२१ देखि २०२७ सम्मका लागि यूरोपियन यूनियनले जलवायु परिवर्तन न्यूनिकरण गर्न प्रत्येक यूरो खर्च गरिने प्रद्धिबता जनाएको छ । गार्जियन र अन्य समाचारपत्रहरुले ग्रेटा थनबर्गको अभियानलाई ‘ग्रेटा प्रभाव’को रुपमा वर्णन गरेका छन् । फोब्र्समा विश्वका १०० सबैभन्दा शक्तिशाली महिला (२०१९)को सूचीमा ग्रेटा थनबर्गलाई पनि समावेश गरिएको छ । अन्य विश्व प्रसिद्ध सूचीहरुमा पनि सामेल गरिएकी छिन् ।
ग्रेटाको अभियानलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको पनि समर्थन छ । महासचिव गुटरेसले भनेका छन् कि– ‘मेरो पुस्ताले जलवायु परिवर्तनको नाटकीय चुनौतिलाई ठीकसँग प्रतिक्रिया दिन असफल भएको छ । यो कुरालाई युवाहरुले गहिरोसँग बुझेका छन् । यो ग्रहको उद्धार युवाहरुमा निर्भर छ ।’ यसरी नै ग्रेटाको अभियानलाई विश्वका धेरै उच्चस्तरीय नेतृत्व र व्यक्तित्वहरुको साथ छ । ग्रेटा थनबर्गको जन्म ३ जनवरी २००३ मा भएको हो । उनी स्वीडेनकी हुन् । विद्यार्थी साथीहरुमा चेतना भर्न ग्रेटा कहिले काहीँ पर्यावरण, जलवायुको विषय उठान गर्दछिन् । ग्रेटाको प्रभावकारी अभियानको कदर गर्दै थुप्रै पुरस्कार र सम्मान प्रदान गरिएका छन् । ग्रेटा थनबर्गको विचार र अभियान विश्वका बालबालिकाका लागि प्रेरणा बनेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here