समृद्ध झापा बनाउन विश्वभरका झापालीमा अध्यक्ष सुब्बाको आह्वान

0
408

बिर्तामोड।

अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बाले झापालाई समृद्ध जिल्ला बनाउन विश्वभर रहेका झापालीहरुलाई जुट्न आह्वान गरेका छन् ।

अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो महाधिवेशनको उद्घाटन सत्रमा शुक्रबार भर्चुअल रुपमा अध्यक्षको मन्तव्य राख्दै सुब्बाले सबै झापाली क्रमिकरुपमा लाग्यौ भने झापालाई विश्वका विकसित राष्ट्रको भू–भाग झैं समृद्ध बनाउन सकिने बताए । उनले भने– ‘समृद्ध झापा बनाउन एकले होइन एकताले गर्न सक्छौं ।’

हाल हङकङमा रहेका अध्यक्ष सुब्बाले मातृभूमिको माया र जिल्लाबासी हुनुको नाताले झापाको विकासका लागि र मुलुक तथा जिल्लामा आइपर्ने विपद्का बेला अन्तर्राष्ट्रिय झापाली समाजले महत्वपूर्ण सहयोग गर्दै आएको बताए ।

सुब्बाको कार्यकालमा कोरोना महामारीको समयमा झापामा एकका लागि एक अभियानसँग सहकार्य गरी पीसीआर मेसिन स्थापना, अक्सिजन बैंक स्थापना, पालिकाहरु तथा जिल्ला प्रशासनलाई आवश्यक स्वास्थ्य सामग्रीहरु हस्तान्तरण भएको थियो । त्यस्तै विपन्नहरुको घर निर्माणमा समेत योगदान रहेको समाजले शिक्षा, खेलकुद लगायतका क्षेत्रमा समेत सहयोग गर्दै आएको छ ।

शनिबार सम्पन्न हुने समाजको महाधिवेशनले आगामी दुई वर्षका लागि सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्ने समाजका संरक्षक दिनेशकुमार पोखरेलले जानकारी दिए ।

प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा भएको महाधिवेशन उद्घाटन समारोहमा एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरी, जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, समाजका संरक्षक दिनेशकुमार पोखरेल, भवानी ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन समाजका वरिष्ठ उपाध्यक्ष नवीन पोखरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here