युद्धले युक्रेनमा सांस्कृतिक सम्पदा नष्ट

२४ बैशाख २०७९, शनिबार मा प्रकाशित

दुई महिनाअघि रूसी सैन्य आक्रमण शुरु भएदेखि, युक्रेनमा सयभन्दा बढी महत्वपूर्ण सांस्कृतिक सम्पदाहरु नष्ट भएका छन् । सम्पदा नष्ट भएका सम्बन्धमा संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन यूनेस्कोद्वारा प्रमाणित गरिएको छ । आक्रमण गरिएका शहरहरूमा धेरै थिएटरहरू, संग्रहालयहरू, चर्चहरू र अन्य ऐतिहासिक भवनहरू आंशिक र पूर्णरुपमा भत्किएका छन् । सम्पदा संरचनाहरुमा गोलीले पारेका प्वालैप्वाल देखिएका छन् । झ्याल ढोकाहरु भत्किएका, छत बमले भ्वाङ पारेका छन् र सम्पदाहरु चकनाचुर भएका छन् ।

युनेस्कोका विश्व सम्पदा केन्द्रका निर्देशक लाजारे एलाउन्डाउ एसोमोका अनुसार ऐतिहासिक स्थलहरूमा हुने क्षतिले देशको सांस्कृतिक पहिचानमा डरलाग्दो असर पारिरहेको छ । जेनेभा सोलुशन्ससँग कुरा गर्दै, एलाउन्डउ एसोमोले चेतावनी दिए कि युनेस्को–समर्थित ब्लू शिल्ड बोकेका भवनहरूलाई लक्षित गर्नु युद्ध अपराध मान्न सकिन्छ ।
युक्रेनमा सात विश्व सम्पदा स्थलहरु छन् । वल्र्ड हेरिटेज सेन्टरले सम्पदा स्थलहरुका संरक्षणका लागि युद्धबाट लक्ष्यीकरण रोक्न प्रयास गर्दछ । खुशीको कुरा यो छ कि, युक्रेनमा अवस्थित सात विश्व सम्पदा स्थलहरु मध्ये कुनै पनि लक्षित गरिएको छैन । रुसको चेतना र संयमता हार्दिकता योग्य देखिएको छ, तर अन्य सम्पदा साइटहरु भने नराम्ररी क्षतिग्रस्त भएका छन् ।

युनेस्कोले सशस्त्र द्वन्द्वको घटनामा सांस्कृतिक सम्पदाको संरक्षणको लागि अन्तर्राष्ट्रियरूपमा मान्यता प्राप्त १९५४ हेग कन्भेन्सनको विशिष्ट प्रतीकको साथ युक्रेनको देशभरीका प्रमुख ऐतिहासिक स्मारकहरू र साइटहरूलाई जतिसक्दो चाँडो चिन्ह लगाउन सिफारिस गरेको छ । मार्चको मध्यमा एउटा पत्रमा, युनेस्कोका महानिर्देशक, अड्रे अजौलेले रुसी विदेशमन्त्री सर्गेई लाभरोभलाई द्वन्द्वको समयमा सांस्कृतिक सम्पदाको संरक्षण गर्ने अन्तर्राष्ट्रिय महासन्धि अन्तर्गत रुसको दायित्वको सम्झना गराएका छन् ।

२०१७ मा, संयुक्त राष्ट्र सुरक्षा परिषदले सर्वसम्मतिले प्रस्ताव पारित गरेको छ । जसले पहिलो पटक सांस्कृतिक सम्पदाको संरक्षणलाई सुरक्षा अपरिहार्य बनाएको छ र सांस्कृतिक सम्पदाको जानाजानी बिनाशलाई युद्ध अपराधको रूपमा निन्दा गर्न सकिने छ ।

विश्व सम्पदा साइटहरूमा किभ महत्वपूर्ण स्थान हो । युक्रेनको राजधानी किभमा ३० भन्दा बढी संग्रहालयहरू छन् । ११औं शताब्दीभन्दा अघिदेखिका सेन्ट सोफिया क्याथेड्रल र लाभ्रा मोनास्टिक कम्प्लेक्स, जुन रूसी अर्थोडक्स चर्चको जन्मको प्रमाण हो, लगायतका सम्पदा छन् । युरोपेली पुराना मास्टरपिसहरू, एसियाली कला र रूसी चित्रहरू पनि शहरका दरबारहरूमा एकत्रित गरिएका छन् । बेरेस्टोभ लाभ्राको नजिक मुक्तिदाता चर्च, त्यसैगरी थुपै्र स्थानमा स्मारक, स्क्वायरहरु लगायतका थुप्रै सम्पदाहरु किभमा रहेका छन् ।

युक्रेनको पूर्व–उत्तरमा रहेको देशकै दोस्रो ठूलो खार्किभ शहर, सोभियत समाजवादी गणतन्त्र (१९१७–१९३४)को पूर्व राजधानी थियो । खार्किभ संगीतको लागि युनेस्कोको रचनात्मक शहर हो । यहाँ पुस्तकालयहरू, संग्रहालयहरू, कला ग्यालरीहरू र थिएटरहरूसहित धेरै सांस्कृतिक धरोहर र सेवाहरु छन् । यहाँ युरोपको सबैभन्दा ठूलो स्क्वायर (पटाङ्गिनी)हरू मध्ये एक स्क्वायर छ । केन्द्रीय स्वतन्त्रता स्क्वायर, जुन महत्वपूर्ण निर्माणवादी वास्तुकलाको समूहको घर हो । जहाँ रुसले मिसाइल हानेर क्षतिग्रस्त पारिदिएको छ । यहाँका रूसी अर्थोडक्स चर्च, क्याथेड्रल लगायत २० भन्दा बढी ऐतिहासिक स्मारकहरू, साइटहरू, संग्रहालयहरू र गिर्जाघरहरू जारी युद्धका कारण गम्भीररूपमा क्षतिग्रस्त भएका छन् । आगामी दिनमा अझ बिनाश हुने आशंका बढेको छ ।

युक्रेनको दक्षिण पश्चिमी शहर लिभिभको स्थापना मध्ययुगको उत्तराद्र्धमा भएको थियो । व्यापार र राजनीतिक विकासका लागि अनुकूल भौगोलिक स्थितिका कारण यो प्रशासनिक, धार्मिक र व्यापारिक केन्द्रको रूपमा फस्टाएको थियो । आज, जीवित वास्तुकला र कलात्मक सम्पदाले सम्पन्न छ । लिभिभले इटाली र जर्मनीबाट प्रभावित पूर्वी युरोपेली वास्तुकला, परम्परा र शैलीहरूको संश्लेषण झल्कादउँछ । यो शहर विभिन्न ईसाई समूह, मुस्लिम र यहूदीहरू सहित शताब्दीयौँदेखि बसोबास गर्ने विभिन्न समुदायहरूको अन्तरक्रियाद्वारा विकास हुँदै आएको छ ।

यूनेस्कोले लिभिभको ऐतिहासिक केन्द्रलाई सन् १९९८ देखि विश्व सम्पदाको भागको रूपमा सूचीबद्ध गरेको छ ।
अजोब सागरको पश्चिमी किनारमा अवस्थित (युक्रेनको पूर्वी भाग) तटीय शहर मारिउपोल डोनेट्स्क क्षेत्रमा वर्गीकृत गरिएको छ, त्यहाँ पनि बीस सम्पदा साइटहरू र स्मारकहरू गम्भीररूपमा क्षतिग्रस्त भएका छन् । ती मध्ये सात स्थानका पूर्वाधार, गिर्जाघर, संग्रहालय, स्मारकहरू नराम्ररी प्रभावित भएका छन् । मारिउपोल नाटक घरसहित दुई थिएटरहरू, सेन्ट आर्कान्जेल माइकल चर्च, स्थानीय लोरको संग्रहालय र धेरै स्मारकहरू सहित तीन वटा चर्चहरू पनि क्षतिग्रस्त भएका छन् ।

सांस्कृतिक गुणहरूले समाजको आत्मा र देशको चिनारीलाई प्रतिनिधित्व गर्दछन् । चाहे ती समाज र या देश प्राचीन हुन् या भर्खरैका नयाँ । दुर्भाग्यवश युक्रेनमा सांस्कृतिक सम्पदाहरु नष्ट प्रायः हुने कगारमा पुगेका छन् । युद्ध यस्तो चिज हो जहाँ बिनाश नै जीतको द्योतक भइदिन्छ । जति बिनाश भयो उति नै जीतको नतिजा निकाल्न सजिलो पर्नाले युद्ध थालनीकर्ताले धेरैभन्दा धेरै बिनाश गर्न खोज्दछन् ।

जसले गर्दा सांस्कृतिक सम्पदाहरु पनि चपेटामा पर्ने गर्दछन् । युक्रेनमा मात्र होइन, केही दशकभित्रै इराक, सिरिया, यमन, लिबिया र अफगानिस्तानमा पनि सांस्कृतिक सम्पदा नष्ट भएका दृष्य अवलोकन गर्न सकिन्छ । त्यहाँ पर्यटकहरुका आँखाले हेर्न खोजेका र मनले अनुभूति गर्न खोजेका सम्पदाहरु युद्धहरुले नष्ट पारिदिएका छन् । युक्रेनी वास्तुकार र वास्तुकला इतिहासकार इभगेनिया गुब्किना भन्छिन्– मानिसहरू मारिने क्रममा सम्पदा संरक्षणको बारेमा कुरा गर्न गाह्रो छ । सम्पदा भनेको इँटा र पर्खाल मात्र होइन । सम्पदा भनेको स्मृति हो, उनको भनाइ रहेको छ ।

‘सेभ किभ’ अभियानका प्रतिनिधिहरू बढी आशावादी छन् । अहिले उनीहरु आर्किटेक्ट, शहरी योजनाकार, निर्माण व्यवसायीहरु र विदेशी विज्ञहरुसँग छलफलमा छन् । ऐतिहासिक भवन र वास्तुकलाका सम्पदाहरूलाई मौलिक रूपमै पुनःस्थापित गर्नुपर्छ, उनीहरुको भनाइ रहेको छ ।

कुनै पनि देशको सांस्कृतिक सम्पदा, युद्ध हुन् या अन्य कारणले नष्ट हुनबाट जोगाउन युनेस्कोले राम्रो भूमिका खेल्न सक्नुपर्ने देखिएको छ । ताकि युद्ध थोपर्ने मात्र होइन कि युद्धका लागि अप्रत्यक्ष भूमिका खेल्ने देशले पनि सांस्कृतिक सम्पदामा गोली र बम बर्षाउनु पूर्व दशपल्ट सोच्नु परोस् । जसले सम्पदा नष्ट गर्दछ पछि उसैले ती सम्पदा दुरुस्त रुपमा पुनः निर्माण गर्नु नै पर्ने कडा कानून लागू हुनु पर्दछ । नत्र त युद्धबाजहरुले केही बाँकी राख्ने छैनन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here