कुर्सीको मर्म

२४ बैशाख २०७९, शनिबार मा प्रकाशित

मलाई एक्दम डर लाग्छ । खै किन हो । म माथि धेरै प्रेसर छ । म यहाँबाट फुत्किन सकिरहेको छैन । मलाई किन यति तनाव लाग्छ । म किन यति ब्यग्र छु । मलाई किन हतास मन भएको छ ।
खै को सँग पोखौं ? खै कसलाई भनौं मेरो ब्यथा । म रङ्गहिन हुँदैछु । मेरो सुन्दरतामा कमी महशुस गर्छु । अनि मेरो अस्तित्वको महशुस गर्छु । आखिर मेरो अस्तित्व उच्च छ भने किन मलाई पाँच वर्षसम्म महत्वहीन पार्छन् ? आखिर म यति जरुरी छु भने किन मलाई अयोग्य व्यक्तिको बस्ने साधन बनाउँछन् ? आखिर मेरो लागि ठूलो प्रतिस्पर्धा बनिरहँदा किन म सँग सक्षम व्यक्ति आइनपुगेको होला ? आखिर किन ?

मेरा चारखुट्टा धेरै दृढसंकल्प लिएर बसेको छ । चार खुट्टाले सारा शहरको भाग थेग्न सक्ने गरी अडिग छ । पूर्व–पश्चिम्, उत्तर र दक्षिण सबै कोणबाट म सशक्त देखिन्छु । म विभिन्न आकार, प्रकार र महत्वले बनिएको हुन्छु । जति ठूलो ओहोदाको व्यक्ति म माथि विराजमान हुन्छ म उति धेरै महत्व राख्छु । या भनौं ओहोदा वा तह अनुसारको मेरो स्वाभिमान छ । त्यही स्वाभिमान मेरो पहिचानको केन्द्रबिन्दु हो । राजा हुँदा देशको एकजना मात्र शासक थिए । उनी बस्न बनाइएकाले मलाई धेरै सजाइन्थ्यो । पत्थर, सुन र हिरा आदि जडेर मेरो शोभा बढाउन गद्दी श्रृङ्गारिन्थ्यो । यस्तो लाग्थ्यो म सामन्य होइन । म यो देशको स्वरुप परिवर्तन गर्न क्षमता राख्न योग्य छु । उनको पालोमा मलाई राजगद्दी भनिन्थ्यो । त्यो राजगद्दीसम्म पुग्न कसैको साहस थिएन, कसैको पहुँच हुँदैन थियो । राजा म माथि बसेर अनेक निर्णय गर्थे म गद्गद् बनेर सुनिरहन्थे ।

तर, अहिले परिस्थिति फेरिएको छ । राजाको त बिलय भयो तर जनताका छोरा सत्तामा पुगेपछि हर व्यक्ति राजा स्वरुप लिन खोज्छन् । यस्तो लाग्छ कि राजाको गद्दी हटाएर आफै गद्दीमा बस्न खोजिरहेछन् । या भनौ श्रीपेच बिनाको राजा जसरी बस्न रुचाउँछन् । स्थानीय तहमा निर्वाचन हुन लागेको अवसरमा फेरि सबै मानिस यही गद्दीको पछि लागेका छन् । सबै राजा हुन पर्ने सबै सुसज्जित कुर्सीमा बस्नु पर्ने । मेरो लागि सबैलाई भोक छ र नशा पनि । मलाई कहिले सांसद भवनमा तोडफोड गर्छन्, कहिले सरकारी कार्यालयमा, कहिले स्थानीय तहमा । मलाई रङ्गिन बनाई राजगद्दी जस्तै बनाउँछन् त कहिले कुरुप कवाडीमा पठाउने जस्तै । विभिन्न समयमा मेरो मन रोएको छ । विभिन्न नेता एवम् नेतृत्व हेर्दै शासकीय प्रणाली नजिकैबाट बुझेको छु मैले । मैले प्रजातन्त्र पनि देखे जनताको बहुदल पनि देखे । मैले लोकतन्त्र देखे मैले गणतन्त्र देखे । यो बीचमा धेरै शासक देखे धेरै सत्ताको खेल देखे । यी सबैमा धेरै भिन्नता छ । भिन्नता छैन त केवल मेरो औचित्यको अनि मेरो आवश्यकता को ।

अहिले म चुप लागेर नियालिरहेको छु स्थानीय तहमा शुरु भएको निर्वाचनको तामझाम । विभिन्न गुट–उपगुट विभिन्न सत्ता भोगी, विभिन्न पार्टी अनि गठबन्धन । राजनीतिक प्रणाली बुझ्न मलाई अब समय लाग्ने छैन । म आफैमा धेरै वर्षको अनुभबले स्पष्ट भन्न सक्छु मेरो माथि जो कोही बिराजमान भए पनि यसपटक पनि स्वच्छ छविको नेतृत्व आउने छैन । उहीँ पुरानै ढाँचा पुरानै सासण प्रणाली । उहीँ पुरानो कार्यशैली अनि पुरानै सिस्टम । नयाँको त म केही आशा गर्दिनँ । स्वतन्त्र उम्मेदवारको आशा लागे पनि उनीहरुको जीत निश्चय नदेख्दा निराशावादी बन्न पुग्छु कहिलेकाही म । के गर्नु हजुर जनताको छोराको पालामा राजगद्दीको महत्वकांक्षा धेरै हुने । आखिर सत्तामा आएपछि वा भनौ स्थानीय तहमा आएपछि सबैको कायापलट भएको मैले देखेको छु ।

म माथि बसेर कार्य सञ्चालन गरेसङ्गै मैले पातलो मानिस मोटाएको देखेको छु । म माथि बस्नेको झुप्रो घर महल बनेको देखेको छु । घरजग्गाविहीन शासकको नम्बरी जग्गा धेरै स्थानमा देखेको छु । त्यस्तै विदेश यात्रा गरेको देखेको छु । म माथि बसेर धेरै संवेदनशील बिषयमा छलफल गरिरहँदा फाइलभित्र पैसाको खाम देखेको छु । त्यस्तै विभिन्न कमिशनमा सम्झौता देखेको छु । मैले मानिसको आकार, प्रकार र स्वभाव परिवर्तन देखेकोछु । उनीहरुको आर्थिक अवस्थामा सय गुणाभन्दा बढी सफलता देखेको छु । आफ्नो मात्र होइन आफन्त, नातागोता र पार्टीको घनिष्ठता भएको मानिसको पनि आर्थिक अवस्था सुधार भएको देखेको छु । मैले नदेखेको कुरा पनि धेरै छन् । म माथि राज गर्ने मोटाए सङ्गै स्थानीय तहको आर्थिक अवस्थामा सुधार देखेको छैन । नेतृत्वको झुप्रो घर महल बनिरहँदा गरीब नागरिक को बस्ने बासस्थान देखेको छैन । उनीहरुको भौतिक आवश्यकता परिपूर्ण गरेको देखेको छैन । म माथि बस्नेको जग्गा थपिरहँदा सुकुम्बासी र घरविहीनको समस्या सम्बोधन गरेको देखेको छैन । शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा आवश्यक पूर्वाधार विकासका सम्झौता कार्यान्वयन भएको देखेको छैन । यस्ता कैयौं क्षेत्रमा आवश्यक तत्परता देखेको छैन ।

कति दुःख पोख्नु ? जति पोखे पनि सकिँदैन मेरो मर्म । म पुरानो भए अरे । मलाई अब परिवर्तन गर्न खोज्दैछन् । सुन्दैछु नयाँ आउने व्यक्ति पुरानो कुर्सीमा न बस्ने अरे । खै कति दिन हो मलाई यिनिहरुले राख्छन् । तर, परिवर्तन गरे पनि म नया सवरुप, रङ्ग र आकर्षणमा आएर बस्नेलाई आनन्द दिनेछु । आशा गर्छु नयाँ चुनिएर आएको व्यक्ति वा दलको बिजयी उम्मेदवार ले पुरानो कैफियत सुधार गर्दै आफ्ना होइन आफ्ना स्थानीय जनताको विकासको बारेमा सोचोस् । आगामी पाँच वर्ष सुन्दररुपमा विकासका कुरा होस् । मलाई पनि मजा लागोस् सही व्यक्ति बसेकोमा । म निरन्तर नडराउन परोस् । यही इच्छा छ । जुनै पार्टीका जस्तै रङ्गका व्यक्ति आए पनि मेरो सम्मान राख्ने गरी कार्य सञ्चालन गरियोस् । अर्को पाँच वर्षपछि मलाई इङ्गित गर्दै भन्न सकुन जनताले कि त्यो कुर्सीमा सही मानिस बसेर हाम्रो नगर–समाजको विकासमा ठूलो योगदान दिएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here