अर्जुनधारामा मेयरका लागि कडा प्रतिस्पर्धा

२५ बैशाख २०७९, आईतवार मा प्रकाशित

झापा ।

झापाका १५ वटा स्थानीय तहमध्ये प्रमुख पदका लागि सबैभन्दा कम उम्मेदवारी पर्ने नगरपालिका हो– अर्जुनधारा । यो नगरको प्रमुख पदका लागि गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसकी रञ्जिता कार्कीसहित नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट बलदेवसिंह गोम्देन तामाङ्ग र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सूर्यकुमार खतिवडाको उम्मेदवारी रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट रमा खवासको उम्मेद्वारी परेपनि उनको उम्मेद्वारी फिर्ता भएको छ । खवासको उम्मेदवारी फिर्ता भएसंगै यो नगरमा प्रमुख पदका लागि तीन जनाको मात्रै प्रतिस्पर्धा छ ।
त्यस्तै उपप्रमुखमा पनि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट उम्मेदवार बनेका प्रेम सागर सापकोटाले उम्मेद्वारी फिर्ता लिएसँगै चार जनाको मात्रै प्रतिष्पर्धा छ । प्रतिष्पर्धामा गठबन्धन दलका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट जितेश योञ्जन सहित नेपाल कम्युनिष्ट पार्टी(एमाले)का खड्गमाया पराजुली, राष्ट्रिय प्रजातन्त्र पार्टीका तारादेवी बस्नेत र उन्नत लोकतान्त्रिक पार्टीका चित्रबहादुर विकको उम्मेदवारी रहेको छ ।

यो नगरमा प्रमुख र उपप्रमुखका लागि प्रमुख दुई दलबीच तीब्र प्रतिष्पर्धा हुने देखिन्छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा यो नगरमा नेकपा एमालेले प्रमुख र उपप्रमुख दुवै पद हात पारेको थियो । अहिले पनि दुवै पद आफ्नो पक्षमा पार्दै एमालेको विरासत जोगाउने पक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लागीपरेको छ ।
यता सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहितका अन्य दलले नेकपा एमालेलाई परास्त गर्दै नगर प्रमुख, उपप्रमुखसहितका पद आफ्नो पक्षमा पार्न लागीपरेको छ । यहाँ सत्तारुढ गठबन्धन दललाई राष्ट्रिय जनमुक्ति पार्टी सहितका साना दलले समेत सघाएका छन् ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनलाई फर्केर हेर्दा यो नगरमा नेकपा एमालेका उम्मेदवार हरिकुमार राना १३८७९ मत प्राप्त गर्दै बिजयी भएका थिए । कंग्रेसबाट उम्मेदवार बनेका हेमराज खरेलले ९६४१ मत प्राप्त गरेका थिए । गत निर्वाचनमा एमाले र कांग्रेसबीचको मतान्तर ४२३८ रहेको थियो ।

यता माओवादीले २५०६ मत प्राप्त गरेको थियो । जनमुक्तिले ३५९ मत प्राप्त गरेको थियो भने राप्रपाले ७५४ मत प्राप्त गरेको थियो । माओवादी र जनमुक्ति पार्टीको मत जोड्दा समेत एमालेलाई यो नगरमा कांग्रेसले उछिन्न सकेको छैन ।

गत निर्वाचनको तुलनामा यसपटक एमाले विभाजित हुनु र कांग्रेसले सक्रिय कार्यकर्ता बढाउनु अनि माओवादी लगायतका दल एकीकृत हुँदा गठबन्धन दलले जित्ने प्रशस्त आधार रहेको नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाँईको तर्क छ ।

यो नगरमा ५३७४५ मतदाता रहेका छन् । जसमा पुरुषको संख्या २६५५९ र महिला मतदाताको संख्या २७१८४ तथा अन्य दुई जना छन् । गठबन्धन दलले आफूहरुसंग प्रशस्त जित्ने आधार रहेको बताउँदै आएको छ भने नेकपा एमालेले एक्लै यो नगरमा जितेर देखाउने चेतावनी दिँदै आएको छ । अर्जुनधारामा एमालेको उपस्थिति बलियो रहनु र एकीकृत समाजवादीका खासै कार्यकर्ता नहुनुले पनि जित निश्चित भएको एमालेले दावी गर्दै आएको छ ।

११ वटा वडा रहेको अर्जुनधारा नगरपालिकामा अहिले गठबन्धन दलसहितका उम्मेदवार मतदाताको घर–घरमा मत मागिरहेका छन् । राप्रपाका उम्मेदवारलाई विजय गराउन पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा अर्जुनधारामा सभाको आयोजना गरियो भने एमालेलाई बिजय गराउन राष्ट्रियस्तरका कलाकारदेखि केन्द्रीय नेतासम्मले घरदैलोमा सघाउ पु¥याइरहेका छन् ।

यता गठबन्धन दलका तर्फबाट उम्मेदवार बनेकाहरुलाई समेत प्रदेश र केन्द्रीय नेतृत्वमा रहेका नेताले मत मागिरहेका छन् ।

को हुन् रञ्जिता ?

कनकाई नगरपालिका–५ लक्ष्मीपुर घर भएकी रञ्जिता पेशाले अधिवक्ता हुन् । भानु मावि फूलवारीबाट कक्षा १० उत्तीर्ण गरेकी कार्कीले कक्षा १२सम्म बिर्तामोडमा रहेको गोमेन्द्र महाविद्यालय र स्नातक नेपाल ल क्याम्पसबाट गरेकी छन् ।

वुवा दीपबहादुर कार्की र आमा मिश्रादेवी कार्कीकी कान्छी छोरी रञ्जिता बिद्यार्थी छँदादेखि नै राजनीतिमा लागेकी हुन् । कार्की रत्नराज्य बहुमुखी क्याम्पसमा अध्ययनरत् रहँदादेखि नेपाल बिद्यार्थी संघमा आवद्ध भएकी हुन् । नेपाल ल क्याम्पसको स्ववियू सदस्य, सचिव हुँदै निर्वाचित सभापति बनेकी कार्की कांग्रेसको १३औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि भएकी थिइन् भने १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि र प्रदेश १को सदस्य बनिन् । दुईवटा विषयमा उनले स्नातकोत्तर गरेकी छिन् ।

शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीलाई प्राथमिकतामा राखेर नगरप्रमुखको दावी गर्दै उनको उम्मेदवारी रहेको छ । नगरबाट प्राप्त हुने सबैखाले सेबामा नगरवासीको पहुँच पु¥याउने, सहज स्वास्थ्य सेवा प्रदान गर्ने, गुणस्तरीय शिक्षा दिने र शुद्ध खानेपानीको व्यवस्था गर्ने जस्ता एजेण्डा लिएर उनी अहिले घरदैलोमा छिन् ।

कक्षा १२सम्म निःशुल्क शिक्षा दिइने र नगरमा प्राविधिक तथा व्यवसायिक शिक्षालाई उच्च प्राथमिकतामा राख्ने उनको योजना छ । नगरभित्र बोलिने विभिन्न भाषा संरक्षणका लागि प्राथमिक शिक्षा मातृभाषामा दिन प्रोत्साहन गर्ने, नगरबाट मेडिकलमा नाम निकालेर पनि पढ्न नसक्ने विद्यार्थीलाई नगरपालिकाले पढाउने, नगरमा रहेको शनिश्चरे बहुमुखी क्याम्पसमा थप प्रविधि र स्रोतको बृद्धि गरेर नगरको पहिचानको रुपमा विकास गर्ने, नगरभित्रको बजार क्षेत्रमा स्मार्ट सडक बत्ती जडान गर्ने उनका एजेण्डा हुन् ।

स्वास्थ्यको क्षेत्रमा प्राथमिक स्वास्थ्यलाई निःशुल्क र गुणस्तरीय बनाइने, शनिश्चरे अस्पतालको स्तरवृद्धि गरेर ५० शैय्याको अस्पताल निर्माण गरिने, हरेक वडाबाट स्वास्थ्य सेवा लिन सक्ने व्यवस्था मिलाइने, ज्येष्ठ नागरिकका लागि सबै प्रकारको स्वास्थ्य परीक्षण निःशुल्क गरिने, ५० वर्ष माथिका सबै नागरिकको वर्षमा एकपटक निःशुल्क स्वास्थ्य जाँच गर्ने प्रबन्ध मिलाइने जस्ता उनका योजना छन् ।

कृषि क्षेत्रको विकासका लागि सिञ्चाइको व्यवस्थापन गर्ने, कृषि र पशु बीमा कार्यक्रमहरू गर्दै लगिने, स्थानीयलाई कर बुझाउन र प्रशासनिक कामका झञ्झटिलो प्रक्रियालाई सरल बनाउने, नगरलाई स्वच्छ बनाउनको लागि प्लास्टिकजन्य झोलाहरूको प्रयोगलाई निरुत्साहित गर्ने, नगरबाट निस्केको फोहोरलाई डम्पिङ साइट बनाएर व्यवस्थापन गर्ने लगायतका योजनासहित गठबन्धन अघि वढेको छ ।

को हुन् बलदेव ?

नेकपा एमालेको अर्जुनधारा नगर कमिटी अध्यक्ष तथा फुटबलका पूर्व राष्ट्रिय खेलाडी हुन्– बलदेव । करातेका मानार्थ ब्ल्याकबेल्ट उनी खेलप्रेमी युवा व्यक्तित्वका रुपमा परिचित छन् । विभिन्न सामाजिक संघ–संस्थामा रहेर सक्रिय भूमिका निर्वाह गर्दै आएका तामाङ यसअघि अर्जुनधारा–१०का वडाध्यक्ष रहेका थिए ।

अर्जुनधाराका स्थानीय बासिन्दा उनी प्रकृति संरक्षण मञ्चका सल्लाहकार, शनिश्चरे बहुमुखी क्याम्पसका संस्थापक सदस्य, कालिस्थान माविका पूर्वअध्यक्ष, शनिश्चरे बजार व्यवस्थापन समितिका सदस्य, शनिश्चरे प्रहरी चौकी व्यवस्थापन समिति सदस्य, सशस्त्र प्रहरी भवन निर्माण समितिका अध्यक्ष लगायत विभिन्न सामाजिक संघ–संस्थामा उनको उल्लेखनीय भूमिका छ ।

बीएण्डसी अस्पताल, कनकाई र मनमोहन अस्पतालको समेत सल्लाहकारका रुपमा रहेका उनी नगरका लोकप्रिय युवा नेताका रुपमा परिचित छन् । सडक, खानेपानी, वृद्धवृद्धाको आराम कक्ष, स्वास्थ्य चौकी लगायतका भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य काम गर्ने सोच बोकेका गोम्देनका योजना समग्र नगरको विकास गर्नु रहेको छ ।

अर्जुनधाराका केही वडा हरेक वर्ष वर्षायाममा डुव्ने गरेका छन् । तिनलाई डुवानबाट सुरक्षित राख्ने र वडालाई जोगाउन सिञ्चाइसहितको ड्याम निर्माण गर्ने मुख्य उद्देश्य उनको छ । बिर्तामोडबाट इलाम जाने सडकलाई फराकिलो बनाउने र नगरमा प्राविधिक शिक्षण संस्था स्थापना गरी प्राविधिक जनशक्ति उत्पादन गर्ने उनको प्राथमिकतामा रहेको छ । खेलकुद क्षेत्रको विकास गरी युवालाई अनुशासित बनाउने, समृद्ध नगर, खुशी र सुखी नगरवासी बनाउने उनका अन्य योजना हुन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here