भरतपुर विकासको जिम्मा मलाई दिनुहोस् : अध्यक्ष ओली

0
367

चितवन,

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको विकासको जिम्मा आफूलाई दिन आग्रह गर्नुभएको छ । नेकपा (एमाले) चितवनले आज यहाँ आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले एमालेका उम्मेदवारले जित हासिल गरेमा विकासको जिम्मा आफ्नो हुने बताउनुभयो ।

प्रतिनिधिसभाको निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने भन्दै उहाँले भन्नुभयो, “यहाँ विजयी सुवेदीलाई जिताउनुहोस्, विकासको जिम्मा मेरो ।” सुवेदीको पार्टीको माथिल्लो नेतृत्वसँग हटलाइन सम्बन्ध भएको भन्दै उहाँले विकासमा पहुँच पुग्ने बताउनुभयो ।

भरतपुर महानगरलाई आधुनिक सहरसँग स्मार्ट सिटी बनाउनुपर्ने भन्दै उहाँले यो काम सुवेदीबाट सम्भव भएको बताउनुभयो । गठबन्धन लामो समय नटिक्ने भन्दै उहाँले निर्वाचन खटिने राष्ट्रसेवक कर्मचारी, सेना, प्रहरीसँग परोक्ष र प्रत्यक्ष भूमिका खेल्ने सबैलाई विचलित नभई निर्वाचन निष्पक्ष बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “एमाले र एमालेको नेतृत्वको यस अभियानमा कुनै सहयोग गर्नु पर्दैन, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नुहोस् ।” उहाँले थप्नुभयो, “निर्वाचनपछि एमालेको सरकार बन्छ ।”

एमालेले सरकारमा खुट्टा टेक्यो कि विकासको गति पाँचौँ गियरमा कुद्ने भन्दै उहाँले विभिन्न समस्या झेलेर पनि काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एमाले सरकारमा ग¥यो कि नाकाबन्दीको सामना, गर्छ, उत्तरतिरबाट पारवाहको बाटो खुल्छ, विकासका गति अघि बढ्छन् ।” निर्वाचन देश बनाउने सवाल भएको भन्दै उहाँले एमालेले राष्ट्रिय अभियानको अगुवाई गरिरहेको दाबी गर्नुभयो ।

निर्वाचन आयोगले पार्टीका झण्डाका विषयमा जारी गरेको आदेशप्रति संकेत गर्दै उहाँले भन्नुभयो, “निर्वाचन आयोगले कसलाई जारी गरेको आदेश ? पाँच दलका नेताहरू सँगसँगै हिँडेर एकले अर्काका लागि भोट मागिरहेका छन् । एकले अर्काे झण्डा र उम्मेदवार बोकेको छ । अर्कैको प्रचार गरेकोछ ।”

सभामा पार्टी उपाध्यक्ष रामबहादुर थापाले समृद्ध नेपाल र समाजवादको बाटोमा जाने पार्टी एमाले भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा समाजवादको आधार सिर्जना गर्ने हो, पूर्णरुपमा विदेशी हस्तक्षेप रोक्ने काम एमालेले गर्छ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले देशमा राष्ट्रवादीहरुको एकता चितवनको माडी र भरतपुरबाट सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालका सुन्दर महानगरपालिका र नगरपालिका बनाउने उद्देश्यका साथ हामी हिँडेका छौँ ।”

सभामा एमाले नेता, काशिनाथ अधिकारी, नेतृ सीता पौडेल, देवी ज्ञवाली, जगन्नाथ थपलिया, कृष्णभक्त पोखरेल, रामप्रसाद न्यौपाने लगायतले सम्बोधन गर्नुभएको थियो । सो अवसरमा भरतपुरमा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार विजय सुवेदीले आफ्ना भावी योजनाका बारेमा बताउनुभएको थियो । भरतपुर महानगरपालिका र माडी नगरपालिकामा एमाले र राप्रपाबीच तालमेल भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here