मतदान केन्द्रमा पाल/त्रिपालको व्यवस्था गरिने, अत्यावश्यक सेवाका लागि सवारी पास नचाहिने

२६ बैशाख २०७९, सोमबार मा प्रकाशित

प्रकाश सिलवाल/काठमाडौँ, 

यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका दिन वर्षाका कारणले मतदान र मतगणना कार्य प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्री समेतको सुरक्षा गर्न निर्वाचन आयोगले तदारुकता देखाएको छ ।

उक्त दिन बिहान ७ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मतदान हुने सबै मतदान केन्द्रमा बर्सातको पानीबाट बच्न पाल/त्रिपाल वा प्लाष्टिकको व्यवस्था गर्नका लागि आयोगले सबै स्थानीय तहले सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोग ऐन, २०७३ को दफा ४० बमोजिम सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई निर्देशन दिने निर्णय गरेको छ ।

साथै सोको आवश्यक समन्वय एवं सहजीकरणका लागि गृह मन्त्रालयमार्फत सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

अत्यावश्क सेवाका लागि सवारी पास नचाहिने

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न आयोगले मतदानका दिन आन्तरिकरूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्ने निर्णय गरेको छ । निर्वाचनसम्बन्धी कुनै कार्यमा प्रयोग नहुने गरी एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगका सवारी साधनको हकमा सवारी अनुमतिपत्र लिनुपर्ने छैन ।

आयोगले स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि मिति २०७९ वैशाख २७ गते मङ्गलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि तोकिएका क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन कार्य सख्त निषेध गर्ने निर्णय गरेको छ ।

मतदाता शिक्षा दिइँदै

आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ वटा निर्वाचन अधिकृतको कार्यालय, सात वटा प्रदेश निर्वाचन कार्यालय र ७० वटा जिल्ला निर्वाचन कार्यालयलाई वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका तथा स्थानीय तह निर्वाचन निर्देशिकामा मतदानस्थलमा मतदाता सूचना कक्षका माध्यमबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था भएकामा मतदानको दिन (वैशाख ३० गते) उक्त कार्यक्रम नगरी मतदानको अघिल्ला दुई दिन (वैशाख २८ र २९ गते) मतदानस्थलमा सम्बन्धित मतदान अधिकृतको नेतृृत्वमा खटिने मतदान टोलीबाट आयोगले उपलब्ध गराएका मतदाता परिचयपत्रको वितरण गर्नेछ ।

आयोगले उपलब्ध गराएका नमूना मतपत्रलगायतका पोष्टर, ब्रोसर आदि छपाई सामग्रीका माध्यमबाट मतदान गर्ने सही तरिका गराउन निर्देशन दिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here