दृष्टिविहीनको मतदान सम्बन्धी गोपनीयता खै ?

२७ बैशाख २०७९, मंगलवार मा प्रकाशित

दिपेश राजवंशी,
झापा।

स्थानीय निर्वाचन २०७९ को रौनकताले सबै गाउँ–गाउँ अनि शहरका गल्ली गल्ली तातिएको छ । बजारका पसलदेखि लिएर घर–घरका आगन विभिन्न दलका झन्डा अनि उम्मेदवारहरुको ब्यानरले रंगीचंगी भएका छन् ।

कतै दलहरुको बाजागाजासहितको घरदैलो कार्यक्रम त कतै दलहरुको चुनावी गीत लाउडस्पिकरमा बजाउँदै मतदानको लागि आह्वान गर्दै गुडेको गाडी देख्न सकिन्छ । जताततै पार्टीका उम्मेदवार अनि तिनका अघिपछि कार्यकर्ताको हुल देख्दा साँच्चै चुनाव आएको आभाष हुन्छ । हिजोआज एकाबिहानै चोकको चिया दोकानदेखि बेलुका घरको भान्सासम्म चल्ने बहस नै चुनाव बनेको छ । कसैले भोटको लागि त कसैले परिवर्तनको लागि, कसैलाई गरिबीविरुद्ध त कसैलाई वेरोजगारीका विरुद्ध, आखिर चुनावले छोएकै छ ।

प्रजातान्त्रिक प्रणालीमा जनता चुनावको लागि उत्साहित हुनु सकारात्मक पक्ष हो, जसले व्यापक जनसहभागिता सुनिश्चित गर्छ । जनताको प्रतिनिधित्व गर्ने उम्मेदवार सक्षम हुन जरुरी छ र सक्षम उम्मेदवारको जितको निम्ति चुनावमा जनताको बहुमत अपरिहार्य छ । चुनाव आउन अब तीन दिनमात्र बाँकी छ । नेपाल हरेक दृष्टिकोणले विविधता भएको राष्ट्र हो, जहाँ शान्ति, स्थायित्व र बिकासको लागि राज्यको हरेक निकायमा समावेशिता हुनु जरुरी छ ।

समावेशी भन्ने बित्तिकै महिला, दलित, जनजाति, अल्पसंख्यक वा पिछडिएका बर्गका सवालहरु नै मानिसको बुझाइको मुख्य केन्द्र हुने गर्दछन् । तर, आसन्न निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुको सहभागितालाई राजनितिक दलहरुले महत्व नदिएको अपाङ्गता भएका व्यक्तिहरुको गुनासो छ । झापामा सबैतिर निर्वाचनमय वातावरण भए पनि दृष्टिविहीन नागरिकहरुमा चुनावप्रति खासै उत्साह देखिएको छैन । झापा नेत्रहीन संघका अध्यक्ष यशोदा बराललाई स्थानीय चुनावमा सक्रियताको साथ लाग्ने मन हुँदाहुँदै पनि दृष्टिविहीनहरुलाई राजनीतिक दलहरुबाट उपेक्षा गरिएको दुखेसो छ । अध्यक्ष यशोदा बराल भन्छिन्– ‘म आफै पनि एउटा पार्टीमा छु, विभिन्न जिम्मेवारी सम्हालेको छु, तर पार्टीको घरदैलो कार्यक्रममा मलाई कसैले पनि जान सोधेनन् ।’

स्थानीय निर्वाचन २०७९ मा कुनै पनि राजनीतिक दलहरुले दृष्टिविहीन नागरिकहरुको समस्यालाई आफ्नो प्राथमिकतामा नराखेको उनँको बुझाइ छ । यतिमात्र नभई दृष्टिविहीन व्यक्तिहरुको समस्या मतदान प्रक्रियासँग पनि जोडिएको छ । र यो समस्या स्थानीय निर्वाचन २०७९ मा पनि यथावत नै छ । अध्यक्ष बराल भन्छिन्– ‘निर्वाचनमा स्वतन्त्र रुपले सहभागी हुन पाउनु हरेक नेपालीको अधिकार हो जसमा गोपनीयता हुन्छ, तर दृष्टिविहीनहरुको सवालमा खै त्यो अधिकार अनि गोपनीयता ? किनभने दृष्टिविहीनहरुको सवालमा स्वयम् दृष्टिविहीन व्यक्तिले इच्छाएको दोस्रो व्यक्तिको सहायतामा मतदान गर्न पाउने व्यवस्था त छ । तर, जहाँ गोपनीयता भन्ने कुरा अलिकति पनि रहँदैन । यसको लागि सरकारले दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुको लागि ब्रेल लिपिमा मतपत्र छ्पाउनु पर्छ, जसले गर्दा दृष्टिविहीनहरुले आफ्नो मत स्वयम् आफै दिन सक्नेछन् ।’ अध्यक्ष बरालका अनुसार झापामा कम्तिमा सात सयदेखि आठ सयको संख्यामा दृष्टिविहीन नागरिक भए पनि विभिन्न कारणले झापा नेत्रहीन संघमा एक सय २८ जनाको सदस्यता छ ।

दृष्टिविहीन नागरिकहरुको दैनिक जीवनयापनदेखि लिएर शिक्षा र रोजगारीसम्मको समस्यालाई राज्यले सम्बोधन गर्न नसकेको भन्छिन्– हल्दिबारी गाउँपालिका वार्ड न. ४ बस्ने २८ वर्षीय दृष्टिविहीन दिलकुमार राजवंशी । जसको सवाल उसको नेतृत्व नभएसम्म अपाङ्गता भएका व्यक्तिहरुको समस्या कहिल्यै पनि समाधान नहुने र जति नै ऐन कानून बने पनि त्यसको व्यवहारिकता फितलो हुने उनको बुझाइ छ । उनी भन्छिन्– ‘झापामा दृष्टिविहीन बिद्यार्थीहरुको लागि ब्रेललिपिमा पढाई हुने दुईवटा मात्रै विद्यालय छन्, जुन पर्याप्त छैन । कम्तिमा प्रत्येक गाउँपालिकामा एउटा ब्रेल सिस्टममा पढाई हुने विद्यालय हुनु जरुरी छ, किनभने विद्यालय टाढा हुँदा दृष्टिविहीन विद्यार्थीको लागि दैनिक लामो यात्रा गर्न धेरै समस्या हुन्छ ।

शिक्षालाई जोड्दै दृष्टिविहीन दिलकुमार राजवंशी भन्छन्– दृष्टिविहीनहरुको लागि उच्च शिक्षा हासिल गर्न निकै ठूलो चुनौति छ, छात्रवृत्ति भनिन्छ । तर, प्रभावकारी छैन जहाँ अपाङ्गताभन्दा पनि पहुँचको कुरा हुन्छ र अर्को कुरा ब्रेल लिपिका पुस्तक निःशुल्क पाउने भएता पनि सहजै उपलब्ध हुँदैनन् अनि पुस्तक बिनै पढ्न धेरै गाह्रो हुन्छ । त्यसैले अब हरेक राजनीतिक दलहरुले आफ्नो पार्टीको घोषणा पत्रमा प्रत्येक पालिकाभित्र अपाङ्गतामैत्री संरचना र ब्रेललिपीमा पढाई हुने विद्यालय सुनिश्चित गर्नुपर्छ ।

स्थानीय चुनावमा भोट माग्दै हिँड्दा राजनीति दलहरुले दृष्टिविहीनहरुका समस्याको समाधानलाई आफ्नो एजेन्डामा नराखेको दृष्टिविहीन दिलकुमार राजवंशीको पनि गुनासो छ । उनी भन्छन्– ‘यदि अपाङ्गता भएका व्यक्ति हरुको भोट काम लाग्छ भने हरेक राजनीतिक दलहरुले अपाङ्गता भएको व्यक्तिहरुको पनि उम्मेदवारी छनौट गर्नुपर्छ र देशको हरेक क्षेत्र अपाङ्गता मैत्री बनाउनु जरुरी छ ।’

दृष्टिविहीन राजवंशीका अनुसार विश्व नै विज्ञान र प्रविधिको युगमा पुगिसकेको बेला नेपालमा पनि प्रविधिको प्रयोग बढाउनु पर्छ । नेपाल सरकारले स्थानीय निर्वाचनमा मात्र नभइ हरेक निर्वाचन इलेक्ट्रोनिक भोटिङ सिस्टम अनुसार गरिनुपर्छ । जसले गर्दा निर्वाचनप्रति सबैको विश्वसनीयता बढ्नु्को साथै निर्वाचन प्रणाली दृष्टिविहीन मैत्री हुन्छ र व्यक्तिको मतदान सम्बन्धी गोपनीयता पनि कायम हुने उनको विश्वास छ ।

दृष्टिविहीनहरुकै सवालमा आफ्नो अवस्था र पेशागत हिसाबले पनि आफूलाई खासै चुनाव नलागेको बताउँछन्– कन्काई नगरपालिका–२ स्थित जानकी आधारभूत विद्यालयका दृष्टिविहीन शिक्षक साथै झापा नेत्रहीन संघका सचिव भोजकुमार तामाङ । उनका अनुसार राजनीतिक दलका घोषणा पत्रहरु ब्रेल लिपिमा हँुदैनन । जसले गर्दा दृष्टिविहीन भएका व्यक्तिलाई ती घोषणा पत्र समेत अध्यन गर्न गाह्रो हुने गरेको छ । विगतका निर्वाचनमा पनि सहयोगीका माध्यमले आफ्नो मत दिएका शिक्षक भोजकुमार भन्छन्– ‘हरेक मानिसको आ–आफ्नै पार्टीप्रति आस्था हुन्छ, सहयोगीको माध्यमबाट मत खसाल्दा आफ्नो अमूल्य मत आफूले चाहेको उम्मेदवार वा दललाई नभई अरुलाई नै मत जाने ठूलो सम्भावना हुन्छ । त्यसैले गोपनीयतालाई पनि ध्यानमा राखेर दृष्टिविहीन व्यक्तिहरुको लागि ब्रेल लिपिमा मतपत्र हुनुपर्छ नत्र इलेक्ट्रोनिक भोटिङ सिस्टममा जानुको विकल्प छैन ।’

जिल्ला निर्वाचन कार्यालय झापाका, निर्वाचन अधिकारी, तुलसीकुमार नेपालले आसन्न स्थानीय निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताए । झापा जिल्लाभरि स्थानीय निर्वाचनमा कुनै पनि दृष्टिविहीन व्यक्तिको उम्मेदवारी नपरेको निर्वाचन अधिकारी नेपालले बताए । उनका अनुसार दृष्टिविहीन व्यक्तिले मतदान गर्न लाइनमा कुर्नु नपर्ने र आफ्नो मत दिनको लागि सकेसम्म आफ्नै परिवारको व्यक्ति वा अन्य कुनै इच्छाएको व्यक्ति र त्यो पनि नभए निर्वाचन अधिकृतको सहायतामा आफूले चाहेको उम्मेदवारलाई मत दिन सक्नेछन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here