‘लोकतन्त्रमा विश्वास गर्ने मुस्लिमले गठबन्धनका उम्मेदवारलाई मतदान गर्छन्’

२७ बैशाख २०७९, मंगलवार मा प्रकाशित

काठमाण्डौं ।

यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी छ । उम्मेदवारहरु मतदाता रिझाउन अन्तिम कसरतमा छन् । नेपालगन्ज उपमहानगरपालिकामा हरेक निर्वाचनमा नसोचेकै नतिजा आउने गरेको छ ।

त्यसकारण पनि सबैले नेपालगन्जको निर्वाचनलाई चासोका साथ हेरेका छन् । यसपटकको निर्वाचनमा नेपालगन्जबासीले युवा अनुहारलाई रोज्ने संकेत देखिएको छ । नेपाली कांग्रेससहित गठबन्धनका तर्फबाट नगर प्रमुख पदमा प्रशान्त विष्ट र उपप्रमुख पदमा कमरुद्धिन राई उम्मेदवार हुनुहुन्छ । यसै विषयमा संविधान सभाका सदस्य एवम् नेपाली कांग्रेसका नेता अब्दुल हमिद सिद्धिकी ‘भोला’ सँग गरिएको कुराकानी :-

१. नेपालगन्ज उपमहामनगरपालिकामा निर्वाचनको माहोल कस्तो छ ?

नेपालगन्जमा निर्वाचनको माहोल असाध्यै राम्रो देखिएको छ । मतदाताहरु उत्साहित देखिएका छन् । गठबन्धनका उम्मेदवारले जित्ने पक्का भइसकेको छ । जनताहरु अन्य राजनीतिक दलबाट निरास छन् । जनताले विश्वास गरेर दिएको मतबाट एमालेको बहुमतको सरकार बन्यो । तर, संविधानको मर्म विपरित काम गरेपछि जनताले गठबन्धनलाई चाहेका छन् । सबै मतदाता हाम्रो पक्षमा भएकाले जित सुनिश्चित छ ।

२. यहाँ गठबन्धनले नै जित्ने आधार के छ ?

गठबन्धनले जित्ने आधार भनेको नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी हो । यस क्षेत्रको ठुलो पार्टी हो । त्यसमाथि जसपा, जनमोर्चा लगायतका ५ दलसँगको गठबन्धन पनि जित्ने आधार हो । गठबन्धनका कारण नेपालगन्जका मतदातामा उत्साह छ । युवाहरुको माग पनि थियो कि अबको नेतृत्व युवाको हुनुपर्छ, भनेर । नेपाली कांग्रेसले पनि प्रशान्त विष्ट जस्तो युवा खोजेर दियो । विगतमा बहुमतको सरकार हुँदा एमालेले संविधानमाथि आक्रमण भयो । संसद नै भंग गरियो । २००७ सालदेखि जनताले चाहेको संविधानमाथि यसरी आक्रमण गर्नु कदापी सह्य छैन । त्यसैले पनि यसपटक गठबन्धनले जित्नैपर्छ र जित्छ पनि ।

३. तपाई मुस्लिम समुदायको अगुवा पनि हुनुहुन्छ, यसपटक नेपालगन्जका मुस्लिम समुदायले कसलाई मतदान गर्छन् ?

बाँकेका तीन वटै क्षेत्रमा मुस्लिम समुदायको बसोबास रहेको छ । मुस्लिम समुदायले सधै लोकतन्त्रमा विश्वास गर्छन् । प्रजातन्त्रमा विश्वास गर्छन् । त्यसमाथि धर्म विरोधीलाई मुस्लिम समुदायले सहयोग गर्ने कुरै हुदैन । त्यसैले गठबन्धनका उम्मेदवार प्रशान्त विष्टलाई रुख चिन्ह र कमरुद्धिन राईलाई छाता चिन्हमा मतदान गर्छन् । कम्युनिष्टको सरकारले विगतमा संवैधानिक अधिकार समेत रहेको मुस्लिम समुदायको, इद, बकर ईद लगायतका धार्मिक चाडपर्वको बिदा कटौती गरेपछि थप निराश भएका छन् । त्यसैले पनि यो निर्वाचनमा एकताबद्ध भएर मुस्लिम समुदायले गठबन्धनको जित चाहेका छन् ।

४. उम्मेदवारबाट नेपालगन्जका मुस्लिम समुदाय के चाहन्छन् ?

नेपालगन्ज धार्मिक तथा सामाजिक सद्भावको शहर हो । यहाँ सधै यस्तै शान्ति, सदभाव भइरहोस् भन्ने चाहान्छन् । हामी जुनसुकै जात, धर्म, वर्गको भएपनि यसरी नै मिलिरहुँ । गठबन्धनका उम्मेदवारले पनि नेपालगन्जलाई सदभावको शहर कायम राख्ने योजना ल्याएका छन् । त्यो हाम्रो पनि चाहाना हो ।

५. निर्वाचित हुने ब्यक्तिले नेपालगन्जका लागि के गर्न आवश्यक छ ?

निर्वाचित हुने व्यक्तिले नेपालगन्जको विकास गर्न आवश्यक छ । यहाँ खानेपानीको पनि समस्या छ । विद्युतको समस्या देखिरहेको छ । बेरोजगारी, स्वास्थ्य, शिक्षा लगायत पनि आवश्यक छ । नेपालगन्जलाई देशमै एउटा नमुना शहर बनाउनुपर्छ भन्ने चाहाना हो । नेपालगन्जलाई महानगरपालिका बनाउनुपर्छ भन्ने पनि यहाँको जनताको माग छ । गठबन्धन निर्वाचित भएपछि यो काम पनि गर्नेछ ।

६. नेपालगन्जका आम मतदातालाई के भन्नुहुन्छ ?

अन्त्यमा, अबको निर्वाचनमा गठबन्धन बाहेक अरु कुनै कसैको विकल्प छैन । सबैलाई जनताले हेरिहेका छन् । नेपालगन्जमा उठेका अन्य उम्मेदवारले नैतिकता देखाएका छैनन् । नन्दलाल बैश्य अवसरकै लागि राप्रपामा प्रवेश गरे । पशुपति पनि पार्टी फेरिरहने भएकाले जनताले विश्वास गर्न सकेका छैनन् । जनताहरुले ती अवसरवादीहरुलाई चिनिसकेका छन् । नेपालगन्जलाई अहिलेको आवश्यक्ता भनेको गठबन्धन नै हो ।

त्यसैले पनि गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि म हार्दिक अपिल गर्न चाहान्छु । एमाले र राप्रपालाई पत्ता साप गर्ने हाम्रो योजनामा साथ दिन सबैलाई अनरोध गर्दछु । बाँके जिल्ला संविधानका पिता सुशील कोइरालाको जिल्ला हो । त्यसकारण पनि यहाँ कांग्रेसलाई जिताउन आवश्यक छ । गठबन्धन भएकाले जसपाका उम्मेदवारलाई पनि जिताउन अनुरोध गर्दछु ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here