‘निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी’

२८ बैशाख २०७९, बुधबार मा प्रकाशित

दमौली, 

तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लामा निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको बताउनुभएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन प्रशासन प्रतिबद्ध रहेको अर्यालले बताउनुभयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको कार्यालयले मङ्गलबार जिल्लाको मानवअधिकारको अवस्था र निर्वाचनपूर्व अनुगमनको क्रममा प्रजिअ अर्यालले नेपाली सेनाको कमाण्डमा चारवटै सुरक्षा निकाय प्रभावकारीरूपमा परिचालन भइरहेको बताउनुभयो । राजनीतिक दलहरूको पटक–पटक बैठक राखेर निर्वाचन आचारसंहिताको प्रभावकारी पालनाका लागि जोड दिइएको र निर्वाचन आचारसंहिता उल्लङ्घन भएको देखिए त्यस्तो अवस्थामा सम्बन्धितलाई सचेत गराइएको उहाँले बताउनुभयो ।

निर्वाचनलाई भयरहित, स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सुरक्षा निकाय, कर्मचारी, राजनीतिक दल सबै प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । स्थानीय विशेष सुरक्षा व्यवस्था गरी निर्वाचन कार्यालय, उम्मेदवार, निर्वाचन सामग्री, दलको प्रचारप्रसार, मतदान सुरक्षा, मतदान केन्द्र सुरक्षा गरी तीन तहमा सुरक्षा प्रबन्ध गरिएको उहाँको भनाइ छ ।

जिल्लाका १३६ वटै मतदात केन्द्र र २९७ वटै मतदानस्थलमा खटिने कर्मचारीको व्यवस्थापन भई कर्मचारी आफ्नो मतदान केन्द्रमा पुग्ने क्रम जारी रहेको प्रजिअ अर्यालले बताउनुभयो । एउटा मतदान केन्द्रमा २४ जनासम्मको सुरक्षाकर्मी परिचालन गरिने प्रजिअ अर्यालले बताउनुभयो ।

अनुगमनका क्रममा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले इन्सेकले मानवअधिकारको संरक्षणमा कार्य गर्दै आएको र निरन्तररूपमा निर्वाचनको पर्यवेक्षणको काम गरिरहेको जानकारी गराउनुभयो । सो टोलीले जिल्लाका पर्यवक्षेकसँग पनि अन्तक्र्रिया गरेको थियो । सो क्रममा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) तनहुँकी अध्यक्ष सोनी शर्माले पर्यवेक्षकहरूले निर्वाचन आचारसंहिताको पालनाको अनुगमन र समग्र निर्वाचन कार्यक्रमको अनुगमन गरिरहेको बताउनुभयो ।

इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक खकुरेल, इन्सेकका कार्यक्रम अधिकृत सवनम शर्मा, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)का गण्डकी प्रदेश समितिका सदस्य प्रेम सोम्याङ, इन्सेक जिल्ला प्रतिनिधि, नियोक तनहुँ जिल्ला अध्यक्ष सोनी शर्मासहितको टोलीले जिल्लामा मानवअधिकार र निर्वाचनपूर्व अनुगमन गर्नुभएको थियो ।

तनहुँका २७२ मतदान केन्द्रमा मतपत्र पुग्यो, २५ केन्द्रमा आज

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँका २७२ मतदान केन्द्रमा मतपत्र, मतपेटिकासहितका सबै सामग्री पुगेको छ । जिल्लाका २९७ मतदान केन्द्रमध्ये २७२ मतदान केन्द्रमा मङ्गलबार रातिसम्म मतपत्र, मतपेटिकालगायत ६१ निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् ।

बाँकी २५ मतदान केन्द्रमा आज मतपत्र, मतपेटिकालगायत सामग्री पठाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदरमुकामबाट नजिकै रहेका मतदान केन्द्रमा मात्रै सामग्री र कर्मचारी पुग्न बाँकी रहेको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत कृष्ण गौतमले व्यास नगरपालिकाका २१, ऋषिङ गाउँपालिकाका एक र म्याग्दे गाउँपालिकाका तीन मतदान केन्द्रमा मात्रै निर्वाचन सामग्री र कर्मचारी पुग्न बाँकी रहेको जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र उपलब्ध गराइएको छ भने जिल्ला निर्वाचन कार्यालयबाट मतपेटिकालगायत ६१ सामग्री उपलब्ध गराइएको छ । निर्वाचन कार्यालयले भने २९७ मतदान केन्द्रका लागि नै सामग्री प्रदान गरिसकेको निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

निर्वाचन सामग्री बुझेपछि सुरक्षा निकायको निगरानीमा कर्मचारीलाई सम्बन्धित मतदान केन्द्रसम्म लैजाने व्यवस्था मिलाइएको छ । मतदान केन्द्रमा खटिने सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेपछि सम्बन्धित ठाउँका राजनीतिक दलसँग बैठक, मतदाता परिचयपत्र वितरण, मतदान केन्द्र निर्माणलगायत काम हुनेछन् ।

निर्वाचनमा खटिने एक हजार ४८५ मध्ये ८९१ कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ति र तलबभत्ता उपलब्ध गराइएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले जानकारी दिनुभयो ।

जिल्लाका मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक, सहयोगी र अन्य गरी दुई हजार ३७६ जनशक्ति परिचालन गरिएको छ । निर्वाचनका लागि २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत, ५९४ सहायक, २९७ सहयोगी परिचालन गरिएको छ । त्यसका साथै मतदान केन्द्रमा ८९१ कर्मचारी नियुक्त गरिएको छ । तनहुँका दुई लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तह निर्वाचनमा भन्दा यसपटक ४९ हजार ८६९ बढी मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता रहेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here