कुशल प्रतिनिधि छनौट गरौं

२८ बैशाख २०७९, बुधबार मा प्रकाशित

संघीय शासन प्रणाली अनुसारको स्थानीय तहको दोस्रो आवधिक निर्वाचनको संघारमा छौं– हामी । निर्वाचन प्रक्रिया अनुसार मंगलबार रातिदेखि मौन अवधि शुरु भएको छ । मतदाताले आफूसँग रहेको सार्वभौम अधिकार आफ्ना प्रतिनिधिलाई हस्तान्तरण गर्ने पर्वका रुपमा मानिन्छ मतदानलाई । यद्यपि हाम्रा विगतका कुनै पनि निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी र धाँधलीरहित भएको सुनिएको छैन । त्यसमा पनि सरकारमा बस्ने दलले बढी धाँधली गरेको आरोप लाग्दै आएको छ । जुन आरोपबाट कांग्रेस, एमाले र माओवादी मुक्त छैनन् । विगतमा फर्जी मतदान, बुथ कब्जा, मतदातामाथि धम्की लगायतका समस्या देखिएकै हुन् । विकास, रोजगारीको आश्वासन बाँड्ने, मतदातालाई खरिद गर्ने, भोजभतेर गर्ने, विपक्षीलाई समेत आर्थिक प्रलोभनमा पार्ने, अधिकारको दुरुपयोग गर्ने जस्ता विकृतिको अन्त्य गरेर निर्वाचनलाई प्रजातन्त्रको सौन्दर्य बनाउनु आजको चुनौति र आवश्यकता दुबै हो ।

निर्वाचनको स्वच्छता, पारदर्शिता, स्वतन्त्रताको रक्षा गर्न पर्यवेक्षण समिति बनाइन्छ । नागरिक समाजदेखि स्वयम्सेवी संस्थाहरुको प्रतिनिधिमूलक भनिने केन्द्रदेखि स्थानीय तहसम्मका पर्यवेक्षकहरुको प्रतिवेदन र त्यसको कार्यान्वयन जहिल्यै अपारदर्शी रहन्छ । आज संस्थाहरु स्वयम् स्वतन्त्र रहन सकेका छैनन्, नागरिक समाज, बुद्धिजीवी, पेशाकर्मी, व्यवसायी सबै कतै न कतै विभाजित छन् । त्यसलाई स्वतन्त्र राख्न र स्वतन्त्र तथा निष्पक्ष पर्यवेक्षण गराउने वातावरण तयार गर्नु आयोग, सरकार र राजनीतिक दलहरु कै दायित्व हो । निर्वाचनलाई मर्यादित बनाउन नसक्दा राज्यप्रतिको विश्वास कमजोर हुन्छ । वर्तमानमा लोकतान्त्रिक प्रणाली नै संकटमा पर्न सक्छ ।

निर्वाचनको दुई दिनअघिको यो समय अत्यन्त संक्रमणको समय हो । उम्मेदवारहरुले यहीबेला मतदातालाई विभिन्न प्रलोभनमा पार्न सक्छन् । भोजभतेरको आयोजना गरेर सिधासादा मतदातालाई स्वतन्त्र र भयरहीत मतदान गर्न अवरोध खडा गर्न सक्छन् । नेताहरुका चिप्ला भाषण, प्रलोभन वा त्रासको वातावरणको मतदानले केही व्यक्तिलाई फाइदा त होला, तर देश र समाज दीर्घकालसम्म ठगिने छ । स्थानीय तहको विकास र समृद्धिका लागि इमानदार, सक्षम र कुशल व्यक्ति नै निर्वाचित हुनुपर्छ । पार्टीगत मतदाता बनेर स्थानीय आवश्यकताको पहिचान हुँदैन न त स्थानीय समृद्धिमा योग पुग्छ । तसर्थ, पेशामुखी बन्दै गएको आजको राजनीतिलाई सेवामुखी बनाउन असल नेतृत्वको छनौटमा स्थानीय तहका मतदाताले विवेक पु¥याउनै पर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here