मोरङको मिक्लाजुङमा शक्तिशाली विस्फोट

२९ बैशाख २०७९, बिहीबार मा प्रकाशित

मोरङ ।

स्थानीय तह निर्वाचनको सम्मुखमा मोरङको दुर्गम मिक्लाजुङ गाउँपालिकामा बुधवार राति शक्तिशाली विस्फोट भएको छ । बम विस्फोट गराइएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरीका अनुसार विस्फोट गराइएको स्थानको पहिचान हुन बाँकी छ । मिक्लाजुङ-१ को सरस्वती आधारभूत विद्यालयका शिक्षक मदन श्रेष्ठका अनुसार राति ११ देखि १२ बजेको बीचमा विस्फोटको ठुलो आवाज आएको थियो ।

‘रातको समयमा कहाँ विस्फोट गराइएको हो भन्ने यकिन भइसकेको छैन,’ उनले भने, ‘विस्फोटको घटनापछि स्थानीय त्रसित बनेका छन् । ’ यसैबिच मिक्लाजुङ(१ बर्खेमा बिहीबार बिहान बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको छ। विद्यालयबाट लगभग ५० मिटर दूरीको सडकमा प्रेसर कुकर फेला परेको हो। खतरा भनेर लेखिएको र तारहरू बाहिर निकालेर सडकमा छाडिएको अवस्थामा प्रेसर कुकर भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कुकर भेटिएको सडकमा दुई वटा बाँस पनि तेर्स्याइएको छ । शङ्कास्पद वस्तु भेटिएको जानकारी आउनसाथ नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेर प्रहरीले घटनास्थललाई सुरक्षित राखेको श्रेष्ठले बताए । अहिले सेनाको टोली घटनास्थलतर्फ जाँदै छ । सडकमा शङ्कास्पद तरिकाले राखिएको प्रेसर कुकर देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन्। प्रहरीका अनुसार उक्त वस्तु भेटिएको स्थान मिक्लाजुङको रमितेबाट लगभग १२ किलोमिटर पूर्वतर्फ पर्छ ।

उक्त स्थान उर्लाबारीबाट भने ३२ किलोमिटर उत्तरमा पर्छ । ‘बर्खे भन्ने स्थानमा राति विस्फोट गराइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यही ठाउँ आसपासमा भोलिपल्ट बिहान बमजस्तो देखिने प्रेसर कुकर भेटिएको छ ।’ प्रहरीले निर्वाचन विरोधी समूहले विस्फोट गराएको र सडकमा शङ्कास्पद वस्तु राखेको हुनसक्ने अनुमान गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here