पथरीशनिश्चरेमा शान्तिपुर्ण रुपले निर्वाचन सम्पन्न

३० बैशाख २०७९, शुक्रबार मा प्रकाशित

छविराज ढकाल/ पथरीशनिश्चरे,

१, शान्ति पुर्ण निर्वाचन सम्पन्न –

पथरीशनिश्चरे नगरमा शुक्रबार भएको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। नगरका १० वटै वडाहरुमा रहेका २० मतदानस्थानका ५९ वटा मतदान केन्द्रहरूमा शान्ति र सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको पथरीशनिश्चरेका प्रमुख निर्वाचन अधिकृत खगेन्द्र सुवेदीले बताउनुभएको हो।

उहाँले नगरका सबै वडाहरुमा सभ्य र शान्ति पुर्ण रुपमा निर्वाचन सम्पन्न भएको जनाउँदै कुल मतदाता संख्याको ७० प्रतिशत हाराहारीमा मतदान भएको बताउनु भयो। नगरमा २० वटा मतदानस्थलमा ५९ केन्द्रहरू तोकिएको थियो। जसमा, पथरी बजार क्षेत्रका रुपमा रहेको वडा नम्बर १ मा सबैभन्दा बढी ७ हजार ६ सय ७९ मतदाता छन् । २ मा ५ हजार ४५, ३ मा ५ हजार ३ सय ७३, ४ मा ५ हजार ६ सय ३७, ५ मा ४ हजार ३ सय ५६, ६ मा ४ हजार ८ सय २२, ७ मा ४ हजार ७३, ८ मा ४ हजार २ सय ९९, ९ मा ४ हजार ९ सय ७० र १० मा ५ हजार ७० जना गरी नगरमा कुल ५१ हजार ३ सय २४ मतदाता रहेकाे छ। ति वडाहरुमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म नै मतदान प्रक्रिया सुचारु भएको थियो।

२, निर्वाचन अधिकृत सहितको टोलीको अनुगमन :-

पथरीशनिश्चरे नगरको निर्वाचन अधिकृतको कार्यालयका प्रमुख अधिकृत खगेन्द्र सुवेदी , सहायक निर्वाचन अधिकृत पुण्य प्रसाद पौडेल , लुक प्रसाद कोइराला., सशस्त्र प्रहरी बलका प्रमुख डिएसपी खगेन्द्र बहादुर चन्द समेतको टोलीले हिरक आधारभूत विद्यालयमा भैरहेको मतदान कार्यको अनुगमन गर्नुभएको थियो भने उहाँहरूले नगरका २० वटै मतदान केन्द्रमा भैरहेको मतदान कार्यको पनि अनुगमन गर्नुभएको थियो।

३, कुन- कुन उम्मेदवारले कहाँ मतदान गर्नुभयो?

उता, वर्तमान नगरपालिकाकी उपमेयर यमुना विष्ट वास्तोलाले बिहान ९ बजे पथरीशनिश्चरे नगरपालिका बहुमुखी क्याम्पस मतदान केन्द्रमा मतदान गर्नुभएको थियो।

यसैगरी, आजै तीन दलीय गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज दिननाथ तिम्सिनाले बिहान ७:३० बजे नै पथरी बहुमुखी क्याम्पसको मतदान केन्द्रमा मतदान गर्नुभएको थियो। यसैगरी, नेकपा एमालेका मेयर पदका उम्मेदवार मोहन तुम्वापोले पञ्चायत माध्यमिक विद्यालयको मतदानस्थलमा बिहान नै मतदान गर्नु भएको थियो भने नेपाली काँग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार नगेन्द्र सुब्बाले पथरी बहुमुखी क्याम्पसको मतदानस्थलमा मतदान गर्नुभएको थियो।उता,राप्रपाका उम्मेद्धार साम्मर बहादुर थुलुङ राईले पनि बिहान ७:५५ बजे हिरक आधारभूत विद्यालयमामतदान गर्नुभएको थियो।

यसैगरी, एमालेका तर्फबाट उप-मेयर पदका लागि देविमाया काफ्लेले वडा नं ६ स्थित दुर्गा आधारभूत विद्यालयमा मतदानस्थलमा मतदान गर्नुभएको थियो। त्यस्तै, नेपाली कांग्रेसकी उप मेयर पदको उम्मेदवार कविता पराजुलीले पथरी बहुमुखी क्याम्पसको मतदान केन्द्रमा मतदान गर्नुभएको थियो भने तीन दलीय गठबन्धनको तर्फबाट उप-मेयर पदकी उम्मेदवार विन्दा देवी राई बिन्दुले बिहान ८ बजे हिरक माविको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको थियो भने दोस्रो संविधान सभाका सभासद चण्डीप्रसाद राईले बेलुकी ४:३० बजे हिरक आधारभूत विद्यालयमा मतदान गर्नुभएको थियो।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here