संगीतमय स्थानीय चुनाउ

३१ बैशाख २०७९, शनिबार मा प्रकाशित

स्थानीय चुनाउ निकै उत्साहजनक देखिएको छ । यसका विभिन्न सकारात्मक कारणहरु हुनसक्छन् । पहिलो कारण, स्थानीय सरकार मार्पmत देश र जनताको सेवा निकै प्रभावकारी रुपमा गर्न सकिन्छ । दोस्रो, स्थानीय सरकारप्रति जनताको भरोसा । तेस्रो, राजनीतिमा लाग्नेहरुका लागि स्थानीय सरकार निकै नै राम्रो सिकाई केन्द्र । चौथो, स्पेस पाउने अवसर र पाँचौ कारणमा स्थानीय सरकारको पद आकर्षक वैतनिक (भत्तायुक्त) हुनु । त्यसैले पनि स्थानीय चुनाउको माहोल उत्साहजनक भएको हो ।

स्थानीय चुनाउको अर्को चाखलाग्दो विशेषता भनेको, चुनाउको माहोल संगीतमय रह्यो । चुनाउको प्रचारप्रसार शतप्रतिशत संगीतमय रह्यो । उम्मेद्वारहरुले स्थानीय जनतामाझ भोट गीतसंगीतको माध्यमबाट मागे । गीतसंगीतकै माध्यमबाट उम्मेद्वार विशेष र राजनीतिक पार्टीबारे सुनाए, बुझाए, अथ्र्याए, बाचा गरे, योजना र कार्यक्रम घोषणा पनि गरे । नेपाली विभिन्न सुमधुर भाका र तालमा सिर्जना गरिएका चुनाउ सम्बन्धी गीतसंगीत के शहर, के बजार, के गाउँघर सबैतिर दुईसाता जोरस्वरले घन्किए । प्रचारप्रसारमा निस्किएकाहरु बडो रमाइलोसँग गीतसंगीतको लय र तालमा उदुम्सँग नाच्तै भोट मागे । स्थानीय जनताले आआफ्नै टोल, गाउँघर र आगनमा नेपाली सांगीतिक कार्यक्रमको आनन्द लिन पाए ।

उम्मेद्वारहरुलाई गीतसंगीतले निकै नै सहज भयो । धेरै बोल्न र भाषण दिइरहन पनि परेन । कतिपय ठाउँमा त चुनाउका गीत सुनाउने साउण्ड सिस्टम बाहक सवारी साधनमात्र चुनाउको गीत सुनाउन पुगे । तै पनि प्रचारप्रसार भइ गयो । चुनाउको प्रसारप्रसारको दौरान गीतमै धेरै कुरा भनिए । पार्टीका सिद्धान्त, योगदान, विकास निर्माण देखि जनकल्याणका कुरा, योजना र कार्यक्रम सबै गीतसंगीतका माध्यमले व्यक्त गरिए ।

चुनाउ प्रसारप्रसारका क्रममा सुनिएका केही गीतसंगीतका शब्दहरु संक्षिप्त रुपमा प्रस्तुत छन् ः
‘जनता जगाउने कलममा छाप लगाउने । कलम हो है चुनाव चिन्ह छाप लगाऔँ ।’ अर्का उम्मेद्वार पनि आए गीत घन्काउँदै, ‘समाजवाद निर्माण गर्न जनता जगाऔँ ।’ अर्का आए, ‘एकीकृत समाजवादी हाम्रो पार्टी हो, क्रान्तिकारी विकास गर्न जन्भिएको हो’ गीत सुनाउँदै । अलि भरे आए, ‘कमरेडहरु लाल सलाम लाल सलाम’ भन्दै । ‘भोट हाँलौ हलोमा । राप्रपा जिन्दावाद । भोट के मा हलोमा भोट के मा हलोमा । हलोमा हलोमा । आमा बाबु दाजु भाई भोट हालौँ हलोलाई’ निकै मजले अर्का उम्मेद्वारले गीत घन्काए ।

अर्का उम्मेदरका हुल आए ‘हजुरबाले भन्नुहुन्छ सूर्यमा भोट हाल्ने । हजुआमा भन्नु हुन्छ एमाले हो पाल्ने । भोट के मा सूर्यमा । सइ पनि एमाले मै पनि एमाले ।’ अर्का उम्मेद्वार पनि के कम ? ‘जय नेपाल जय नेपाल नेपाली कांग्रेस जिन्दाबाद । च्याप्पै स्वस्तिक समाउने, छ्याप्पै रुखमा छाप लगाउने । माटोले खोजेको यो मनले राजेको नेपाली कांग्रेस जनजन मनमनमा ।’ अर्कोदिन कोही आए, ‘गठबन्धन जिन्दावाद । भोट कल्लाई गठबन्धनलाई’ भन्दै । अर्कोदिन आइपुगे अर्को समूह, ‘होइन होइन हाम्रो भोट नदीनाला बेच्नेलाई, हाम्रो भोट मादललाई ।’

वाह ! कति राम्रा शब्दहरु, तालहरु र संगीतहरु । नेपाली बाजागाजाका मीठा धुन र नेपाली गायक गायीकाका सुमधुर स्वरले सजिएका चुनाउको गीतहरुले गाउँघर, टोल, बजार र शहरहरु गुन्ञिए । कोभिड र आर्थिक मन्दीले दिक्दार भएका मनहरु संगीतमय चुनाउको माहोलले निकै रमाए ।

पक्कै पनि अरु धेरै धेरै गीतहरु पनि गुञ्जिए होलान् । प्रचारप्रसारका क्रममा टोलमा आइपुगेका गीत सुनेर याद भएका आधारमा यी गीतहरुका शब्दहरु उल्लेख गरिएका हुन् । त्यसैले संक्षिप्त हुन गए । जानाजान छुटाइएको होइन ।

गीतहरुमा आकर्षक ढङ्गले धेरै कुरा व्यक्त गरिए । मतदान केन्द्रहरुमा उत्साहजनक सहभागिता हुनु निश्चय पनि गीतसंगीतको भूमिका रहेको छ भन्न सकिन्छ । गीतसंगीतको सकारात्मक प्रभाव हो यो । त्यसमा पनि नेपाली गीतसंगीत त्यसै पनि मीठो । प्रायशः लोक भाकामा चुनाउका गीत बनाइएका पाइए । चुनाउ नै सही नेपाली गीतसंगीत संरक्षणका क्षेत्रमा निकै महत्वपूर्ण भूमिका रहेको मान्न सकिन्छ । भाषा, साहित्यको हिसाबले पनि यो निकै सकारात्मक पाटो हो । प्रश्न मात्र यति हो कि, गीतसंगीतलाई कसरी राम्रो काममा राम्रोसँग उपयोग गर्ने ?

अर्को सकारात्मक पक्ष, नेपाली ठेट लोकभाका, लोक गीतसंगीतको विकास, संरक्षण र प्रबर्धनमा पनि निकै योगदान रह्यो । बाद्य यन्त्र, बाद्यवादन कलाका क्षेत्रमा पनि निकै राम्रो काम भएको मान्न सकिन्छ । गीतसंगीत रेकर्डिङ्ग स्टुडियो संचालकहरुलाई पनि निकै सहयोग पुग्यो होला ।

गायक, संगीतकार, एरेन्जर र शब्दकारहरुलाई पनि आर्थिक भरथेग भयो नै होला । भन्नुको मतलब नेपाली गीतसंगीत उद्योगमा नै स्थानीय चुनाउले निकै नै सकारात्मक परिणाम दिएको छ । गीतसंगीतसँग प्रत्यक्ष, अप्रत्यक्ष रुपमा जोडिने पक्षहरुलाई पनि केही न केही आर्थिक भरथेग पुग्यो होला । जस्तो, साउण्ड सिस्टम उद्यमी, अटो, पिकअप लगायतका सवारी साधन अरु थुप्रै पक्षलाई सहयोग अबश्य नै पुग्यो नै होला ।

राजनीतिक पार्टी, राजनीतिज्ञ, उम्मेद्वारहरुलाई धन्यवाद दिनै पर्दछ । किनकि, नेपाली राजनीति, राजनीतिज्ञहरुले नेपाली गीतसंगीतको विकासका लागि योगदान गरेनन् भन्ने जुन गुनासाहरु सुनिन्छ, स्थानीय चुनाउ संगीतमय बनिनुले ती गुनासाहरु निकै हदसम्म सम्बोधन भएका छन् । नेपाली गीतसंगीत अर्थात कलाक्षेत्र र नेपाली राजनीतिक क्षेत्र, एकले अर्कालाई आआफ्नो राम्रो पार्टनर सम्झन सक्ने वातावरण श्रृजना भएको छ ।

स्थानीय चुनाउको माहोलले चाडवाडकै झल्को दिएको छ । छिट्फुट घटना बाहेक साह्रै रमाइलो वातावरण रह्यो । यस्तो हुनु एकदमै सकारात्मक कुरा हो जसले नेपालको स्थानीय जनता, स्थानीय उम्मेदवार, स्थानीय चुनाउ र स्थानीय सरकारको महत्व बढेर जान्छ । स्थानीय चुनाउ उत्साहजनक हुनु स्थानीय स्तरमा सिंहदरवार आइपुगेको महसुस हुनु हो ।

जानकारहरुका अनुसार राजनीतिक पार्टीहरु र उम्मेद्वारहरुले गर्ने चुनाउ खर्चले मुद्रा स्फिती बढाउँछ । निश्चयपनि होला तर चुनावी खर्च जहाँ जहाँ र जजसकहाँ पुग्छन् या पुगे ती वर्गलाई आर्थिक भरथेग अबश्य नै हुन्छ र भएका छन् पनि । केवल राजश्व र मूल्य अभिबृद्धी कर मात्रको आशा गरेर हुन्न । मध्यम, निम्न वर्ग, अनि साना र मझ्यौला इलमी या उद्यमी पनि त बाँच्नु पर्यो नि होइन र ?

स्थानीय चुनाउ जति नै उत्साहजनक रहोस् तर स्थानीय स्तर कति हदसम्म परिपक्व हुँदै आयो ? र कति राम्रो, सरल, सबल र अब्बल प्रणाली बसाइँदै आइयो त्यो चाहिँ सबैभन्दा महत्वपूर्ण उपलब्धी हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here