बद्लिँदो परिवेशमा राजनीतिक दलका चुनौतिहरू

२ जेष्ठ २०७९, सोमबार मा प्रकाशित

मुलुकमा यतिबेला स्थानीय निर्वाचन–२०७९ को मतगणना जारी छ र सबैभन्दा बढी चर्चापरिचर्चा चुनावको नतिजाका बारेमा छ । राजनीतिक दलले दिएका उम्मेदवारले विजय हासिल गर्नुलाई स्वभाविक मानिन्छ, तर राजनीतिक दल वा कुनै संगठन/संस्थाको सहयोग नपाएका व्यक्तिहरू पनि मतगणनाका क्रममा प्रतिष्पर्धामा देखिएका छन् । काठमाडौं महानगरपालिकामा बालेन साह र सुमन सायमी, धरान उपमहानगरपालिकामा हर्कराज राई लगायतका स्वतन्त्र रूपमा उम्मेदवारी दिनेहरू अहिले राष्ट्रिय चर्चाको विषय बनेका छन् ।

अन्ततः उनीहरूको जीत हुन पनि सक्छ र नहुन पनि सक्छ, तर राजनीतिक दलका सामु प्रश्नचिन्ह खडा भएको छ– वास्तवमा यस्तो किन भइरहेको छ ? के दलहरूले सही भूमिका निर्वाह गर्दैनन् भन्ने नागरिकहरूलाई अनुभूति भएको हो ? के अब विचारधाराको राजनीति सकिएको हो ? शुरुवाती मतको अनुपात हेर्दा बालेनले काठमाडौं महानगरको प्रमुखमा चुनाव जित्न सक्छन् । तर, जित–हार जे भए पनि बालेनको उम्मेदवारी र लोकप्रियताले दलसामु अजङ्गको प्रश्न तेर्साएको छ ।

२०७४ को स्थानीय चुनावमा २३ हजार मत पाएकी रञ्जु दर्शना र १८ हजार मत पाउने किशोर थापाको पछि जे भए पनि विवेकशील नेपाली दल र साझा पार्टीको साथ थियो, तर उनीहरूले पनि त्यति धेरै मत ल्याउनु भनेको नेपाली जनमत वैकल्पिक राजनीतिप्रति आकर्षित हुन खोजेका हुन् कि भन्ने प्रश्न पनि उब्जन्छ । अहिले विवेकशील साझा पार्टीप्रतिको समर्थन ह्वात्तै घटेको छ । बालेनको हकमा पनि समर्थकहरूको संख्या बढाउनु र मत कमाउनु मात्र ठूलो कुरा हुने छैन, दैनिक कामका अन्तर्विरोधसँग अभ्यस्त हुने र सिर्जनशीलतासहित भारतको आम आदमी पार्टी (आप) ले गरे जस्तै काम गर्न टिमको आवश्यकता पर्नेछ उनलाई । जीत हासिल गरे भनेपछि बालेनले त्यो मिलाउलान्, नभए कर्मचारीतन्त्र हावी हुने र शासन प्रशासन चल्ने हो ।

आजको मूल प्रश्न बालेनले के गर्लान्भन्दा पनि पार्टीको हकमा नयाँ ढंगले आत्मसमीक्षा गर्न अब समय आएको हो कि होइन भन्ने हो । आम मतदाता पार्टीहरूसँग रिसाएर, निराश भएर वा योजनाको कमी भएर अरू विकल्प खोज्न चाहिरहेका छन् ? के मानिसप्रतिको आकर्षणले दलइतर मतदान गर्न मानिस लालायित भएका हुन् कि आम मानिसले नयाँ विचार प्रवाहमा आफ्नो भविष्य खोजिरहेको हो भनेर हरेक दलले आत्मचिन्तन गर्ने बेला आएको हो ।

सर्वसाधारण मानिसको मनोविज्ञान र विचारलाई बेवास्ता गरेकै कारण यस्तो भएको हो । यसका लागि को को दोषी छन् ? राजनीतिक दलका नीति–निर्माता, नेतृत्वगण, संगठक, बुद्धिजीवी र सिङ्गो सञ्चारजगत यसका लागि जिम्मेवार छन् । समयको पदचाप सुन्न नसक्ने, समय समाउन नसकेको सञ्चारजगत दल विशेषका उम्मेदवारका पछि मात्र लागेका कारणले सञ्चारजगतका प्रस्तुतिप्रति पनि विश्वास भएन जनतामा र उनीहरू नसोचेको निर्णय लिन तम्सिए । बालेन साहप्रतिको युवाको झुकावलाई स्थापित पार्टीहरू प्रतिको वितृष्णा मात्र होइन, आममानिसका विचारलाई पार्टीका नीति, कार्यक्रम र कार्ययोजनाले छुन नसकेको र दलको विश्वासमा कमी आएको रूपमा बुझ्नुपर्छ । राजनीति षडयन्त्र, जालझेल र कपट मात्र होइन, आम नागरिकको हरेक पाइलामा राजनीतिले पछ्यायो वा आफ्नै भुलभुलैयामा अल्मिलियो भन्ने अहम् प्रश्न हो । नातावाद, मोलमोलाइका आधारमा टिकट वितरण गरिएको भन्न नमिल्ने, तर सबैले बुझेको सत्य हो ।

आजको महत्वपूर्ण कुरा राजनीतिमा युवाको सहभागिताको प्रश्न हो । पिपलको काप फोरेर नयाँ पुस्ता नवीन ज्ञान, नवीन तकनिकी र नवीन सोच लिएर आइसकेको छ । स्वदेशी, विदेशी विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानबाट उच्च शिक्षा हासिल गरेका युवाहरूको राजनीतिमा सकारात्मक सहभागिता जरुरी छ । वस्तुगत संसारले मानिसको सोच्ने शैलीमा परिवर्तन ल्याउने हो र नवीन सोचले वस्तुगत अवस्थालाई पनि परिवर्तन गर्दै जाने हो भन्ने द्वन्द्ववादी नियम युवाको हकमा पनि लागू हुन्छ । विचार निर्माण कहाँबाट हुन्छ ? मुठ्ठीभर मानिसको अधीनमा हुन्छ विचार निर्माणको काम ? होइन, विचार निर्माण जसले पनि गर्न सक्छ ? लोकतान्त्रिक मुलुकमा विचार निर्माणको लागि एकै विचारका मानिसलाई जिम्मा दिएका कारणबाट यस्तो भएको हो । विचार सृजनाको ढोका बन्द गरेर फूलबारीमा सयौं हजारौं फूल फुल्न सक्दैनन् ।

सामन्तवादी व्यवस्था सकिएर गणतन्त्र आए पनि केही नहुने, पिछडिएका, गरीब, निमुखालाई हेप्ने र समाजबाट अघोषित रूपमा बहिष्करणमा पार्ने क्रम जारी छ, तर हेप्ने, पेल्ने र हटाउने जमाना सकिएको छ । नागरिकमा निकै चेतना बढेको छ । स्वतन्त्र उम्मेदवारले जितुन् वा नजितुन्, हरेक राजनीतिक दलले ज्ञानको आँखा खोल्ने बेला आएको छ । राजनीति गर्ने कौशल, शैली, विचार सबै कुरा २१औं शताब्दी सुहाउँदो बनाउन जरुरी छ । अबको राजनीति पञ्चायतकालमा दुःखकष्ट व्यहोरेको, जेल बसेको, जनयुद्धकालमा भूमिगत बसेको, युद्धको मोर्चा समालेको, परिवारबाट शहीद बनेका लगायतका कुरा देखाएर चल्नेवाला छैन ।

अब विचारका साथमा, त्याग र समर्पणका साथमा जनता डेलिभरी खोजिरहेको सच्चाइलाई बुझ्न आवश्यक छ । राज्य सञ्चालन गर्न हिजोको दुःख र संघर्ष मात्र काफी छैन, यसका लागि त राज्य सञ्चालनका दृष्टिकोण, योजना, व्यवस्थापन र परिमार्जन गर्ने कौशलयुक्त नेतृत्व आवश्यक पर्छ । नत्र परम्परागत नोकरशाही चङ्गुलमा मुलुक फँस्छ । नेतृत्व कानून नियमको जञ्जालमा फँसेर बेकामे हुन्छ र असान्दर्भिक बन्न जान्छ । यसरी जनविश्वास उठ्छ । आजको युग नवप्रवर्तनको युग हो । सूचना तथा सञ्चारको युग हो । आजको सहकार्य, अनुशरण र परिमार्जनको युग हो । अबको राजकीय क्षेत्रमा जाने नेतृत्व जनताको हितका लागि दलको नेतृत्वलाई सम्मान गर्दै, आफ्नो क्षमता र सपनालाई सार्वजनिक गर्दै, सहकार्य र सहयोगका लागि जनतालाई अपिल गर्न सक्ने नेतृत्व हुनुपर्छ , जनअपेक्षालाई आफ्नो मुख्य कार्य मान्ने नेतृत्व आजको खाँचो हो ।

अरुलाई इज्जत मर्यादा र पहिचान दिन विनम्रताका साथ नेतृत्वका गलत नीति तथा क्रियाकलापको आलोचना र खण्डन गर्न सक्ने नयाँ नेतृत्व जन्माउन सके मात्र दलहरूले विमतिलाई आन्तरिक रूपमा हल गर्दै पार्टीलाई सबलीकरण गर्न सक्छन्, नागरिकहरू पनि पार्टीभित्रको लोकतान्त्रिक अभ्यासको सकारात्मक प्रभाव महसुस गर्न सक्छन् र पार्टीका उम्मेदवारका पक्षमा उभिन सक्छन् । आजको नेतृत्व रातो कलमले दस्तखत गर्न मात्र होइन, मार्गदर्शन गर्ने क्षमता र समन्वयकारी क्षमताको अभिव्यक्ति पनि हो । अहिले युगको आवश्यकता भनेको जागा नेतृत्व हो । आजको आवश्यकता भनेको जागृत मनुष्यको हो । आश र त्रासमा बाँच्न अभिषप्त नेता, कार्यकर्ता र नेतृत्वबाट के अपेक्षा गर्न सकिन्छ र !

विज्ञता, समन्वयकारी क्षमता, नवीन युगप्रतिको सकारात्मक सोच, जनतासँगको घुलनशीलता आदि नेतृत्वका गुण हुन् । नागरिकले उम्मेदवारको इतिहास मात्र हेर्दैनन्, उसले भोलि दिनसक्ने परिणाम पनि हेरिरहेका छन् । विजेताले कार्यमूलक समूह बनाएर काम गरेमा मात्र उदाहरणीय इतिहास रच्नेवाला छन् । अब दलहरूले आफू र आफ्ना सदस्यलाई समर्थक मात्र बनाएर हुँदैन, परिवर्तनका पक्षधर, कुशल प्रशासनिक क्षमतायुक्त र सबैलाई लिएर अघि जान सक्ने बनाउन पनि जरुरी छ । विभेद, पक्षपात, पेलानको युग सकिएको र अबको राजनीति दर्शन, विचार र सोच मात्र होइन, जनताको सेवासँग पनि सम्बन्धित छ । युवा पुस्तालाई अलग राखेर अबको राजनीति हुन्न, जनसाधारणका आवाज र भावनासँगै दलहरू पनि हिँड्न जरुरी छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here