गणना सुस्त, सर्वत्र आलोचना: झापाको मेचीनगर र बिर्तामोड बाहेक १३ पालिकाको गणना चार दिनभित्र सम्पन्न हुने

२ जेष्ठ २०७९, सोमबार मा प्रकाशित

बिर्तामोड।

स्थानीय तह निर्वाचन सम्पन्न भएको ५५ घण्टा बितिसक्दा पनि देशका तीन दर्जन स्थानीय तहको मात्र अन्तिम परिणाम सार्वजनिक भएको छ । मतगणनामा भइरहेको ढिलाइप्रति सर्वत्र आलोचना भइरहेको छ । तर, निर्वाचनमा खटिएका कर्मचारी र गणकहरु भने कछुवाकै गतिमा काम गरिरहेका छन् ।

यता झापामा केही वडाको मात्र मत परिणाम सार्वजनिक भएको छ । १५ पालिका रहेको झापामा केही पालिकाको १देखि ३ वटा वडासम्मका परिणाम आएका छन् भने कतिपय पालिकाले एउटै वडाको पनि मतपरिणाम सार्वजनिक सकेको छैन । झापामा १३ पालिकाको मतगणना अब चार दिनभित्र सम्पन्न गर्ने बताइएको छ ।

जिल्ला निर्वाचन झापाका प्रमुख तुलसीकुमार नेपालले दुई वटा पालिका बाहेक अन्य १३ पालिकाको मतगणना जेठ ५ गतेभित्र सम्पन्न गर्ने बताएका छन् ।

मेचीनगर र बिर्तामोड बाहेकका पालिकामा जेठ ५ गतेभित्र मतगणना सम्पन्न गर्ने तयारी अनुरुप काम भइरहेको बताइए पनि त्यस्तो आधार भने देखिएको छैन । मेचीनगर र बिर्तामोडमा मतदाता धेरै रहेको र प्राविधिक कारणले मतगणना ढिलाइ भएको बताउँदै उनले भने– मेचीनगरमा ४ र बिर्तामोडमा ३ ठाउँमा मतगणनाको व्यवस्था मिलाइएको छ । त्यस्तै अर्जुनधारा नगरपालिकामा समेत आइतवारबाट मतगणना थप गरिएको नेपालको भनाइ छ ।

गाउँपालिकामा दुई ठाउँ र नगरपालिकामा आवश्यकता अनुसार तीन ठाउँमा मतगणना भइरहेको नेपालले बताए । दमक र भद्रपुरमा समेत ३–३ ठाउँमा मतगणना भइरहेको नेपालले जानकारी दिए । शिवसताक्षी र कनकाईमा भने २–२ ठाउँमा मतगणना भइरहेको उनको भनाइ छ ।

यता मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले मेचीनगरमा मतगणनाका लागि झण्डै १० दिनको समयमा लाग्ने बताएका छन् । मापदण्डभित्र रही मतगणना गर्नुपर्ने र सीसी क्यामेरा पहुँचमा मतगणना गर्नुपर्ने भएकाले ढिलाइ भएको गौतमको भनाइ छ । मतगणनास्थल थप गर्नका लागि समेत आवश्यक तयारी गरिरहेकोले जतिसक्दो चाँडै मतगणना सम्पन्न गर्ने मुख्य निर्वाचन अधिकृत गौतमले बताए ।

निर्वाचन आयोगले गणना शुरु भएको पाँच दिनभित्रै परिणाम प्रकाशित गर्ने दावी गरेको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको उक्त दावी ‘फेल’ भएको छ । निर्वाचन आयोगले मतगणना छिटो सम्पन्न गर्न अघिल्लो निर्वाचनकै शैली पच्छ्याएको देखिएको छ । ०७४को स्थानीय तहको निर्वाचनमा पनि मतगणनाको अन्तिम परिणाम आउन दुई साता लागेको थियो । मतगणनामा भएका ढिलासुस्ती र कमजोरीलाई सुधार गर्नुपर्नेमा त्यसतर्फ निर्वाचन आयोगले ध्यान दिएको देखिँदैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here