जनादेशको सन्देश

३ जेष्ठ २०७९, मंगलवार मा प्रकाशित

निर्वाचन सम्पन्न भएको चार दिन बितिसकेको छ । देशभरबाट चौंसठ्ठी प्रतिशत मतदान भएको अवस्थामा मतपरिणाम आउन ढिला भएको भन्दै गणना कार्य नै आलोचित भइरहेको छ । यद्यपि परम्परागत प्रणाली कै अवलम्बन भइरहेकाले मतगणना सुस्त हुनु स्वभाविक हो, तर पनि निर्वाचन कार्यालयले जनशक्ति र भौतिक व्यवस्थापनमा ध्यान दिन सकेको भए यति विध्न आलोचना खेप्नु पर्ने थिएन् । त्यसो त यसपटकको निर्वाचनमा आम मतदाताको उत्साह देखिएको छैन । मतदाताहरु निर्वाचन प्रक्रियामा सहभागी हुन अनिच्छुक रहेको एउटा उदाहरण गत निर्वाचनमा भएको मतदानमा सहभागी हुनेको प्रतिशतले देखाएको छ । त्यसमाथि मतदाताहरुको रोजाइमा ठूला दलभन्दा पनि निरपेक्ष उम्मेदवारहरु परेको परिदृश्यले मतदाता असन्तुष्ट रहेको बुझ्न गाह्रो छैन । देशको राजधानी काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारले ठूला दलका उम्मेदवारलाई दिइरहेको मत परिणामको चुनौतिले पनि नयाँ पुस्ताको मनोभावको संकेत गरेको छ ।

आम मतदाता चाहन्छन् देशमा शान्ति होस्, सुशासनको प्रत्याभूति होस्, भ्रष्टाचारमुक्त र अनिवार्य सेवाको पहुँच होस् । तर, राजनीति र त्यसलाई हाँक्ने राजनीतिक दलहरु भने सत्ता स्वार्थका पछि लागेर व्यावसायिक बन्दै गए । सत्ता–आरोहणकै लागि जतासुकै तालमेल गर्न तयार दल र तिनका नेतृत्वका कारण निष्ठामा रहेकाहरु विद्रोह गर्न तयार हुन थाले । दलहरुको यस्तो चरित्रका कारण प्रशासन संयन्त्र पनि व्यक्ति स्वार्थ अनुरुप सञ्चालन हुन बाध्य हुँदै जाँदा आम जनतामा राजनीतिप्रति नै वितृष्णा उत्पन्न हुन थालेको टिप्पणी हुन थालेको छ । लोकतन्त्रमा जनताले आफ्नो राय मतदानबाट प्रकट गर्छन्, तर त्यसका लागि भयमुक्त र स्वतन्त्र वातावरण हुनुपर्छ । त्यसरी गरिएको मतदानमा उत्साहपूर्वकको सहभागिता रहन्छ र त्यसको परिणामले देश र जनताको भविष्य दिशानिर्देश गर्छ ।

लोकतन्त्रको सर्वमान्य प्रणाली हो निर्वाचन । निर्वाचनमा विचारको तर्फबाट उम्मेदवारी दिएकाहरुका बीच स्वस्थ प्रतिष्पर्धा हुन्छ । यस्तो प्रतिष्पर्धामा जनताको अभिमतले कुनै एक व्यक्ति निर्वाचित हुन्छ । निर्वाचित प्रतिनिधि अब कुनै दलको मात्र रहँदैन, सबैको साझा हुन्छ । जनताको आदेश आफ्नो पक्षमा आएन भनेर कुण्ठा बोक्नु वा आफू जनमतद्वारा अनुमोदित हुँ भनेर दम्भ गर्नु लोकतन्त्रको भावना होइन । यसउसले जनादेश प्राप्त व्यक्तिले नै बढी जिम्मेवार ढंगले आफूलाई प्रस्तुत गर्नुपर्छ र आत्मबोध गर्नुपर्छ कि मेरो काँधमा जिम्मेवारी थपिएको छ । यसले मात्र अहिले देखिन थालेको जनताको असन्तुष्टिलाई सम्बोधन गर्न सक्छ, हुर्किँदै गरेको राजनीतिप्रतिको वितृष्णालाई रोकेर नवसृजनाको यात्रामा समाहित गर्न सक्छ । निर्वाचित जनप्रतिनिधिहरुमा यस्तै उदात्त भावना जाग्रत होस् र उनीहरु नयाँ नेपालको निर्माणका आधार बनिउन्, शुभकामना ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here