५ गते गणना नसकिए स्थानीय सरकारहरु जनप्रतिनिधिविहीन हुँदै

३ जेष्ठ २०७९, मंगलवार मा प्रकाशित

झापा ।

जेठ ५ गते राति १२ बजेपछि मुलुकका अधिकांश स्थानीय सरकार जनप्रतिनिधिविहीन हुँदैछन् । बैशाख ३०को निर्वाचनको मतगणनामा भएको ढिलाइले स्थानीय सरकार जनप्रतिनिधिविहीन बन्न लागेका हुन् । संवैधानिक कानून अनुसार ०७४मा निर्वाचित जनप्रतिनिधिको पदावधि जेठ ५ गते राति १२ बजे सकिँदैछ ।

निर्वाचन आयोगले विहीवारसम्ममा मतगणना सकेर जेठ ६ गते नयाँ जनप्रतिनिधिलाई स्थानीय सरकार हस्तान्तरण गर्ने दावी गरेको छ । तर, त्यो दावी व्यवहारतः असफल हुने अनुमान गरिएको छ । कारण हो– मतगणनामा भएको ढिलाई । अहिलेकै गतिमा मतगणना जारी रहेर जेठ १५ गतेसम्म पनि नसकिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्वीकार गरेका छन् । स्थानीय सरकारलाई जनप्रतिनिधिविहीन बनाउन निर्वाचन आयोगलाई ५ गतेसम्ममा मतगणना गरी सक्न दबाब परेको छ । सात सय ५३ स्थानीय तहमा सोमवार रातिसम्म १३० पालिकाको मात्र अन्तिम परिणाम सार्वजनिक भएको छ ।

प्रमुख आयुक्त थपलियाले मुलुकैभर मतगणना अत्यन्त सुस्त गतिमा भएकाले चाँडो सक्न निर्देशन दिएको बताए । ‘मतगणना स्थलमा जनशक्ति अभाव, प्राविधिक कठिनाइ वा अन्य कुनै कठिनाइ भए आयोगलाई जानकारी दिएमा तत्काल व्यवस्था गरिदिने छौं’– उनले भने । उनले मतगणना कार्य सुस्त भएको र नतिजा आउन ढिलाइ भइरहेको भनेर व्यापक गुनासो आएकाले आफू विभिन्न मतगणना स्थलको अनुमगन र निरीक्षणमा निस्केको बताए । उनी आइतवार धरानको मतगणनास्थलमा आइपुगेका थिए ।

उनले आयोगले स्थानीय तहको निर्वाचन गराउन आफ्नो संवैधानिक जिम्मेवारी र भूमिका राम्ररी पूरा गरेको उल्लेख गर्दै मतगणना स्थलमा आवश्यक स्रोतसाधन उपलब्ध गराउने बताए । उनले मतगणना स्थल अगाडि आम मतदाताहरू नतिजा कुरेर बसेकाले लामो समय लगाइएमा धीरताको बाँध फुट्न सक्ने भएकाले पनि जेठ ५ गते मतगणना गरिसक्नुपर्नेमा जोड दिएको बताए ।

‘छिटो मतगणना सक्नका लागि सोमबारदेखि नै सबै गणनास्थलहरूमा गणक संख्या बढाएर थप ४ वटा गणनास्थल थप्न निर्देशन दिएको छु’– उनले भने ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here