अधिकांश वडाध्यक्षमा नयाँ अनुहार

३ जेष्ठ २०७९, मंगलवार मा प्रकाशित

सुरेन्द्र भण्डारी, झापा ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा बाह्रदशी–१मा शम्भूसिंह राजवंशी निर्वाचित भएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट वडाध्यक्षमा निर्वाचित उनी विकासप्रेमी युवा नेताका रुपमा चिनिए पनि यसपटकको निर्वाचनमा उनी पराजित भए । अघिल्लो निर्वाचनमा नेपाली कांगेसलाई उछिन्दै उनी वडाध्यक्षमा निर्वाचित भए पनि यसपटक उनलाई नेपाली कांग्रेसका उम्मेदवार टेकवहादुर राजवंशीले पराजित गरे ।

उनीजस्तै बाह्रदशी–२का वडाध्यक्ष यादव मिश्र समेत यसपटकको निर्वाचनमा पराजित बने । अघिल्लो निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट वडाध्यक्ष बनेका उनले नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पारेका थिए । तर, यसपटक भएको स्थानीय तहको निर्वाचनमा उनलाई नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर कार्कीले पराजित गरे ।

त्यस्तै बाह्रदशी–३मा पनि गत निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट वडाध्यक्षमा निर्वाचित वीरेन्द्रप्रसाद राजवंशीलाई नेपाली कांग्रेसका उम्मेदवार टंक साहले पराजित गरे । यता बाह्रदशी–४मा अघिल्लो निर्वाचनमा एकीकृत नेकपा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्ष बनेका समिम मिया योपटक पराजित बने । उनलाई स्वतन्त्र उम्मेदवार अहताव आलमले पराजित गरे ।

बाह्रदशी गाउँपालिकामा वडाध्यक्षको टिकट पाएर पनि यसपटक निर्वाचित हुन नसकेका माथिका नाम प्रतिनिधि मात्रै हुन् । उनीहरु जस्तै कनकाई–८ र ९का वडाध्यक्षहरु समेत यस पटकको निर्वाचनमा पराजित बने । कनकाई–८मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट उम्मेदवार बनेका प्रेम कटुवाल नेपाली कांग्रेसका उम्मेदवार लीलावहादुर कटुवालसंग पराजित भए ।

त्यस्तै कनकाई–९मा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा प्रतिष्पर्धा गर्ने प्रेमप्रसाद राजवंशी नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट उम्मेदवार बनेका राजेन्द्रप्रसाद उप्रेतीसंग पराजित भए । राजवंशी अघिल्लो निर्वाचनमा कनकाइ–९को वडाध्यक्ष थिए ।

उता कचनकवल–१मा वडाध्यक्ष लक्ष्मीनारायण यादव नेपाली कांग्रेसका उम्मेदवार महावीर लिम्बूसँग पराजीत भए । यादव अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसलाई पछि पार्दै वडाध्यक्षमा निर्वाचित भएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र झापा ३ त्यसमा पनि कचनकवल– १ राप्रपाको पकड क्षेत्र मानिन्छ । यही पकड क्षेत्रमा नै यादव पराजित बनेका हुन् । यता हल्दिवारी–१ मा त्रिलोचन सापकोटा राप्रपाका उम्मेदवारसँग पराजित भएका छन् । अघिल्लो निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट उम्मेदवार बनेका उनी वडाध्यक्ष निर्वाचित भएका थिए । यसपटक उनलाई राप्रपाका उम्मेदवार देवीबहादुर थापाले पराजित गरे । यो क्षेत्र लिङ्देनको गृह क्षेत्र हो । यहाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पकड क्षेत्र भए पनि त्यसलाई तोड्दै राप्रपाको प्यानलै निर्वाचित भएको छ ।

केही पालिकामा वडाध्यक्षहरु दोहोरिए पनि अधिकांश पालिकामा पुराना अनुहार दोहोरिएका छैनन् । बिर्तामोड–१मा वडाध्यक्ष अग्निप्रसाद पाण्डे दोहोरिएका छन् । त्यस्तै झापा–१मा राजकुमार यादव दोहोरिएका छन् । पाण्डे नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट उम्मेदवार बन्दै पुनः दोहोरिएका हुन् । उता झापा गाउँपालिकामा यावद नेपाली कांग्रेसका तर्फबाट दोहोरिएका हुन् ।

केही पालिकामा अघिल्लो पटक निर्वाचित जनप्रतिनिधिले पुनः यसपटक माथिल्लो पदमा प्रतिष्पर्धा गरिरहेका छन् । वैशाख ३० गते सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम नआउञ्जेलसम्म उनीहरुको अवस्था के रहला भन्न सक्ने अवस्था छैन । तथापि केही पालिकामा बाहेक अन्य उम्मेदवार दोहोरिने सम्भावना न्यून देखिन्छ ।

माथिल्लो पदका लागि राष्ट्रिय प्रजानत्त्र पार्टीबाट विर्तामोड नगरपालिकामा रञ्जु प्याकुरेल बरालले प्रतिष्पर्धा गरिरहेकी छिन् । उनीजस्तै बिर्तामोड नगरपालिकामा नै वडा नम्वर २का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौला उपप्रमुखमा र बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाई प्रमुख पदका लागि प्रतिष्पर्धामा छन् ।

अघिल्लो निर्वाचनमा बिर्तामोड–३को वडाध्यक्ष बनेका भोजराज सिटौला नेपाली कांग्रेसका तर्फबाट मेयरको दौडमा छन् । उनलाई नेकपा एमालेकी उम्मेदवार पवित्रा महतरा प्रसाईले कडा टक्कर दिइरहेकी छिन् ।

त्यस्तै मेचीनगरमा अघिल्लो निर्वाचनमा उपप्रमुखमा निर्वाचित मिनाकुमारी पोखरेल सोही पदमा प्रतिष्पर्धा गरिरहेकी छिन् । त्यस्तै कनकाई नगरपालिकामा प्रमुख र उपप्रमुख पदका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट राजेन्द्रकुमार पोखरेल र मञ्जु प्रसाई सोही पद दोहो¥याउने दाउमा छन् ।

राप्रपाको तर्फबाट गत निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पद जित हासिल गरेका कचनकवल गाउँपालिकाका अञ्जरा आलम र निमसरी राजवंशीले सोही पद दोहो¥याउने प्रयत्न गरिरहेका छन् । उनीजस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट हल्दिवारी गाउँपालिकामा अघिल्लो निर्वाचनमा उपाध्यक्ष बनेका डम्बर गिरी यसपटक अध्यक्षको होडमा छन् ।

झापा गाउँपालिकामा समेत नेपाली कांग्रेसबाट गतनिर्वाचनमा अध्यक्ष बनेका जयनारायण साह पुनः अध्यक्ष बन्ने होडमा छन् भने बाह्रदशी गाउँपालिका अध्यक्षमा निर्वाचित खड्गप्रसाद राजवंशी यसपटक पनि अध्यक्ष बन्ने होडमा देखिएका छन् ।

हल्दिवारी गाउँपालिकामा रवीन्द्र लिङ्देनले यसपटक पनि बाजी मार्ने होडमा छन् । उनी अघिल्लोपटक गाउँपालिकाको अध्यक्षमा राप्रपाको तर्फबाट निर्वाचित बनेका थिए । अघिल्लोपटक अध्यक्ष मात्रै जित्न सफल लिङ्देनले बहुमतसहित गाउँपालिकामा आफ्नो उपस्थिति बलियो बनाउने तयारीका साथ मैदानमा होमिएका छन् ।

कनकाईका अध्यक्ष र उपाध्यक्ष दुवै पदका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट उम्मेदवार बनेकाहरुले आफ्नो जित सुनिश्चित भएको दावी गर्दै आएका छन् भने बाह्रदशी र कचनकवल गाउँपालिकामा अघिल्लोपटक निर्वाचित जनप्रतिनिधिलाई पछि पार्ने टक्करका साथ नयाँ अनुहार देखा परेका छन् ।

कचनकवल गाउँपालिकामा अघिल्लो निर्वाचनमा आफैले पछि पारेका नेपाली कांग्रेसका उम्मेदवार कालेन्द्रप्रसाद सिंह राजवंशीले राप्रपाका अध्यक्ष पदका उम्मेदवार आलमलाई टक्कर दिइरहेका छन् भने बाह्रदशीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट उम्मेदवार बनेका देवेन्द्रप्रसाद चम्लागाँईले कांग्रेसका उम्मेदवार राजवंशीलाई टक्कर दिइरहेका छन् ।

त्यसो त माथिल्लो पदका लागि कनकाई–३का निर्वाचित वडाध्यक्ष रुद्रप्रसाद चिमरिया अहिले मेयर पदका लागि चुनावी मैदानमा छन् । उनलाई आफ्नै पार्टीका वागी (स्वतन्त्र) उम्मेदवार शेरबहादुर थापाले समेतपछि पारेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट उम्मेदवार बनेका राजेन्द्रकुमार पोखरेलसंग थापाको प्रतिष्पर्धा देखिएको छ । धेरै पालिकामा पुराना अनुहारले टिकट नपाएर दोहोरिएका छैनन् भने टिकट पाएर दोहोरिएकाहरुलाई पनि नयाँ अनुहारले कडा टक्कर दिइरहेका छन् ।

गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा समेत पुराना अनुहार दोहोरिने प्रयासमा छन् । गौरीगञ्ज गाउँपालिकामा अघिल्लो निर्वाचनमा राप्रपाको तर्फबाट अध्यक्ष बनेका बावुराजा श्रेष्ठ यस पटक पनि अध्यक्ष बन्ने होडमा छन् भने गौरादह नगरपालिकाका मेयर रोहित साह पनि दोहो¥याउने होडमा छन् । तर, नयाँ अनुहारले उनीहरुलाई टक्कर दिइरहेका छन् । बुद्धशान्ति गाउँपालिकामा अध्यक्षका उम्मेदवार नयाँ अनुहार छन् । यहाँ नयाँ अनुहारबीच प्रतिष्पर्धा छ । त्यस्तै शिवसताक्षीमा समेत नयाँ अनुहार चुनाबी मैदानमा छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here