चिनियाँ लगानी नै कारण हो त? : लुम्बिनी भ्रमण गर्दा भारतीय प्रधानमन्त्री किन उत्रिएनन् गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ?

३ जेष्ठ २०७९, मंगलवार मा प्रकाशित

बुद्ध जयन्तीको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमवार गौतमबुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन्।

बुद्ध जयन्तीकै अवसर पारेर प्रधानमन्त्री शेरबहादुर देउवाले सोमवार बिहान नै भैरहवामा बनेको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए।

झन्डै ७३ वर्षपछि नेपालमा थपिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थल र गौतमबुद्धको जन्मस्थल लुम्बिनीचीचको दूरी १५ किलोमिटर जति मात्र छ।

तर भारतको राजधानी दिल्लीबाट उड्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उक्त विमानस्थलमा नओर्लिएर भारतीय वायुसेनाको विशेष हेलिकप्टरबाट लुम्बिनीस्थित हेलिप्याडमा ओर्लिए।

लुम्बिनीबाट झन्डै २०० किलोमिटर टाढा पर्ने उत्तर प्रदेशको कुसीनगरमा ओर्लिएर हेलिकप्टरबाट उनी लुम्बिनी आएको बताइएको छ।

प्रधानमन्त्री देउवाले मोदीलाई स्वागत गरेका थिए। नेपालको छोटो भ्रमणका क्रममा मोदीले नेपाली समकक्षी शेरबहादुर देउवासँग द्विपक्षीय वार्ता गर्ने बताइएको छ।

मोदीले किन रोजे कुसीनगर

भारतीय विदेशसचिव विनय मोहन क्वात्राले शुक्रवार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा मोदीको यस प्रकारको भ्रमण सुरक्षासँग जोडिने आशय व्यक्त गरेको बताइन्छ।

तर भारतीय सञ्चारमाध्यमले अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कुन देशको लगानी र कसले बनायो भन्ने प्रश्न गरिरहेका छन्।

भारतीय सञ्चारमाध्यमले चिनियाँ लगानीमा वनेको विमानस्थल भएकोले भारतीय प्रधानमन्त्री मोदीले त्यहाँ जाने कार्यक्रम नबनाएको दाबी गर्दै आएका छन्।

तर नेपाली अधिकारीहरूका अनुसार यो दाबीमा कुनै सत्यता छैन।

कसरी बन्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

“एशियाली विकास ब्याङ्कको करिब ६० प्रतिशत ऋण तथा अनुदान र बाँकी नेपाल सरकारको लगानीमा यो विमानस्थल बनेको हो,” विमानस्थलका महाप्रबन्धक गोविन्द दाहाल भन्छन्।

“टेन्डर आह्वान गर्दा चिनियाँ कम्पनीले कम रकममा बनाउने भएपछि सो कम्पनी छनोटमा परेको हो,” उनको भनाइ छ।

दाहालका अनुसार विमानस्थल निर्माणको काम चिनियाँ कम्पनीले गरे पनि अरू आन्तरिक काम थाईल्यान्ड, अमेरिका लगायतका देशका कम्पनीहरूले गरेका हुन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देव चन्द्रलाल कर्णले यो विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय विमान नै भारतबाट आएको हुँदा कसले बनायो भनेर भारतीय प्रधानमन्त्री नआएको भन्ने विषय नै अनावश्यक भएको बताउँछन्।

मोदीको भ्रमणअघि सुरक्षा बन्दोबस्तीका सामग्री बोकेर दिल्लीबाट भारतीय वायुसेवाको विमान नै यो विमानस्थलमा अवतरण गरेको थियो।

हवाईमार्गको समस्या

यो विमानस्थलको लागि भारतले अझैसम्म पनि सीधा हवाईमार्ग दिएको छैन।

नेपाली अधिकारीहरूका अनुसार सीधा हवाईमार्गका लागि नेपालले विगत चार वर्षदेखि कुरा उठाउँदै आएको छ।

भारतले हवाईमार्ग उपलब्ध गराउनका लागि भारतले सहमति पनि व्यक्त गर्दै आएको तर निर्णय भने नगरेको भूतपूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बताउँछन्।

“हवाई रूट नदिँदा नेपाललाई के जबाफ दिने भनेर पनि भारतीय प्रधानमन्त्री मोदीले यो विमानस्थल प्रयोग नगरेको हुनसक्छ,” ज्ञवाली भन्छन्।

“तर नेपाल सरकारले यसबारेमा पहल गर्नुपर्थ्यो, अहिले सरकारले अवसर गुमाएकै हो।”

बौद्ध सर्किटलाई प्राथमिकता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा बौद्धसर्किटका कुरा पनि उठ्ने गर्छन्।

गौतम बुद्धको जीवनसँग सम्बन्धित पहिचान गरिएका चारवटा सम्पदामध्ये जन्मस्थल लुम्बिनीबाहेक बोधगया, सारनाथ र कुसीनगर गरी तीनवटा भारतमै पर्छन्।

बौद्ध धर्मावलम्बी तीर्थालु र पर्यटकहरूलाई लक्षित गरेर भारतले उत्तर प्रदेशको कुसीनगरमा अन्तर्राष्ट्रिय विमानस्थल पनि बनाइसकेको छ।

नेपालले ती सर्किट जोड्नका लागि बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रबिन्दु बनाउनुपर्ने बताएको छ।

बौद्ध सम्पदाका जानकारहरू अनुसार सम्भवतः भारतले कुसीनगरलाई केन्द्रबिन्दु बनाउन खोजेको हुनाले पनि मोदीको भ्रमणमा नेपालको विमानस्थलभन्दा कुसीनगरको विमानस्थल प्राथमिकतामा परेको हुनसक्छ।bbc/nepali

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here