होसियार !

३ जेष्ठ २०७९, मंगलवार मा प्रकाशित
एकराज गिरी
जीतले दम्भ नजन्माओस्
हारले निराशा नरोपोस्
कतै पात्र फेरिएका छन्
कतै प्रवृत्ति दोहोरिएका छन्
प्रकृति उस्तै हुन सक्छ ।
कु–प्रवृत्ति फेरियोस्
बेथिति बडारियोस्
जिम्मेवारी पाउनेहरुमा
बेथितिमुक्त
सुशासनयुक्त
र,
समृद्ध स्थानीय तह
बनाउने चेत खुलोस् ।
जिम्मेवारी दिनेहरुको
खबरदारी रहोस्
बिजेताले उपबिजेताको
मतको कदर गर्न सकोस्
विकास र सुशासनमा
उपविजेताको पनि साथ रहोस्
जनता परिवर्तनको पक्षमा छन्
हेर्दैछन्– अब जनप्रतिनिधि के गर्दैछन् !
खबरदार !
यदि अझै जनभावना बुझेनौ भने
दलीय गुट, सेन्डिकेट र घेराभन्दा माथि उठेर
आफूलाई परिस्कृत गरेनौ भने
हरेक ठाउँ बालेनहरु जन्मनेछन्
जनताले ‘लौरो’ रोज्नेछन्
जनताले विद्रोह खोज्नेछन्
अनि चुन्नेछन्
र,
लौरोकै सहायताले
विद्रोहकै बलले
परिवर्तनको सपना
साकार पार्नेछन् ।
३ जेठ २०७९, बिर्तामोड
प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here