कनकाईः प्रमुखमा एमालेका राजेन्द्र पुनः निर्वाचित, उपप्रमुखमा नेपाली कांग्रेसकी आशा शर्मा शिवाकोटी विजयी

४ जेष्ठ २०७९, बुधबार मा प्रकाशित

सुरेन्द्र भण्डारी/सावित्रा दाहाल,

झापा ।

कनकाई नगरपालिकाको प्रमुखमा पुनः राजेन्द्र कुमार पोखरेल निर्बाचित भएका छन् । उपप्रमुखमा भने आशा शर्मा शिवाकोटी निर्वाचित बनेकी छिन् । यो घोषणासँगै स्थानीय तह निर्वाचन २०७९को परिणाम घोषणा गर्ने कनकाई झापाको पहिलो पालिका बनेको छ ।

नेपाल कम्युनिष्ट पार्टी(एमाले)बाट उम्मेदवार बनेका पोखरेल ८६७३ मत प्राप्त गर्दै नगरप्रमुखमा निर्वाचित बनेका हुन् । नेपाली कांग्रेका तर्फबाट उम्मेदवार बनेका रुद्रप्रसाद चिमरियाले ६६६१ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार शेरवहादुर थापाले ५६९१ मत प्राप्त गरे । थापा नेपाली कांग्रेस परित्याग गरी स्वतन्त्र उम्मेदवार भएका थिए । कनकाई नगरपालिकाको मेयर पदका लागि दावी गर्दै पोखरेलसहित सात जनाको उम्मेदवारी रहेको थियो ।

यता उपप्रमुखमा नेपाली कांग्रेसबाट उम्मेद्वार बनेकी शिवाकोटीले १०७१३ मत प्राप्त गर्दै निर्वाचित बनेकी छिन् । उनले नेकपा एमालेबाट उम्मेदवार बनेकी मञ्जु प्रसाईले ८८४५ मत प्राप्त गरिन् । उपप्रमुखमा पनि शर्मासहित सात जनाकै उम्मेद्वारी रहेको थियो ।

मत गणनाको शुरुवातमा कांग्रेसका वागी उम्मेदवार बनेका थापाले जेब्रा चुनाव चिन्हबाट अग्रता लिएका थिए । धेरैले उनले जित्ने आकलन गरेपनि उनलाई पछि पार्दै पोखरेल निर्वाचित बनेका हुन् ।

उपप्रमुखमा निर्वाचित शर्मा ३४ वर्ष शिक्षण पेशामा रही अवकास प्राप्त व्यक्ति हुन् । उनले कनकाई माध्यमिक विद्यालय र कनकाई वहुमुखी क्याम्पस सुरुङ्गामा शिक्षण पेशामा सम्लग्न छिन् । कनकाईमा ३५४७१ मतदाता रहेका छन् । जसमा २५८५१ जनाले मतदान गरेका थिए । कनकाई नगरपालिकामा समग्रमा ७२ दशमलव ८८ प्रतिशत मत खसेको थियो ।

को हुन् राजेन्द्र ?

पोखरेलको जन्म खोटाडको खार्पामा पिता गणेश पोखरेल र माता देवीमाया पोखरेलको जेठो छोराको रुपमा वि.सं. २०२१ साल मंसीर १५ गते भएको हो । सरस्वती प्राथमिक विद्यालय जामुनवारीबाट प्रारम्भिक शिक्षा शुरु गरेका पोखरेलले कनकाई मावि, सुरुङ्गाबाट २०३६ सालमा एसएलसी उत्तीर्ण गरेका थिए ।

अध्ययनको सिलसिलामा विराटनगरको महेन्द्र क्याम्पस विराटनगरबाट वि.सं. २०३७ सालदेखि राजनीतिक यात्रा शुरु गरेका थिए । क्याम्पस अध्ययनकै क्रममा अनेरास्ववियूको प्रतिनिधित्व गर्दै स्ववियूमा निर्वाचित भइरहँदा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीसँग एउटै कमिटीमा बसेर काम गरेको अनुभव पोखरेलसँग छ ।

२०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका पोखरेल २०४७ सालदेखि पार्टी कमिटीमा सक्रिय भए । राजनीतिक सक्रियताका क्रममा २०४८ सालमा प्रगतिशील राष्ट्रिय युवा संघ क्षेत्र नं. ४ को संयोजकको जिम्मेवारी सम्हालेका पोखरेलसँग गाउँ, नगर, जिल्ला कमिटीका विभिन्न जिम्मेवारीमा रही काम गरेको अनुभव छ ।

हाल नेकपा एमाले प्रदेश कमिटी सल्लाहकारको जिम्मेवारीमा रहेका पोखरेल २०४९ सालमा भएको स्थानीय तहको निर्वाचनमा सुरुङ्गाा गाविसको उपाध्यक्षमा निर्वाचित भएका थिए । अग्रजहरुको प्रेरणा, आफ्नो अनुभव, प्रयास र कर्मले निरन्तर अघि बढिरहेका पोखरेलले २०५४ सालदेखि ५९ सालसम्म झापा जिल्ला विकास समितिको सदस्य भएका थिए । पोखरेलले २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा कनकाई नगरपालिकाको प्रमुखको रुपमा ५ बर्ष जिम्मेवारी सम्हालिसकेका छन् ।

को हुन् आशा ?

पिता चूडामणि र माता कौशिल्यादेवीआचार्यकी सुपुत्रीको रुपमा आसामको नौगाउँको सोलोङ्गमा बि.सं. २०१५ साल जेठ १५ गते जन्मिएकी शर्माले आफ्नो जीवनको उर्वर समय झापाको शैक्षिक क्षेत्रको उन्नति र विकासमा समर्पण गरी शिक्षणको माध्यमबाट समाजको विकास र सकारात्मक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरिन् ।

उनले गुवाहाटी विश्वविद्यालय आसामबाट वि.एस्सी., स्नातकोत्तर क्याम्पस, विराटनगरबाट इतिहासमा एम.ए र महेन्द्र रत्न बहुमुखी क्याम्पस ताहचलबाट शिक्षा शास्त्र संकायमा स्नातकोत्तर तहसम्मको अध्ययन गरिन् । वि.सं. २०३८ सालदेखि शिक्षण सेवामा प्रवेश गरेकी उनले सो विद्यालयमा ३६ वर्षसम्म सेवा गरिन् । उनले कनकाई माविको प्रधानाध्यापक जस्तो महत्वपूर्ण जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

झापाको पहिलो मावि प्रथम श्रेणीको महिला शिक्षकको रुपमा परिचित शर्मासँग कनकाई बहुमुखी क्याम्पसको प्राध्यापक र सोही क्याम्पसको शिक्षा शास्त्र संकाय स्नातकोत्तर तहको विभागीय प्रमुखको रुपमा पनि काम गरेको अनुभव छ ।
कनकाई नगरपालिकाको शैक्षिक क्षेत्रको समर्पित व्यक्तिको रुपमा पहिचान बनाएकी शर्माको विवाह झापाको अर्जुनधारा निवासी ईश्वरीप्रसाद शिवाकोटीसँग भएको थियो । आफूले लामो समय शिक्षण संस्थामार्फत प्राप्त गरेको ज्ञान र अनुभवलाई राजनीतिको माध्यमबाट समाज विकास र रुपान्तरणमा निष्ठापूर्वक लगानी गर्ने उनी बताउँछिन् ।

नेपाल शिक्षक संघको स्थापनाकालदेखि नै सदस्य रहेकी शर्मा राजनीतिक जीवनमा भने त्यति सक्रिय थिइनन् ।
नागरिक समाज सुरुङ्गाको संस्थापक अध्यक्ष, सुरुङ्गा जेसीजको मानार्थ सदस्य, सुरुङ्गा प्रेस क्लवको सल्लाहकार जस्ता सामाजिक संघ–संस्थाको जिम्मेवारीमा रही अनुभव लिएकी छन् । शर्मा जिल्ला शिक्षा समिति झापाद्वारा कदर–पत्र, वीरता लेडी जेसीजद्वारा उत्कृष्ट शिक्षासेवी सम्मान, कनकाई माविद्वारा अभिनन्दन, जामुनवारी सामुदायिक वन, सुरुङ्गाद्वारासम्मान लगायत दर्जनौं संस्थाद्वारा सम्मानित तथा पुरस्कृत भएकी छिन् ।

वर्तमान समयमा नेपाल रेडक्रस सोसाइटी र कनकाई माविको सल्लाहकारको रुपमा रहेकी शर्मा आम सुरुङ्गाबासीबीच आशा मेडमको रुपमा परिचित छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here