निर्वाचनमा फूलमाला बिक्री बढ्यो

0
231

रामपुर (पाल्पा),

रामपुर नगरपालिका–४ देवीस्थानका दिलबहादुर थापाले यस पटक फूल बिक्रीबाट राम्रो कमाइ गर्नुभएको छ ।

एक हप्तामा उहाँले रु एक लाख बराबरको सयपत्री फूल बिक्री गर्नुभयो । अहिले उहाँको बगैँचामा पहेँलपुर सयपत्री फूल फूलेका छन् । वैशाख ३० गते भएको निर्वाचनलाई लक्षित गरेर खेती गर्नुभएका थापाले मत परिणाम सार्वजनिक भएपछि फूलमाला बिक्री गर्न भ्याइनभ्याइ भएको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “निर्वाचनको समयलाई मध्यनजर गर्दै फूल लगाएको हो, व्यापार असाध्यै राम्रो छ, यस पटक आम्दानी गर्ने राम्रो अवसर मिलेको छ, समय ख्याल गरेर खेती गर्नुपर्ने रहेछ, अझै पनि फूलमालाको माग आइरहेको छ ।”

यसभन्दा अघि पनि फूलखेती थापा अहिले नसोचेको व्यापार हँुदा दङ्ग हुनुहुन्छ । निर्वाचनलाई मात्रै केन्द्रित गरेको हँुदा उहाँले यस पटक एक रोपनीमा खेती गर्नुभएको हो ।

“छोटो समयमा धेरै व्यापार गर्न सफल भएको छु, कतिपयलाई माला गाँस्न नभ्याएर फूलमात्रै पनि बिक्री गर्ने गरेको छु, यतिबेला फूल टिप्ने माला तयार पार्ने र बिक्री गर्दैमा दैनिकी बितेको छ”, उहाँले भन्नुभयो । अहिलेसम्म रु एक लाखको व्यापार गर्नुभएका थापाको बगैँचामा अझै सो मूल्य बराबरको फूल रहेको छ । पाल्पा, स्याङ्जा, तनहुँलगायतका विभिन्न स्थानबाट फूलमाला खरिद गर्न ग्राहक आएको उहाँले बताउनुभएको छ ।

प्रतिकिलो रु ५०० र प्रतिमाला रु १५० मा धमाधम बिक्री भइरहेको छ । अघिल्ला वर्षको निर्वाचनमा खादाको प्रयोग गरेका यहाँका नागरिक अहिले मालाको प्रयोगमा आकर्षित बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here