पार्टीभित्रको असन्तुष्टिले आफैंलाई क्षति भयो : थापा

0
831

झापा।

नेपाली कांग्रेसका प्रदेश १ का सभापति उद्धव थापाले पार्टीभित्रको चरम असन्तुष्टिका कारण झापामा आफूहरुले ठूलो क्षति व्यहोर्नु परेको बताएका छन् । झापाका अधिकांश पालिकामा नेपाली कांग्रेस बलियो अवस्थामा भएपनि हार व्यहोर्नुको पछाडिको कारण पार्टी भित्रको असन्तुष्टि हो – थापाले भने ।

पार्टी भित्र आफूले गरेको गल्ती नदेख्ने र अरुलाई दोषारोपण गर्ने प्रवृत्ति नेपाली कांग्रेसभित्र बढ्यो – सभापति थापाले भने – झापामा यस्तै अवस्था रही रहे अझ भयावह अबस्था आउन सक्छ । पार्टीलाई जोगाउन अब सबै सच्चिन जरुरी छ ।

पार्टीका कार्यकर्तालाई थप संगठित र पार्टी सुदृढीकरण गर्दै नजाने हो भने आज जित्दै गरेका पालिका नेपाली कांग्रेसले भोलिका दिनमा गुमाउन सक्छ नेता थापाले भने – ‘अब सबैले आ– आफ्नो ठाउँबाट आफूले गरेका गल्ती कमीकमजोरी सच्याउने बेला आयो, भोलि पार्टीलाई थप क्षति हुनबाट जोगाउन सबै एकढिक्का हुन जरुरी छ ’।

नेपाली कांग्रेसको बलियो पकड क्षेत्र मानिँदै आएको बिर्तामोडमा यसपटक पनि नेतृत्व गुमाउनुको पछाडिको कारण के हो भन्ने प्रश्नमा नेता थापाले भने –‘ बिर्तामोडमा एक अर्काबीच दोषारोपण धेरै भयो, एकले अर्कालाई अबिश्वास नगरेकै कारण यस पटकको निर्वाचनमा यस्तो परिणाम आएको हो । यो परिणामले धेरैवर्ष पिर्छ । यसलाई सोझ्याउन धेरै मेहनत गर्नु पर्ने हुन्छ ।’

तपाईको गृह जिल्ला हो झापा त्यसमा पनि प्रदेशको नेतृत्व तपाईले गर्नु भएको छ किन पार्टीलाई एक ढिक्का राख्नु सक्नु भएन नि भन्ने प्रश्नमा उनले भने – बिर्तामोड सहित झापामा परिणाम यस्तो आउला भन्ने सोचेकै थिएनौं । अब आगामी दिनमा पार्टीलाई थप संगठित र कार्यकर्तालाई एक ढिक्का बनाउने काममा प्रदेश समिति लाग्छ, प्रदेशले नसकेको खण्डमा केन्द्रीय समितिसम्म हामी पुगेर भएपनि पार्टीलाई थप क्षति हुनबाट बचाउँछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here