सिक्किममा नेपाली कृतिहरु

0
758

पहाडी शितल भू–भागमा अवस्थित सिक्किम प्राकृतिक छटाहरुले भरिपूर्ण छ । पर्यटन सिक्किमको प्रमुख विशेषता मानिन्छ । कृषि, पशु–पंक्षीपालन, फलफूल र बागबानीका लागि पनि सिक्किम नामी छ । धर्म–संस्कृति, तीर्थ, चाडपर्व, भेषभुषा र परम्परा संरक्षणमा सिक्किम निकै सचेत र क्रियाशील छ । शिक्षामा सिक्किम अग्रणी छ । अनि नेपाली भाषा, साहित्य क्षेत्रको विकास र संरक्षणमा पनि सिक्किम उत्तिकै लगनशील रहेको पाइन्छ ।

सिक्किममा नेपाली भाषामा धेरै पत्रपत्रिका र कृतिहरु प्रकाशन हुने गरेका पाइन्छन् । मानौ सिक्किम नै नेपाली भाषाको उर्बर भूमि हो । निजी, सामुहिक र सरकारी प्रयासहरुबाट सिक्किममा नेपाली भाषा, साहित्य निकै उन्नत स्तरमा विकास भएको पाइन्छ । यसै सन्दर्भमा, यहाँ नेपाली भाषामा सिक्किमबाट प्रकाशित भएका केही कृतिहरुको संक्षिप्त परिचय प्रस्तुत गर्दछु । जसले सिक्किम, सिक्किमका विविध आयामका अवस्था र कथाहरु, नेपाली भाषा साहित्य र लेखक, स्रष्टाहरुबारे बुझ्न केही सजिलो हुनेछ भन्ने आशा राखेको छु ।

(१) प्रदीपिका, वर्ष १९ अंक २६ र (२) वर्ष २० अंक २७ : यो कृति नेपाली भाषाको वार्षिक साहित्यिक पत्रिका हो । सम्पादक टीका ढुङ्गेल ‘रटन’ र सहसम्पादक बिमला ढुङ्गेल रहेका छन् भने नेपालबाट पनि प्रतिनिधिहरु प्रेमप्रकाश फलाहारी धुलााबारी झापा, पुष्पलता आचार्य काठमाडौं, प्रमुख संरक्षक डी.आर. नेपाल र दर्जन जना संरक्षण गण रहेका छन् । यति धेरै जना संलग्न हुनुले पनि सिक्किममा नेपाली भाषा साहित्यप्रतिको रुची र योगदान धेरै रहेको बुझ्न सकिन्छ । यस पत्रिकामा, नेपालका केहीसहित सिक्किम लगायत भारतका लेखक तथा साहित्यकारहरुका विभिन्न विधाका सिर्जनाहरु समावेश गरिएका छन्् ।

अंक २६ मा, हरि ढुङ्गेलको कविता ‘वेदनाहरु’, देवीचरण भण्डारीको ‘त्रिफलामा मोती जयन्ती’ लेख, पूर्ण योञ्जनको ‘सहयात्री’ कविता, पं. भवानी शंकर न्यौपानेको विचार ‘शान्ति कसरी पाइन्छ’, डा. गोविन्दराज भट्टराईको ‘मलाई जीवनको नयाँ बाटो देखाउने तत्व नै बाल साहित्य हो’, लगायत अरु थुप्रै विविध विधाका सिर्जनाहरु यस अंकमा प्रकाशित भएका छन् ।

अंक २७ मा चाहिँ, जानु काम्बाङ्ग लिम्बुको लेख ‘दशदिन नजरबन्द बस्दा’, विनीता प्रधानको कविता ‘ढुङ्गा’, नवीन पौड्यालको लेख ‘प्रकाश भट्टराईको नेपाली लोक परम्परा ः जातीय अध्ययनको आधिकारिक दस्तावेज’, प्रेमप्रकाश फलाहारीको लेख ‘त्रिफला अन्तर्राष्ट्रिय पुस्तकालयको सिक्किम कक्ष’, टंका ढुङ्गेलको कविता ‘दिव्यरुप’, उदय नारायण शर्माको कविता ‘नदुखोस चोट’ लगायत अरु धेरै सिर्जनाहरु यस अंकमा प्रकाशित भएका छन् । प्रदीपिका पत्रिका गान्तोक सिक्किमबाट प्रकाशित हुने गर्दछ र यो पत्रिका सिक्किम मात्र होइन कि भारतका नेपाली भाषाका साहित्यक्षेत्रको प्रतिनिधि पत्रिका हो ।

(३) पत्र सम्बन्ध (२०१९) : यो कृति विभिन्न ठाउँबाट विभिन्न संघ–संस्था, लेखक, साहित्यकारहरुले सिक्किमका साहित्यकार टीका ढुङ्गेललाई विभिन्न मितिमा लेखेका चिठीपत्रहरुको संगालो हो । पत्रहरुलाई हराएर जान नदिनका लागि, पत्रहरु महत्वपूर्ण दस्ताबेज हुने हुनाले, पत्र लेखिएको समयको विशेषता, रचना, सिर्जना, विचार, सन्देश, भाषा, लवज र मीठास संरक्षणका लागि पनि यस्तो प्रकृतिको संगालो निकै गहन हुने गर्दछ । संगालोमा विशेष गरेर टीका ढुङ्गेलद्वारा सम्पादित, संयोजित पत्र, पत्रिका, विभिन्न कृतिहरुमा समावेश तथा प्रकाशित गरिने लेख र प्रकाशित रचना, साहित्य, विचार र कृतिहरुका बारेमा लेखिएका चिठीपत्रहरु समावेश हुने गरेका छन् । पत्रहरु निकै नै रोचक, मीठा र पढौं–पढौं लाग्ने रहेका छन् । यस्तो किसिमको पृथक संगालो यसअघि पनि निकै पटक ढुङ्गेलको संयोजनमा प्रकाशित भइसकेका छन् । यसपालीको कृतिलाई प्रकाशित गरेका छन् –तादोङ्ग सिक्किमका खुसेन तिम्सिनाले ।

(४) कृतिका स्मृतिहरु (२०१९) : यो कृति पनि एक संगालो हो । सिक्किमका लेखक, समालोचक, साहित्यकार टीका ढुङ्गेलद्वारा विभिन्न स्रष्टाका कृतिमाथि गरिएका समीक्षाहरु यस कृतिमा समावेश भएका छन् । पी. एस. गोलेको लेख तथा कविता कृति ‘अन्यायले जन्माएका विद्रोहरु’, नरनाथ लुइँटेलको शोक काव्य ‘ठूली’, विद्या निर्दोषीको गजल संग्रह ‘उनको सम्झनामा’, अञ्जन बाँस्कोटाको निबन्ध संग्रह ‘दृष्टि’, के.एन. राईको इतिहास परक कृति ‘चन्द्रमान राईबारे केही अध्ययन केही अवलोकन’, चुनीलाल घिमिरेको नाकट कृति ‘मुक्ति’, तिलाश्री तिम्सिनाको गजल संग्रह ‘भन्ने पर्ने एउटा कुरा’ कृतिहरुबारेका समीक्षा लगायत साहित्यकार इन्द्रबहादुर राई, पत्रकार गोपिकृष्ण खनाल, डा. डिल्ली रमण रेग्मी व्यक्तित्व र कृतित्व, पठतु संस्कृतबारे केही शब्दहरु शीर्षकका लेख र अरु धेरै समीक्षा र लेखहरु यस कृतिमा समावेश भएका छन् । यस कृति स्रष्टा चुनिलाल घिमिरेले व्याख्यात्मक समालोचना भएको भाव कृतिमा व्यक्त गरेका छन् । कृतिलाई प्रकाशन गरेका छन् पूरण तामाङले ।

(५) कलमहरुको मूल्याङ्कन (२०२१) : यो, विभिन्न सिर्जना र कृतिहरुमाथि टीका ढुङ्गेलद्वारा गरिएका समीक्षा संग्रह कृति हो । यस कृतिमा तुलसीराम शर्माको जन्मभूमि’, एस.पी.आशाको ‘नखाको विष’, हरि ढुङ्गेलको ‘यात्रा अमेरिकाको’, सीतादेवी क्षेत्रीको ‘मूल परेको छोरो’, जीवन राई माङ्पाको ‘बैंशका हाँगामा जीवनका फूलहरु’, सुरेखा ढुङ्गेलको कथा संग्रह ‘चिन्हारी’, सबिन राईको ‘नदेखिएका विपनाहरुसित’, डा. गोविन्दराज भट्टराईको ‘मेरो पहिलो बेलायत यात्रा’, कुमार नेपालको ‘चोट’, रवि पौड्यालका जीवन बचाइका ‘उद्गारहरु’ लगायत धेरै कृतिहरुबारे समीक्षा यस कृतिमा समावेश भएका छन् । यसलाई प्रकाशित गरेका छन् एस. बी. सुब्बाले ।

(६) कलम साहित्यिक पत्रिका (२०२१) : यसपालीको पत्रिका झमक घिमिरे विशेषाङ्कका रुपमा आएको छ । सिक्किमबाट नेपालका स्रष्टाबारे विशेषाङ्ककै रुपमा आउनु सिक्किमेली स्रष्टाहरुको मन विशाल हुनाका साथै नेपाली भाषा साहित्यप्रति अत्यन्त समर्पित साथै नेपालका स्रष्टाहरु प्रति अगाध सम्मान भाव रहेको प्रमाणित हुन्छ । यस्तो परिदृष्य समग्र नेपाली भाषा साहित्यको लागि अत्यन्त खुशीको कुरा हो । यस कृतिभित्र, सिक्किमका लेखक, साहित्यकारहरु, स्रष्टा झमक घिमिरेको धनकुटा कोशीमा रहेको घरसम्मै पुगिकन कुराकानी गरिकन स्रष्टा झमक घिमिरे र उनका कृतित्वका बारेमा लेखिएका स्तरीय दुई दर्जनभन्दा बढी लेखहरु संगालिएका छन् ।

मुक्तिप्रसाद उपाध्यायको ‘जीवन काँडा कि फूल’, प्रा.डा. गोविन्दराज भट्टराईको ‘झमक घिमिरे’, पूर्ण योञ्जनको ‘डा. झमक घिमिरे’, प्रेमप्रकाश फलाहारीको ‘झमक घिमिरेका घरसम्म’, सी.पी. गिरीको ‘झमक घिमिरे अन्तर्राष्ट्रिय जगत’, हरि ढुङ्गेलको ‘समय बिम्बभित्र देखिएकी झमक’, पूर्ण कुमार शर्माको ‘काँडा र फूलबाट उत्पन्न झमकको सुगन्ध’, उमा घिमिरेको ‘नदेखेको दिदीबहिनी’, टीका ढुङ्गेलको ‘झमक घिमिरेकृत प्रेमिल आकाश’, चक्रपाणि भट्टराईको ‘एक सशक्त साहित्यिक सिपाही’, राज के श्रेष्ठको ‘मलाई मान्छेले होइन शब्दले पो बिकलाङ्ग लाग्न थाल्यो’, रत्न लक्सम सुब्बाको ‘प्रेरणाको स्रोत’, एनपीएस निरौलाको ‘धनकुटामा झमक घिमिरे’, निलीमा आचार्यको ‘जीवन एक अमूल्य उपहार’, रवि पौड्यालको ‘हाम्री चेली झमक घिमिरे’ लगायत प्रद्युम्न श्रेष्ठ, टीका सुवेदी बराल, अर्जुन पीयुष, मीना सुब्बा, कपिलमणि अधिकारी, गायत्री गौतम, टंका ढुङ्गेल, तिला लेकाली, एन.बी. दाहाल नवीन, चम्पा दिवस राई र मुना बरालका गहन लेख, विचारहरु यस कृतिमा प्रकाशित भएका छन् ।

खासमा कृतिमा झमक घिमिरेको व्यक्तिचित्र, जीवनी, कृतित्व, शारीरिक अवस्था, चेतना, क्षमता, पीडा, जीवन संघर्ष, प्रेरणा र उपलब्धि आदिबारे निकै सुन्दर किसिमले लेखिएका छन् । स्रष्टा, साहित्यकार झमक घिमिरेबारे जान्न यो कृति धेरै हदसम्म सहयोगी रहेको छ । पूर्ण योञ्जन, एनपीएस निरौला र हरि ढुङ्गेलले सम्पादन गरेका यस कृतिको प्रकाशक रटन साहित्य अभियान सिक्किम रहेको छ ।

यी छ कृति लगायत कैयन कृति, पत्रपत्रिका र श्रृंखलाहरुको सम्पादन, संयोजन र प्रकाशन सिक्किमका लेखक, साहित्यकार, अभियन्ता तथा स्रष्टा टीका ढुङ्गेल ‘रटन’ले गरिरहेका छन् । ढुङ्गेल सिक्किममा एक सशक्त, क्रियाशील साहित्य अभियन्ता, समीक्षक, समालोचकका रुपमा चिनिन्छन् । र, ढुङ्गेलको योगदान यतिमै सीमित छैन । ढुङ्गेल सिक्किम खासगरी पूर्वोत्तर भारत र नेपालबीच, नेपाली भाषा साहित्य क्षेत्रमा सेतुको रुपमा त्रियाशील रहेका पाइन्छन् । सिक्किम साथै पूर्वोत्तर भारतका कृतिहरु नेपाली पाठकवर्गलाई र नेपालका कृतिहरु भारतका पाठकवर्गसम्म आदानप्रदान गर्न गराउन अनुकरणीय भूमिका खेलिरहेका पाइन्छन् ।

सिक्किमबाट उनै लेखक, साहित्यकार तथा अभियन्ता ढुङ्गेलले यस पंक्तिकारलाई पठाएका यी कृतिहरु पंक्तिकारलाई हात लगाउनु हुने त्रिफला राष्ट्रिय पुस्तकालय धुलाबारी झापाका अध्यक्ष प्रेमप्रकाश फलाहारीलाई धेरै–धेरै धन्यवाद ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here