झापा ।

कचनकवल –४ निवासी विजली दास वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सर्वसम्मत भइन् । उनी सोही वडामा दलित महिला सदस्य पदमा सर्बसम्मत निर्वाचित भएकी हुन् ।
वडामा दलित महिला सदस्य पदका लागि उनको एक मात्र उम्मेदवारी परेसँगै विजली सर्बसम्मत भएकी कचनकवल गाउँपालिका निर्वाचन अधिकृत वीरेन्द्र बस्नेतले बताए । २५ वर्षीया विजलीले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएको र दलित महिला सदस्य पदका लागि उनको मात्रै उम्मेदवारी परेसँगै विजेता घोषणा गरिएको निर्वाचन अधिकृत बस्नेतले जानकारी दिए ।
बाह्रदशी गाउँपालिका–३ निवासी सपना विश्वकर्मा पनि दलित महिला सदस्य पदमा निर्वाचित भइन् । २९ वर्षीया विश्वकर्मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिँदै निर्वाचित भएकी हुन् । वडामा निर्वाचित हुने जनप्रतिनिधिमध्ये पनि उनी सबैभन्दा कम उमेरकी हुन् । उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट उम्मेदवार बनेकी ५९ वर्षीया तारादेवी महरा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएकी ४६ वर्षीया कविता विश्वकर्मालाई भारी मतान्तरले पराजित गरिन् ।
वडामा दलित महिला सदस्य पदमा निर्वाचित भएसँगै सपनाले आफ्नो वडाको विकाससँगै दलित समुदायको उत्थानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने अठोट गरे । उनले आफ्नो वडामा रहेका दलित महिलाहरुको क्षामता विकाससँगै नेतृत्व विकासमा समेत काम गर्ने बताइन् ।
उता बाह्रदशी–१ निवासी गायत्री ऋषिदेव समेत वैशाख ३० गते सम्पन्न निर्वाचनमा आफ्नै वडामा दलित महिला सदस्य पदमा निर्वाचित भइन् । उनी पनि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिँदै वडामा दलित महिला सदस्य पदमा निर्वाचित भइन् ।
यता बाह्रदशी गाउँपालिका–४मा स्वतन्त्र उम्मेदवारी दिँदै सुमित्रादेवी मोची वडाको दलित महिला सदस्य पदमा निर्वाचित भइन् । नेपाली कांग्रेस प्रति आस्था राख्ने उनलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिँदै दलित महिला सदस्य पद सुरक्षित गरिन् ।
बाह्रदशी र कचनकवल गाउँपालिकामा दलित समुदायबाट निर्वाचित उनीहरु प्रतिनिधि मात्रै हो । उनीहरु जस्ता धेरै दलित युवा महिला अनुहार अहिले स्थानीय तहको निर्वाचनमा निर्वाचित भएकी थिइन् ।






























