
नेपालमा यतिबेला स्थानीय तहको निर्वाचनको मतगणना र विजयी हुने जनप्रतिनिधिको घोषणा गर्ने कार्य भइरहेको छ । केही दिनभित्रमा छ महानगरपालिका, ११ उपमहानगरपालिका, दुई सय ७६ नगरपालिका र चार सय ६० गाउँपालिका गरी सम्पूर्ण सात सय ५३ वटा स्थानीय तहको नतिजा प्रकाशन भइसक्नेछ र सपथ ग्रहण पनि हुनेछ । हार्नेहरूको प्रतिपक्षी भूमिका रहने हो भने विजय हासिल गर्नेको आफ्ना पालिकामा कार्यकारी भूमिका रहने स्पष्ट छ ।
विगतको चुनावमा भारी मतले विजय हासिल गर्नेहरू नराम्ररी हारेका छन् भने सोच्दै नसोचेकाहरू ‘एक जुगमा एकदिन एक चोटी आउँछ, उलटपुलट–उथलपुथल हेरफेर ल्याउँछ’ भने झैं साना भनिएका दलका उम्मेदवार जितिरहेका छन् भने कतिपय प्रमुख स्थानमा स्वतन्त्र उम्मेदवारहरू पनि विजयको माला पहिरिरहेका छन् । नेपाल गत सात दशकदेखि नै संक्रमणकालमै अल्झिरहेको छ । यसबीचमा राजनीतिमा अस्थिरता बाहेक सबै हरायो । इमानदारी, नैतिकता, जवाफदेही भन्ने चीज नै रहेन । प्रत्येक परिवर्तनमा आम नागरिकले नेतृत्ववर्गको साथ दिए, तर नेताहरूले प्रत्येक पटक देश हाँक्ने अवसर पाउँदा समेत नागरिकको हितमा काम गर्न सकेनन् । नेताले अवसरको सदुपयोग गर्न नसकेकै कारण विस्तारै नेतृत्वले आम नागरिकको साथ गुमाउँदै गए । सही समयलाई बुझेर सही नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न नसक्नु नेताहरूको कमजोरी हो ।
यही कारणले नेतृत्ववर्ग असफल बन्दै गएको छ । पार्टीमा अर्को नेता नभए झैं वर्षौंदेखि उही अनुहार दोहोरिएका छन् । आफूलाई आफै देवत्वकरण गरेर बसेका छन् । त्यसैले नागरिकले नयाँ अनुहार र स्वतन्त्र मानिसलाई मन पराउन थालेको देखिन्छ । नेतृत्व विकासमा भन्दा शक्ति असन्तुलनको होडबाजीमा उत्रिँदाको परिणाम अहिले झेल्नु परेको छ । हाम्रा नेताहरूले अल्पकालमा हुने व्यक्तिगत वा पार्टीगत फाइदाका लागि जे–जति बोले गरे पनि त्यसको दूरगामी असर के पर्छ भन्ने बारे दूरदर्शी बन्न सकेनन् । आफ्नै अदूरदर्शिताको भारीले थिचिए ।

स्थानीय तहको निर्वाचनबाट जितेका प्रमुख, उप्रमुख, वार्ड अध्यक्ष, वार्ड सदस्यमा चुनिएर आएपछि जनता वा मतदाताको मुख्य जिम्मेवारी पूरा भएको छ भने निर्वाचित जनप्रतिनिधिको काँधमा जिम्मेवारी थपिएको छ । जनप्रतिनिधिहरूले प्रतिबद्धता गरेका कार्यसूची सामुन्ने छन् । विगतमा भएका गलत कार्यको आत्मालोचना गर्दै स्पष्ट भिजनका साथ अघि बढ्न जरुरी छ । लोकतन्त्र, गणतन्त्र स्थापनाका लागि गरिएका हिजोका बलिदान, भूमिगत बसाइ, जनयुद्ध, जनसंघर्षलाई आजको सफलता र भोलिको भविष्य र परिवर्तनसँग जोड्न आवश्यक छ । यसो हुन नसक्दा जनताको नजरमा जनप्रतिनिधिको साख गिर्ने निश्चित हो ।
अर्को महत्वपूर्ण कुरा भनेको प्रतिबद्धतापत्रमा व्यक्त दूरदृष्टि अनुरूपका कार्ययोजनाको कार्यान्वयन हो । कार्यान्वयन बिनाको योजना दिवा स्वप्न सरह हो । ठूला–ठूला सपना बाँडेर मात्र सही जनप्रतिनिधि हुन सकिँदैन । जनताको अभिमत प्राप्त गरी सत्तामा पुग्ने र सत्तामा पुगेपछि एक कदम पनि अघि सरेर दक्षता देखाउन नसक्नु दुःखदायी कुरा हुन्छ । अर्को कुरा, यतिबेला नेपालमा जनतामा नेतृत्वप्रति विश्वास छैन । किनभने नेतृत्वमा इमानदारीको खडेरी छ । आम नागरिकको समस्यालाई आफ्नै समस्या ठानेर अघि बढ्न सकेमा मात्र जनआस्थामा अभिवृद्धि हुन्छ ।
सफल जनप्रतिनिधिले व्यक्तिगतभन्दा संस्थागत फाइदालाई प्राथमिकतामा राख्ने गर्दछ । यस्ता गुण भएका नेता दीर्घकालसम्म सफल हुन्छन् र आफ्नो संगठन र विपक्षीलाई समेत विश्वासमा लिन सक्छन् । सबैको सम्मान गर्ने, अरुको अस्तित्व स्वीकार गर्न सक्ने नेतृत्वले सधैँ जनताको साथ पाउँछ र सहकर्मीको सहयोग पाउँछ । आफ्ना सहकर्मीलाई क्षमता बमोजिमको जिम्मेवारी बाँडफाँड गरेर अघि बढ्नुपर्छ । सामूहिक भावनामा अघि बढ्न नसक्दा नेतृत्व अलग्गिँदै र एक्लिँदै जान्छ । सबैको अपनत्व भएको निर्णयको कार्यान्वयनमा मात्र सबैको ममत्व हुन्छ । राजनीतिमा कुनै पनि लक्ष्य एक्लै हासिल गर्न सक्दैन ।
अर्को महत्वपूर्ण कुरा, नेतृत्वले सकारात्मक ऊर्जाको सञ्चार गर्न सक्नु पर्छ । आवश्यक पर्दा आफूले पद त्यागेर अरुलाई अघि सार्न सक्ने व्यक्ति नै सफल नेता बन्न सक्छ । चुनावमा भएका तीता–मीठा कुरालाई आधार बनाएर व्यक्तिगत इगो राख्नु हुँदैन । आफ्नो मात्र सोच ठिक भन्ने र अरुको विचार ठीक छैन भन्ने युग सकिएको छ । अहिलेको युगमा विनम्रताले सबैको मन जित्न सकिन्छ । चुनाव जितिसकेपछि आफ्नो व्यक्तिगत स्वार्थ, पार्टीगत स्वार्थ र निर्वाचन मात्र हेर्ने हो भने कुनै पनि परिवर्तनको कदम चाल्न साहस जुटाउन सक्दैन । सस्तो लोकप्रियतामा रमाउने व्यक्ति नेता बन्न सक्दैन ।
अर्को गुण भनेको सही समयमा सही निर्णय लिन सक्नु हो । जनप्रतिनिधिले आफूलाई जनता अनुरूप बदल्न खाँचो छ । इमानदारी, क्षमता, सामान्य सुझबुझ, विचार र दूरदृष्टि आदि जस्ता गुणले आफूलाई सुशोभित गर्नुपर्छ । विश्वसनीयता र इमानदारी यस्ता गुण हुन्, जसको प्रभाव समस्त निर्णय क्षमतामा पर्दछ । उत्साही र परिश्रमी नेतृत्वले आत्मविश्वास नगुमाई निरन्तर अघि बढ्न सक्छ । लक्ष्य र कामतर्फ सधैँ उत्प्रेरित भइरहनु नै उसको गुण हो । हस्तक्षेप, आन्तरिक द्वन्द्व, अर्थतन्त्रको सुस्तता सबैको सामना गर्दै आफ्नो टिमलाई साथ लिएर अघि बढ्न आवश्यक छ । राजनीतिको लत लागेका तर लेस पनि मानवता नभएका व्यक्ति असल जनप्रतिनिधि हुन सक्दैनन् । पद, प्रतिष्ठा र स्वार्थकेन्द्रित राजनीति भ्रष्ट हुन्छ ।
क्षमतावान् नेताको अर्को विशेषता सम्भाव्य नेतृत्वमा क्षमता अभिवृद्धि गर्न र भविष्यमा पनि राजनीतिलाई तुलनात्मक रूपमा सु–संस्कृत राख्न दूरदृष्टिका साथ काम गर्नु हो । आत्मविश्वास, समूहमा काम गर्ने सीप, पूर्वाग्रहविहीनता, अध्ययन र लेखनको बानी, धैर्य, दृढता, लगनशीलता, निर्णय लिने क्षमता, साहस, समानुभूतिको भाव, सकारात्मक सोच, क्षमाशील स्वभाव, आत्मसमीक्षा गर्ने आँट, सधैँ सिकिरहने चाहना, सकारत्मक चिन्तन आदि सबै गुणले आफूलाई सुसज्जित गर्न जनप्रतिनिधि हरदम प्रयत्नरत रहनुपर्छ । राम्रो नेता बन्न प्रभावकारी सञ्चार सीप पनि आवश्यक छ । भाषण राम्रो गर्न जान्दैमा असल नेता भइँदैन । अरुको कुरा सुन्ने धैर्य नेतामा चाहिन्छ । यसले अरुलाई बुझ्न मद्दत गर्छ ।
यो चुनावमा धेरैले हारे, धेरैले जिते । जितेकाको दम्भ बढ्नु र फुर्तिले भ्यागुता फुले झैं फुल्नु गलत हो । जित्दा दीर्घजीवी हुँदैन कोही । हारेर इतिहासमा ज्युदै बाँचेको पनि भेटियो । जितेर हराएका पनि उत्तिकै छन् । दलीय राजनीतिमा उछिन्–पाछिन् तानातान स्वार्थका खेल चल्छ, तर झैं–झगडा र वैमनश्यले देशको छानो चुहिएको छ र अब जनताको हित हेरेर भोगेर जनताको बीचमा बाँच्ने जनप्रतिनिधि समयको माग हो । अन्यत्र देशमा देश र जनता माथि र अन्य कुरा सहायक हुन्छन् । वास्तवमा जनताको हित गर्ने क्रममा चुहिएको लाभ मात्र लिने जनप्रतिनधि चाहिएका हुन् । निर्वाचित जनप्रतिनिधिले ठण्डा दिमागले सोच्न जरुरी छ । पुराना दल र नेताप्रति जनताको आक्रोश बिसाउने थलो भएको छ यो चुनाव । काठमाडौं, धरान, धनगढी आदि ठाउँका मत परिणामलाई हेर्दा आश्चर्यजनक लाग्छ । पहिलो कुरा त जनप्रतिनिधिहरू छान्ने भनेकै काम गर्नका लागि हो । आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारी जे हो, त्यो नै पहिलो प्राथमिकता हो जनप्रतिनिधिको । हामीले जितेर आएमा हाम्रो सङ्कल्प नै जनताका लागि पाँच वर्ष भन्ने हो ।
यो पाँच वर्षमा हामीले प्रष्टता र दृढताका साथ गरिएका बाचा पूरा गर्ने जनप्रतिनिधिले आफ्नो कर्तव्य ठान्नुपर्छ । आफूले जितेका ठाउँका विगतका समस्या, आवश्यकता, वर्तमानका अप्ठ्यारा र गर्नैपर्ने कामहरू जनप्रतिनिधिले राम्ररी थाह पाउनुपर्छ । गाउँटोलका सरसफाइका र बाटो, ढल निर्माणका काम पनि सजिलै र समयमा हुन सकेका छैनन्, स्थानीयका वडाबाट हुनुपर्ने कामहरू पनि सजिलैसँग नभइरहेका गुनासा आइरहेका छन्, टोल, बजार व्यवस्थापनका कुरा पनि उठिरहेका छन् । यी सबै कामलाई प्रभावकारी र दिगो ढंगले समाधान गर्ने सङ्कल्पसहित नयाँ नेतृव अघि बढ्न आवश्यक छ । एकल निर्णय होइन सबैसँग सहकार्य गरी गाउँ वा नगरबासीका भाबनालाई बुझी सामुहिक निर्णय गरि अगाडि बढेको अवस्थामा सबै कुरा ठीक हुँदै जान्छ ।


























