अर्जुनधारा ।

२३औं विश्व कछुवा दिवसको सन्दर्भमा उभयचर एवम् सरीसृप विज्ञ प्राध्यापक डाक्टर कालुराम खम्बूको अनुसन्धानात्मक कृति “मेरो अनुसन्धान यात्रा” अंग्रेजी संस्करण (खम्बूज वे क्रसरोड्स इन न्यू ल्याण्डस्) को सोमबार एक समारोहकोबिच लोकार्पण गरिएको छ ।
अर्जुनधारा–९स्थित सुखानी शहीद स्मृति प्रतिष्ठान नेपाल अन्र्तगत रहेको सुखानी शहीद स्मृति उद्यानको सभाहलमा आयोजित समारोहमा समारोहका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादव कोइराला र प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरेले संयुक्तरुपमा उक्त कृतिको लोकार्पण गरेका थिए ।
प्राडा खम्बूले सन् २००० देखि २००३ सम्म देशको पूर्वदेखि पश्चिम भागका विभिन्न क्षेत्रहरुमा रहेका उभयचर र सरीसृपहरुको अवस्थाको अध्ययन अनुसन्धान, पीएचडी गर्ने क्रममा जर्मनी हुँदै बेलायतसम्मको यात्रा संस्मरण आदि उक्त कृतिमा समावेश गरिएको आर्को नेपालका प्रतिनिधि एवम् उद्यानमा रहेको कछुवा उद्धार तथा संरक्षण केन्द्रका मुख्य संरक्षणकर्ता तपिलप्रकाश राईले जानकारी दिए ।

५६० पृष्ठ रहेको उक्त कृतिमा चार वटा भागअन्र्तगत २८ वटा लेख उल्लेख गरिएका छन् । उभयचर तथा सरीसृप संरक्षण केन्द्र नेपाल र सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालको संयुक्त प्रयासमा उक्त कृति प्रकाशन गरिएको प्रतिष्ठानका अध्यक्ष घिमिरेले जानकारी दिए ।
सोही समारोहमा साहित्यकार पून्यप्रसाद खरेल, मेची बहुमुखि क्याम्पसका सहायक प्रमुख कृष्णप्रसाद भट्टराई, वातावरण विज्ञान विभाग प्रमुख दिवस दाहाल र कञ्चनजंघा अङग्रेजी विद्यालयका प्रधानाध्यापक गुरुभक्त न्यौपानेले लोकार्पण गरिएको कृति बारे चर्चा गरेका थिए ।
सुखानी शहीद स्मृति उद्यान व्यवस्थापन समितिका अध्यक्ष टंकनाथ बरालको अध्यक्षतामा आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय प्राणी विज्ञान विभाग, त्रिभुवन विश्वविद्यालय केन्द्रीय पर्यावरण विभाग, मेची बहुमुखी क्याम्पस वातावरण विज्ञान विभाग, काठमाण्डौं फरेस्ट्री कलेज, प्रगति अङग्रेजी माध्यमिक विद्यालयलगायत विभिन्न स्वयंसेवकहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो ।
आर्को नेपालका प्रतिनिधि राईले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा प्रदेश नं.१का सांसद् अर्जुन राई, अर्जुनधारा नगरपालिकाकी नवनिर्वाचित् उपप्रमुख खड्गमाया पराजुली, अर्जुनधारा–१० र अर्जुनधारा–११ वडा समितिका नवनिर्वाचित वडाध्यक्षद्वय भूपेन्द्र न्यौपाने र खगेन्द्र इङनामलगायतको आतिथ्यता रहेको थियो ।
कृतिका लेखक राईले धन्यवाद ज्ञापन व्यक्त गरेको उक्त कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव हर्कराज राईले गरेका थिए ।



























